नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ।
नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो। सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो।
नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताएका छन्।
उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो। सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो।
सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए। रायले भने, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ।” यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उनले जानकारी दिए।
सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ।
सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो। नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ। यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ।
सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा फसेका दुई युवाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
मेलम्चीस्थित रोज होटलको छतमा फसेका उनीहरूलाई बुधबार नेपाली सेनाकाे हेलिकप्टरमार्फत् उद्धार गरिएकाे हाे। बाढीका कारण बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएर आफूहरूलाई उद्धार गर्न आग्रह गरेका थिए।
वर्षासँगै आएको बाढीले मेलम्ची बजार डुबानमा परेकाे छ। पूरा समाचार
तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव ह्वात्तै बढेकाे छ।
लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
अहिले कोशी ब्यारेजका १४ ढोका खुला गरिएको छ। पूरा समाचार
मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने सात जनाको मृत्यु भएको छ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्।
मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्। पूरा समाचार