मुकेश पोखरेल
धनुषाको मिथिला विहारी नगरपालिका–९, ठेराका शंकरनारायण झा चार बिघा खेतका जग्गाधनी हुन्। तर, उनी बाकसमा थन्क्याइएका जग्गाधनी पुर्जा हेरेर मन बुझाउँछन्। २०६० सालमा जलाद खोलामा आएको बाढीले एकैरातमा उनको चार बिघा खेत बगर बनायो। त्यसपछि उनले त्यो खेतबाट एक गेडा अन्न पनि भित्र्याउन पाएका छैनन्। “अघिल्लो दिनसम्म ठीक थियो, अर्को दिन उठेर खेतमा जाँदा खोला बगिरहेको रहेछ,” शंकर झा भन्छन्, “यतातिर वर्षात्काे समयमा कतिखेर कसको घरखेत बगाउँछ, थाहै हुँदैन।”
मिथिला विहारी–९ कटरैतका सञ्जित यादवलाई पनि जलाद खोलाले नै उठिबास गराएको हो। उनको प्रतिकठ्ठा रू.२ लाख ४० हजारका दरले किनेको दुई कठ्ठासहित पाँच कठ्ठा जग्गा र घर खोलाले बगायो। उनी अहिले १८ वर्ष कतारमा कमाएको पैसाले अलि सुरक्षित ठाउँमा जग्गा किनेर घर बनाइरहेका छन्। “भएको घरखेत खोलाले बगायो,” यादव भन्छन्, “अहिले फेरि घर बनाउँदै छु। विदेशमा कमाएर नल्याएको भए त हामी सडकमा पुग्ने रहेछौं।”
मिथिला विहारी नगरपालिकाकै अन्दुरपट्टीस्थित जनकल्याण चुरे संरक्षण उपभोक्ता समूहका अनुसार, नगरपालिकाका वडा नम्बर ४, ५ र ९ का १५० भन्दा बढी परिवारको १०० बिघा खेत र घर जलाद खोलाले बगाएको छ। पहिलेको घरखेत खोलाले बगाएपछि उनीहरू थोरै जग्गा किनेर घर बनाएर बसेका छन्।
सोही नगरपालिकाको कटरैतका विन्देश्वर यादवको १५ कठ्ठा जग्गा थियो। २०४० सालको बाढीले नौ कठ्ठा र २०६० सालको बाढीले बाँकी ६ कठ्ठा बगाएपछि उनी पनि विस्थापित भए। अहिले डेढ कठ्ठा जग्गा किनेर घर बनाएका छन्। “पहिला जग्गा भएको ठाउँमा अहिले खोला हिँड्छ। त्यही हेरेर चित्त बुझाउँछु,” उनी भन्छन्। २०६० सालमै जलाद खोलाको बाढीबाट सात कठ्ठा जग्गा गुमाएका जुगेश्वर यादवले पनि कटरैतमा एक कठ्ठा जग्गा किनेर घर बनाएका छन्।