बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

Photo - AP
Photo - AP

बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गरेकी छन्।

अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी–७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुगेका थिए। बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ।

बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो। यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त हुनु भएको थियो। उनी गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा गएका थिए।

कोर्नवालमा सम्पन्न “सम्पन्न सात” (जी–७) का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उनी सरिक भएका हुन्। लगत्तै उनी शनिबार आफ्नो ९५औं जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी भएका थिए। अर्को दिन उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गरेका थिए।

कोरोनाभाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गरेकी थिइन्। तर यसपटक खुला रुपमा उनले अतिथिहरुसँग भेटघाट गरिन्।

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गरेका थिए। उाीहरुबीच एकअर्का मुलुकका कैयौं वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको छ।

प्रकाशित मिति: : 2021-06-16 06:44:00

प्रतिकृया दिनुहोस्