दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा 

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ।

पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो। क्रमशः बढाउँदै लगेर हाल यो सङ्ख्या तीन लाखमाथि पु-याइएको फार्मका सुपरभाइजर भुवन लामिछानेले जानकारी दिए।

झलक्क हेर्दा विदेशको अनुभूति हुने अत्याधुनिक खोरहरु त्यहाँ रहेका छन्। स्वचालित यन्त्रहरुबाट कम जनशक्तिमा फार्मको व्यवस्थापन गरिएको लामिछानेले बताए। क्लोज हाउस प्रविधिबाट फार्म निर्माण गरिएको छ।

दाउन्ने कर्पोरेटका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार कुखुराको सङ्ख्यालाई क्रमशः बढाएर लगिने छ। पोखरेलले भने “यो सङ्ख्या देशकै ठूलो हो।” देशभर अण्डा बिक्री गर्ने सञ्जालसमेत भएकाले काम सम्भव भएको उनको भनाइ छ।

हाल फार्ममा दुई लाख कुखुराले अण्डा दिइरहेका छन्। दैनिक एक लाख ४७ हजार अण्डा उत्पादन भइरहेको उनको भनाइ छ। यति नै सङ्ख्यामा कृषकहरुबाट अण्डा सङ्कलन गरेर देशैभर अण्डा पु¥याइँदै आएको पोखरेल बताउँछन्।

सो कम्पनीको काठमाडौँ, ललितपुर, भक्तपुर, सुर्खेत र इटहरीमा आफ्नै बिक्री कक्ष छन्। त्यसका अतिरिक्त जिल्लाहरुमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको उनले जानकारी दिए।

उनले भने, “हाम्रो फार्ममा १० लाख कुखुरा पुग्दा हामीसँग ३० भन्दा बढी आफ्नै बिक्री कक्ष हुनेछन्।” कम्पनीले आफूले उत्पादन र सङ्कलन गरेको अण्डालाई ‘दाउन्ने ह्याप्पी एग’ का नामबाट ब्राण्डिङ गरेको छ।

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले एन्टिवायोटिकरहित अण्डा दाउन्नेले उत्पादन गरेको बताए। उनले भने, “घरघरमा अण्डा पु¥याएर सस्तोमा उपभोक्तालाई खुवाउने अभियानमा हामी छौँ।”

निरन्तरको प्रयासबाट अण्डा उत्पादनमा दाउन्ने अग्रणी कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ छ। देशभरमा दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुँदै गर्दा दाउन्नेले तीन लाख आफ्नो संयन्त्रबाट बिक्री वितरण गर्दै आएको छ।

दाउन्ने कर्पोरेटअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन्। यस्तै कम्पनीले दाउन्ने ट्रेड एण्ड प्याकेजिङ शुरु गर्दै छ।

कुखुराबाट जम्मा भएको सुलीलाई प्रशोधन गरेर मलका रूपमा बजारमा ल्याएको छ। ‘दाउन्ने प्राङ्गारिक मल’ को नामबाट बजारमा आउन थालेको छ। यस कम्पनीको लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीमा लगानी छ। कुखुरालाई चाहिने औषधि र दाना आफ्नै रहेको छ।

कम्पनीका प्रबन्ध निर्देशक पोखरेलका अनुसार आउँदो वर्षभित्रमा क्रेट पनि आफ्नै उत्पादन हुँदैछ। क्रमशः कार्टुनसमेत उत्पादन गर्ने तयारी गरिएको छ। लेयर्स कुखुराका लागि आवश्यक पर्ने चल्लादेखि उपभोक्तासम्मको कम्पनी आफैँले गरिरहेको छ।

विसं २०६३ मा शुरु भएको दाउन्ने ट्रेडर्स विस्तार हुँदै गएर अहिलेको अवस्थामा पुगेको हो। अण्डाको बजारीकरणबाट शुरु भएको यो व्यवसाय विस्तार हुँदै नेपालको सबैभन्दा ठूलो फर्मका रूपमा विकास भएको छ।

दाउन्ने कर्पोरेटअन्तर्गतका विभिन्न कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ। यसमा माछापुच्छ«े बैंकको ऋण लगानी रहेको छ। ती कम्पनीमा २०० भन्दा बढी साझेदार छन्। क्रमशः लगानी बढाउँदै लगिने पोखरेलको भनाइ छ। रासस

प्रकाशित मिति: : 2021-06-14 10:22:00

प्रतिकृया दिनुहोस्