जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किए, ८० घर जाेखिममा  

तस्बिर सौजन्य: धर्मेन्द्र अधिकारी
तस्बिर सौजन्य: धर्मेन्द्र अधिकारी

हिमा गाउँपालिका वडा नम्बर -६ र ७ मा आइतबारदेखि परकाे अविरल वर्षाका कारण १० वटा घर भत्किएका छन् भने ८० घर पहिराेकाे जाेखिममा परेका छन्।

वर्षाका कारण खल्ढुङ्गा स्थित रत्नराज अधिकारी, भक्त अधिकारी, मुनराज अधिकारी, पुन्न अधिकारी, सिहं अधिकारी, नय अधिकारी, दलिवाडा स्थित रति दमाई, गज दमाई र डाँडाबाडा स्थित सुर्ज शाही, परेक शाहीका घर भत्किएको स्थानीय धर्मेन्द्र अधिकारीले जानकारी दिए।

त्यस्तै वडा नं. -६  स्थित जनता शिव प्रथामिक विद्यालयको फिल्ड र भवनलाई पहिरोले पूर्ण रुपले क्षति पुर्‍याएको छ। भने ७ नम्बर वडाकाे खल्ढुङ्गा वालविकास केन्द्रको भवन, शौचालय र खेल मैदान पूर्ण रुपले क्षति भएको छ।

'बस्ती भिरालो ठाउँमा भएकोले गाउँभन्दा तलबाट पहिरो र माथिबाट ढुंगा तथा पहिरोले अझै जनधनको ठुलो क्षति हुन सक्छ,' स्थानीयबासी अधिकारीले भने, 'निरन्तरकाे मुसलधारे पानीले गर्दा गाउँकाे ८० घरका बासिन्दा बाढी पहिरोको त्रासले घर छोडेर पाल मुनि ओत लागेर बसिरहेका छन्।'

हालसम्म स्थानीय सरकार र संघसंस्थाबाट जोखिम अवस्थाको बारेमा जानबुझ नगरिएको स्थानीय बासिको गुनासो छ।

२०७७ सालमै कर्णाली प्रदेश सरकारले उक्त गाउँलाई जाेखिम युक्त गाउँ भनी घोषणा गरिसकेको र बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भने पनि कार्यान्वयन प्रक्रिया अगाडि नबड्दा समस्या आएकाे उनले थपे।

प्रकाशित मिति: : 2021-06-18 17:51:00

प्रतिकृया दिनुहोस्