मुलुकमा कोरोना चरम बिन्दुमा पुगिसकेको थियो। मानिसहरू भयभित देखिन्थे। मनोविज्ञान र मस्तिष्क रसायन उथलपुथल देखिन्थ्यो। कोरोनासम्बन्धि शंका-उपशंका भाइरसभन्दा छिटो फैलिरहेका थिए। कतिपय भ्रामक भए पनि कति वास्तविक पनि थिए। डिजिटल संसार न हो, भ्रम छिटै नै फैलिरहेको हुन्छ। भारतले दिन-दिनै हजारौं मानिस गुमाइरहेको थियो। नेपालमा पनि सयौं मानिसको मृत्यु भइसकेको थियो। सबै पक्षले वैकल्पिक विधि खोजिरहेका थिए।
यता शिक्षाको साथी 'जुम' बनेको थियो। स्वास्थ्यकर्मीमा दबाब बढेको थियो। मानव जीवनशैली, खानपिन, मानसिक स्वास्थ्यमा धेरै नै परिवर्तन देखिन थालेको थियो। धेरैको रोजगार जोखिममा थियो। व्यापार व्यवसायले पनि बिट मारेको थियो। राजपनिति पनि सत्ता र कुर्सी केन्द्रित देखिन्थ्यो। तर मानव सदभाव, माया, करुणा र जीवनप्रतिको दृष्टिकोण पनि अलि फरक देखिन्थ्यो।
'के छ र मरिलानु? जीवनमा किन म-म र त-त भनेर दुश्मपनि गर्नु? पैसाको पछि लागेर स्वास्थ्य किन जोखिममा राख्नु?' यस्ता प्रश्न मानिसका मुखबाट पटक-पटक सुनिन्थे। कता-कता विकृतिको खेती पनि फापेकै थियो। महासंकटको बेलामा बलात्कार, कालोबजारी, हत्या, हिंसा, लुट, ठगी, जातीय भेदभावको प्रतिस्पर्धात्मक घटना पनि कमी थिएनन्।
लककडाउनले समग्र देशमा सन्नाटा छाइरहेको थियो। सडक एक्लो थियाे। यातायातका साधनले विश्राम गरिरहेका देखिन्थे। विद्यालयको भौतिक संरचना त थियो तर विद्यार्थी थिएनन्। खेलकुद मैदानहरु खेलाडीको पर्खाइमा थिए। प्रर्दशन गृहले कलाकार कुरिरहेको थियो अनि बजारले ग्राहक।
हरेक व्यक्ति आफ्नो दुनियाँ कोठाभित्र उकुसमुकुस देखिन्थे। प्रकृति मानिसको या मानिस प्रकृतिको ? आफै सोच्नुहोस्। मान्छेका साथी मोबाइल, ल्यापटप, कम्प्युटर बन्न पुगेका थिए। इन्टरनेट अभिन्न अंग भएको थियो। फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मान्छे निकै ब्यस्त देखिन्थे। कहिलेकाहीँ मानिसहरु समाचार सुनेर त्रसित पनि हुने गर्थे।
आज दुई सय पचासको मृत्यु भयो रे। ओहो ! दस हजार संक्रमित भए। 'आम्ममा! बाचिन्न क्या हो!' भन्नेहरूकाे पनि कमी थिएन। तर आफूलाई व्यस्त नै राखिरहेका हुन्थे। आफू बाँच्न र संक्रमित हुनबाट बच्न भरपूर जोड दिन्थे मान्छे।
भौतिक समय बित्दै थियो। मेरो पनि दैनकी यसरी नै बितिरहेको थियो। सामान्यतया मोबाइल, किताब अनि सुतेर नै दिन बित्थ्यो। संक्रमित हुन्छ कि भने डर पनि हुन्थ्यो मनमा। किन नहोस् पनि? मानिसको मनोविज्ञान न हो। अरूलाई भइ-परेको आफूलाई पनि हुन्छ कि भन्ने डर।
म बस्ने घर वरिपरीको माहाेल भयभित भइसकेको थियो। मेरै घरमा बस्ने इन्जिनियर दाईको हिजो मात्र निधन भयो। रिपोर्टले कोरोना नै देखाएको रहेछ। अब त झन् डरलाग्दो अवस्था सृजना भइसकेको थियो। नदुखेको टाउको पनि दुखेको महसुस हुन्थ्यो। भर्याको रेलिङ, धाराको टुटी, ढोकाको ह्याण्डिल, समात्दा पनि भय उत्पन्न हुन्थ्यो। मैले पनि बिरामी महसुस गरिरहेको थिए। सायद डरले पनि यस्तो हुन सक्थ्यो। विश्व स्वास्थ्य संगठनको काेभिड लक्षण इन्टरनेटमा हेर्थे बारम्बार। तर त्यस्तो जटिल हुँदैनथ्याे।
तर पनि खै किन? ताल, खोला, स्वर्ग, नर्क, बगेर, मसानघाटका दृश्यहरु देख्नथलेको थिए म। छटपटी भइरहन्थ्यो। एक दिन राति सुतेको म भोली बिहान त........।
सुनेको थिए प्राणपछि स्वार्गलोक या नार्क जान्छ मानिस। म भने स्वर्गलोकको यात्रामा अगाडि बढिरहेको थिए। लामो संघर्षशिल यात्रापछि म स्वर्ग पुगे। ठूलो फलामे ढोका आफै खुल्यो। म भित्र पसे। पृथ्वीभन्दा पनि विशाल स्वर्गलोक। स्वर्गमा भगवान हुन्छ भन्ने सुनेको त थिए, तर देखिनँ। हुन त विशाल स्वर्गलोकमा कतै न कतै त होलान् पनि, भगवान पनि। त्यता खास्सै चासो गएन मेरो। बस्ती भयानक बाक्लो थियो। विभाजित पनि थियो। पृथ्वीका विभिन्न देश जस्तै। विभिन्न राष्ट्रका धेरै व्यक्तिको विशेष क्षेत्रमा सामूहिक बसाई थियो। व्यवस्थित थियो।
म नेपालबाट गएको थिए। मलाई नेपालीहरुसँग भेट्नलाई आतुर भइसकेको थियो। म भौतारिँदै संयुक्त राज्य अमेरिकामा पुगे छु। अङ्ग्रेजी त खास्सै आउँदैन थियो मलाई। तर पनि एउटा भलाद्मी देखिने गोरे व्यक्तिलाई सोधे हाले, 'के तपाईंलाई नेपालबारे थाहा छ ?'
प्रश्न सुन्नसाथ त्यो गोरे विदेशीको अनुहारले रंग फेर्याे र अलि चकित मुद्रामा सोध्यो,'तपाई नेपाली हाे?'
मैले भने, 'हाे, तपाईलाई थाहा छ नेपाल कहाँ पर्छ ? '
'म तपाईंलाई नेपालमा पठाइदिन्छु', उसले भन्यो। मलाई पनि खुशी लग्यो।
हवाईजहाजबाट नेपालतर्फ प्रस्थान गरायो। तर म आशर्य चकित थिए। याे पृथ्वीको सबैभन्दा शक्तिशाली राष्ट्रको गोरेले स्वर्गलोकमा कत्रो सम्मान गरेको? मलाई खास लाग्यो। नेपालको पहिचान र गौरव भयानक नै रैछ क्या हो स्वर्गलोकमा ! म यस्तै मनोवादसँगै प्लेनको सिसाबाट बहिरको दृश्य हेरिरहेको थिए। मरुभूमि, फाँट, सहर, हिमाल, समुन्द्र क्या सुन्दर? क्या गज्जब ?
करिब आठ घण्टापछि म नेपालमा पुगेको थिए। क्या सुन्दर हिमाल? हिउँले सेताम्य। आँखाले हेरेर नभ्याइने तराईको फाँट। डाँडा, पाखा र छहराले मनमोहक पहाड। समग्र नेपालको सुगन्ध नेपालभूमिमा टेक्नुभन्दा पहिले आभास भइसकेको थियो।
हवाईजहाजले जमीनको स्पर्शसँगै चाल घटायाे। अनि टक्क आडियो। मैले स्वर्गलाेकको त्रिभुवन विमानस्थलमा पाइला टेके।आफ्ना आँखालाई तीन सय साठी डिग्री कोणमा घुमाएँ। कहिल्यै पनि कल्पना नगरेको नेपाल देखेको थिए। स्वर्गलाेकमा अवस्थित नेपालको राजनीतिक, सामाजिक, आर्थिक र पूर्वाधारका पक्षहरूको बारेमा जान्न धेरै नै उत्सुक भइसकेको थिए, म।
सानो नेपालको झण्डा राखेको मेरो झोला भिरेर हिँड्न लगेको थिए। सामान र यात्रु ओसार-पोसार गर्ने सानो ह्वीलर सरर आएर मेरो अगाडि टक्क अडियो। जुन मैले पहिला देखेकै थिइन। त्रिभुवन विमानस्थलबाट बाहिर निस्के। त्याे ह्वील एकदम फरक अपत्यारिलो दृश्यहरु देखिरहेको थिए। कस्ता गगनचुम्बी महल? कति व्यस्त र व्यवस्थित सहर? कति सुखी र सम्पन नेपाली? कति सोच्छ र सफा वातावरण? पृथ्वीलोकमा भताभुङ्ग नेपालको याद आयो। कस्तो अचम्म? कसरी यस्तो नेपाल? यसको बारेमा बुझ्न म आतुर थिए।
बाहिर राखिएको निःशुल्क सार्वजनिक टेलिफोनबाट मैले मेरो साथी-भाईलाई फोन गरे। जसको पृथ्वी लोकको नेपालमा बलात्कार पश्चात हत्या गरिएको थियो। उनी पनि मलाई लिन एयरपोर्टमै आइन्। फोन गरेको सात मिनेटमै आइपुगेकी थिइन्।
उनलाई सोधेको, मेगलाब रेलमा आएको बताइन्। तीन सय पचास माइल प्रति घण्टा कुद्ने रेल थियो, त्यो। म पनि सात मिनेटमै कृतिपुर पुगे, त्यही रेल मार्फत्। त्यो सात मिनेटको यात्रामा मैले पूरै पृथ्वीको नेपाललाई सम्झे। त्यसको सम्पूर्ण संरचनालाई सम्झें। भताभुङ्ग राजनीति सम्झे। बाटो-घाटो, सहर-बजार सबै पूर्वाधार सम्झें। अनि 'समृद्ध नेपाल खुशी नेपाली' वाक्यांश याद आयो। अनि आफैलाई 'छि-छि' भन्न मन लाग्याे।
ती नै नेपाली त हुन् याे स्वर्गलाेकको नेपालमा, जो पृथ्वी लोकमा पनि थिए। कसरी यस्तो? कति विकसित, सुसम्पन्न र शक्तिशाली नेपाल? कति स्वतन्त्र? न कुनै जातीय भेदभाव, न कुनै वर्गीय भेदभाद, न कुनै बलात्कार, शोषण, भ्रष्टाचार। कुनै पनि अपराध र हिंसा भन्ने नै छैन। मलाई विशेष बुझ्नु थियो।
मलाई इभाले आफ्नो घरमा लिएर जाँदैछिन्। तीन चार मिनेट भित्र जानु पर्ने रहेछ, रेलको लिगबाट उनको घर पुग्न। मैले हिँडेरै जान आग्रह गरे। एउटा प्रश्न गर्ने विचार साेच बनाएकाले।
आभा, तिम्रो भेट निर्मला पन्त अनि सम्झना विकसँग भएको छ?
अनुहारलाई खुम्च्याउँदै मलिन स्वरमा भनिन्, 'मैले अस्ति भर्खर भेटेको थिए। मलाई दिदि भनेर सम्बोधन गरेकी थिइन्। मेरो र उनको पीडा एउटै रहेछ। बलात्कार पश्चात हत्या। उनीहरुको एउटै गुनासो थियो। हामीहरुले न्याय पाएका छैनौं। पृथ्वीलोकमा न्यायको भिक मागिरहेका छन्, हाम्रा आमाबुबा।'
मैले सम्झाउँदै भनेकी थिए, 'हेर बहिनी, तिमी यहाँ स्वतन्त्र छौ। जहाँ, जसरी, जतिबेला पनि पंछीझैं खुल्ला रमाउन सक्छौं। स्वतन्त्र नारी, छाेरी, बालिका भएर बाँच्न सक्छौं। यहाँको समयले तिमीलाई राती भयाे, छिटो घर जा भन्दैन। बलात्कारको नाम सुन्दा पनि मान्छे डराउँछन् यहाँ। बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था छ स्वर्गलाेकको नेपालमा।'
आहा ! मलाई खुसी लाग्यो। राजनीतिक व्यवस्थाप्रति सम्मान जागेर आयो। अनि फेरि झल्यास्सा पृथ्वीलोककाे नेपालको दृश्य याद आयो। त्यहाँका छाेरी, चेली र नारीको याद आयो। झन् कर्णालीका आमाहरुको दुःखको याद आयो। फेरि निरास बन्न पुगे।
हामी उनको घरमा पुगिसकेका थियौं। हामी पुग्नसाथ घरको ढोका आफै खुल्यो, सेन्सर जडान भएर रहेछ। हामी भित्र पस्याैं। ठूलो स्क्रीनमा आफ्नो चोरी औंलाको टुप्पो टक-टक-टक चलाइन्। लिफ्ट खुल्यो। लिफ्टमार्फत् हामी तेस्राे तल्लाको दायाँतिर उनको कोठामा पुग्याैं। यता ठूलो स्क्रीनमा हजुरबुबा मदन भण्डारीको भाषण सुन्दै हुनुहुन्थ्यो।
म भित्र पसें, उहाँ मुसुक्क मुस्कुराउनु भो। मैले नमस्कार गरे। उहाँको पहिलो प्रश्न थियो, 'तिमी त भर्खरै नेपालबाट आएकाे, के छ नेपालको खबर? उज्जल थापा पनि आउनुभाको छ भन्ने सुनेको थिए। म बुढो मान्छे हिँड्न सक्दैन। भेट गर्न नै गाह्राे। ल भन त बाबु, के छ हाम्रो नेपालको खबर। यहाँ आएको पनि तीस पैंतीस वर्ष भइसक्यो।'
स्वर्गलाेकको नेपाल कसरी यस्तो शक्तिशाली, विकसित र व्यवस्थित? याे प्रश्न गर्न नपाउँदै उहाँको प्रश्न तेर्सिएको थियो। उत्तर दिनु पर्ने भो अब। मैले आफूलाई जानकारी भएजति बेली-बिस्तार गर्न थाले। 'विगतको नेपाल म भन्दा पनि हजुरलाई धेरै थाहा होला। वर्तमानको नेपाल बाँदरको हातमा नरिवल बनेको छ। मुलुक कायापलट गर्ने राजनीति नै भताभुङ्ग छ। सत्ताकाे लागि आफू-आफू कुकुर जस्तै तछार-मछार गर्दैछन्।'
इभाले त्यति नै खेर कफी ल्याएर तीन सय साठी डिग्री घुम्ने टेबुलमा राखिन्। मैले हतार नगरेर कफीको चुस्कीसँगै सोधिहाले,'याे स्वर्गलोकको नेपाल किन सुन्दर र शक्तिशाली? हजुरबुबा, अनि मलाई नेपाल आउँदा गोरेले दिएको सम्मान पनि अकल्पनीय थियो? किन यस्तो विशेष नेपाल?'
उहाँले मैले कल्पना गर्न नसकेको राज्य व्यवस्था र सञ्चालनको व्याख्या गर्नु भयो। 'हरेक मुलुकको चौतर्फी विकासमा राजनीतिक नेतृत्वको अहम भूमिका हुन्छ। यहाँ हरेक विधाका विशिष्ट व्यक्तिले नेतृत्व बहन गरेका छ्न्। स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य क्षेत्रका जनस्वास्थ्य विज्ञहरु छन्। विज्ञान प्रविधि मन्त्रालयमा वैज्ञानिकहरु छन्। सामाजिक विकास मन्त्रालयमा समाजशास्त्रीहरु छन्। अर्थमन्त्रालयमा अर्थशास्त्रमा विद्यावारिधि गरेका नेतृत्वहरु छन्। यस्तै हरेक विभागमा सम्बन्धित विषयका विशिष्ट व्यक्ति मात्र छन्। पृथ्वीलाेकको नेपालबाट आएका नेताहरुको त खासै स्थान हुँदैन। सबै पक्ष एकदम शक्तिशाली र विशिष्ट छ। हाम्रो नेपाल त स्वर्गलाेक कै नमूना छ।'
म एकाग्रता साथ हजुरबुबालाई सुनिरहेको थिए। आभाले पनि कान खोलेर सुनिरहेकी थिइन्।
यतिकै मेरो मोबाइलमा घण्टी बज्यो। म झसङ्ग भए। जुरक्क उठें। मोबाइल हेरें। बिहानको चार बजेको थियो। शरीर पुरै पसिनाले भिजेको थियो। कस्तो अप्रत्यासित सपना! स्वर्गलाेकमा पो पुगिएछ। उठेर बत्ती बालें। टेबुलमाथिको एक गिलास पानी घुटुक्कै पिएं। साेचमग्न भएं। अनि तुलना गरें स्वर्ग र पृथ्वीलाेककाे।