अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, दुवै देशमा राजदूत पठाउन सहमति 

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : AP
Photo : AP

विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो।

दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उनीहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ। 

वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भए पनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो।

बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिएका थिए।

उनीहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गरेका छन्। यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए।

त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको बताइएकाे छ।

झण्डै साढे २ बर्षदेखि जेलमा राखिएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा पनि उनीहरूबीचमा पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन्।

त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन।

उनीहरूले कतिपय विषयमा आ–आफ्ना अडानहरू अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ। 

प्रकाशित मिति: : 2021-06-18 05:48:00

प्रतिकृया दिनुहोस्