विगत दुई वर्षदेखि हेटौंडा बस्दै आएकी सिन्धुपाल्चोकको पार्वती क्षत्री (नाम परिवर्तन) जन्मँदा घरको कान्छो छोरा बनेर जन्मिएकी थिइन्।
उनले परिवारमा सधै एक असल छोरीले गर्ने माया र जिम्मेवारी निर्वाह गरिन्। शारीरिक बनावटले पुरुष भए पनि उनको हाउभाउ, बोली व्यवहार र इच्छा भने महिलासँग मिल्थ्यो।
जसले गर्दा लैंगिकता र यौनिकता बुझ्नुअघि नै पार्वतीलाई समाजले छोरा भएर पनि छोरीजस्तो व्यवहार गर्ने गरेको भन्दै दुर्व्यवहार गर्ने गर्थे।
विद्यालयमा साथीहरूले गर्ने फरक व्यवहार र गाली गर्ने शब्दले कक्षा ५ मै पढाइ छोडेकी उनले १७ वर्षको उमेरमा काठमाडाैंमा पाइला टेकिन्। जतिबेला पार्वती भर्खर बुझ्दै थिइन् कि उनी केटा भए पनि आफूलाई केटी बन्न मनपर्छ भनेर।
हेर्दा केटाजस्तो आनीबानी र व्यवहार केटीजस्तो भएपछि उनलाई काठमाडाैंमा जागिर भेटाउन कहाँ सजिलो भयो र? अनेकौं प्रयास गरेर पार्वतीले एउटा होटलमा काम भेट्टाइन्। घरपरिवार र समाजबाट आफ्नो लैंगिकता लुकाएर भागेकी उनी काठमाडाैंमा पुरुष प्रहरीबाट बलात्कृत भइन्।
आफू पुरुष भए पनि महिलाजस्तो महसुस गर्छु भन्ने थाहा भएकी उनलाई पुरुष पुरुषबाटै बलात्कृत हुन्छन् भन्ने पहिलोपटक थाहा भयो। त्यसपछि उनलाई ती पुरुष प्रहरीले लगातार जबरजस्तीकरणी गरिरहे। जसले गर्दा पार्वतीले अहिले आफ्नो जीवन जिउने पेसा नै यौनलाई बनाएकी छन्।
दोहोरो जीवन जिउन कति गाह्रो हुन्छ सायद उनलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा होला र? २५ वर्षीया पार्वती वर्षमा २/४ पटक घर जान्छिन् पुरुष बनेर। अनि हेटौंडामा यौन पेसा गरेर बस्छिन् एउटा महिला बनेर।