ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई कोरोनाको खोप लगाइयो

बिएल संवाददाता

ब्रसिलिया 
File photo
File photo

ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ। समाचारअनुसार यहाँ शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो।  

यहाँ केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ। तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ।

ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन्। ब्राजिलले यही वर्षको जनवरीदेखि यहाँका नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेका हुन्। 

ब्राजिलमा कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित गर्ने देशहरुको सुचीमा दोस्रो स्थानमा  पर्दछ । यहाँ अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ।

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणका कारण चार लाख ९५ हजार भन्दा बढी नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ। 

कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ। यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ। साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ।  

त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-19 18:22:00

प्रतिकृया दिनुहोस्