शुक्रवार दिउँसो मेलम्ची नगरपालिका–११ बसपार्कनजिकै रहेको निलो घर हेर्दै कहिले यता, कहिले उता गर्दै थिए, सोनामबहादुर तामाङ ।
कुनै बेला खिस्स हाँस्दै साथीभाइसँग कुराकानी गरेर मन बुझाइ रहेका थिए, त कहिले मलिन अनुहार लिएर घरनजिकै पुग्थे ।
तल हेर्दा उही धमिलो बाढी आफ्नै रफ्तारमा बगिरहेको थियो । के गर्ने, के नगर्ने उनले केही सोच्नै नसकेको भान हुन्थ्यो । अर्धबेहोशी जस्तै थिए ।
बाँच्नलाई खानाको भाग त बस्थे तर घाँटीबाट तल जाँदैनथ्यो । जाओस् पनि कसरी, जिन्दगी भरको कमाई एक लप्को बाढीले उडाइदिएको थियो ।
‘बिहान खान बसेँ बाँच्न त पर्यो भनेर, तर घाँटीबाट तल गए पो ! सम्झिएर झस्काउँछ सर,’ सोनामले भने, ‘बिहान पानी नभएर १० वटा मिनलर वाटर किनेर साथीको ग्यास मागेर भएका थियौं ।’
बाढी आएको ३ दिनसम्म त खल्तीमा भएको पैसाले खाना खाए तर अब कसरी खाने उनीसँग कुनै उपाए छैन् ।
‘बिहानसम्म त ५ सय थियो, अब त यी खल्ती रित्तै छ,’ गोजी देखाउँदै उनले भने, ‘माथितिर राहत आएको छरे कता हो कुन्नि, हामीलाई देख्दैनन् ।’