चुरे नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड हो। यो पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ। पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेले हाम्रो कुल भूभागको १२.७८ प्रतिशत क्षेत्र ओगटेको छ।
कान्छो पहाड भएकाले यसमा पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टानको संरचना छ। त्यसकारण यो बढी संवेदनशील र कच्चा छ।
यस्तो कमजोर बनोट भएको ठाउँबाट ढुङ्गा, गिट्टी निकाल्दा त्यसले पुर्याउने क्षति अकल्पनीय हुन्छ। यसबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने त परको कुरा, चुरे पहाडलाई त छुन पनि हुन्न।
कमजोर बनोट
बलौटे र पाङ्गो माटो, गोलो आकारको सानो ढुङ्गाले बनेको चुरे भएरै महाभारतबाट नदी तथा खोलाहरू दक्षिणतर्फ बग्छन्। पहाडबाट खोलाले बगाउँदै लैजाँदा ठोक्किँदा–ठोक्किँदा ढुङ्गा गोलो आकारको बन्छ। चुरेको पहाडमा गोलो ढुङ्गा पाउनुको प्रमाण कुनै बेला यहाँ खोला बग्थ्यो भन्ने हो।
खस्रो माटो र सानो आकारको ढुङ्गा पाइने हुनाले यसको धरातल कमजोर छ। खस्रो माटोले साना ढुङ्गालाई बलियोसँग समाउँदैन। त्यसैले चुरे धेरै पहिरो जाने क्षेत्र पनि हो।
मानवीय क्रियाकलापले चुरेलाई थप संवेदनशील बनाएको छ। करीब चार दशकअघिसम्म चुरेमा बाक्लो जंगल थियो। तर, अहिले जंगल पातलिएको छ। जथाभाबी डोजर चलेको छ, रूख काटिएका छन्। चुरेको फेदसम्मै घर बनेका छन्।
चुरे क्षेत्र मध्य पहाडभन्दा तल र भावर क्षेत्रभन्दा माथि पर्छ। सामान्यतया नदी वा खोला पहाडी क्षेत्रमा तीव्र गतिमा बग्छन्। वर्षायामको खोला र त्यसमा आउने बाढीले पहाडबाट ढुङ्गा, बालुवा, गिट्टी बगाएर ल्याउँछ।
तर, जब खोला समथर ठाउँमा पुग्छ, पानीको गति कम हुन्छ। त्यसकारण माथिबाट बगाएर ल्याएको ढुङ्गा, माटो, बालुवा बगाउन सक्दैन। भावर क्षेत्रमा त्यसको थुप्रो लाग्छ। त्यसैले खोलाको सतह बढेको छ। अहिले हरेक वर्ष २० सेन्टिमिटरसम्म खोलाको सतह बढेको पाइन्छ।