अमरिश पुरीसँग दुरुस्त अनुहार भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको तुलना

सामाजिक संञ्जालमा भाइरल तस्विर
सामाजिक संञ्जालमा भाइरल तस्विर

हिन्दी चलचित्रका चर्चित खलनायक अमरिश पुरीको निधन भएको १६ वर्ष भइसकेको छ । क्रूर खलनायक भूमिकामा ख्याति कमाएका पुरीका 'फ्यान'हरु नेपालमा पनि प्रशस्तै छन्।

अमरिश पुरीको १२ जनवरी २००५ मा ७२ वर्षको उमेरमा निधन भएको थियो, जतिबेला सामाजिक सञ्जालको दबदबा अहिलेजस्तो थिएन। तर, मृत्युभएको डेढ दशकपछि उनै पुरीलाई नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पछ्याएका छन्। पछ्याउनुमा दिवंगत पुरीको कुनै भूमिका छैन।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएलगत्तै नेपालीले 'फ्यान'ले पुन: एकपटक पुरीलाई स्मरण गरेका छन्।

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि उनी 'दुरुस्त अमरिश पुरी' भनेर चर्चा गरिएको छ। अभिनेता पुरी र नेता पोख्रेलको मुहार तुलना भइरहेको छ।

सामाजिक सञ्जालमा यी दुवैको फोटो हालेर पोष्ट गरिएको सामाग्री भाइरल भएको छ।नेपालको केन्द्रीय राजनीतिमा खासै परिचित नरहेका पोखेरल जब मुख्यमन्त्रीमा नियुक्त भए,  उनको तस्बिर देख्नासाथ अमरिश पुरी जस्तै भनेर उनीबारे चाँसो राख्नेहरुले टिप्पणी गरे। 

‘उहाँलाई ट्याक्कै अमरिश पुरीजस्तो देखिँदोरहेछ। अलि कडा भएर दनादन काम गर्नु त्यहाँ', हिमाल लुइँटेलले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। 

'अनुहार अमरिश पुरीको जस्तो भए पनि व्यवहार चाँहि अनिल कपुरको झैँ गर्नु', अर्का टिप्पणीकार अमर शाहले फेसबुकमार्फत् सुझाव दिए। 

‘म त हिन्दी फिल्म अभिनेता अमरिश पुरी बाँचेर आएछन् भन्या त  काका ओकिल पो हुनुहुदो रहेछ ?', मजाक शैलीमा भीमप्रसाद न्यौपानेले कमेन्ट गरे। 

यी त प्रतिनिधि कमेन्ट मात्र हुन्। हजारौँ प्रतिक्रिया छन्, सामाजिक सञ्जालमा पोखरेललाई पुरीसँग तुलना गरिएको। 'अमरीश पुरीजस्तै देखिए बा त, कस्तो ठ्याकै अमरिश पुरी जस्तै', भन्दै सामाजिक सञ्जालमा बग्रेल्ती प्रतिक्रिया भेट्न सकिन्छ। 

सामाजिक सञ्जालमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई अमरिश पुरी भनिएपछि यसबारे उनी के भन्छन्, कौतुहलता लाग्नु स्वाभाविक हो। यो विषय पोखरेल स्वयमलाई जानकारी छ होला कि छैन होला भन्ने चासो स्वाभाविक हो। 

यही जिज्ञासा बिएल नेपाली सेवाले उनीसमक्ष राख्यो। यसबारे उनी पनि जानकार रहेछन्। संक्षिप्त कुराकानीमा मुख्यमन्त्री पोख्रेलले हाँस्दै भने,  'मलाई कसैले अमरेश पुरी भन्छन्, त कसैले अमरिश पुरी। पहिल्यैदेखि मलाई देख्ने जो कोहीले अमरिश पुरी जस्तै भन्ने गरेको पाउँछु।' 

'अहिले पनि मेरो र पुरीको फोटो जोडेर फेसबुकमा लेखेको पाएको छु', मुख्यमन्त्री पोखरेलले भने, 'अनुहार मिल्छ होला र त सामाजिक सञ्जालमा लेख्नुभयो। अमरेश पुरीको बलिउडमा ठूलो देन छ।  एउटा मान्छेको अनुहार सात जनासँग मिल्छ भन्ने सुनेको छु। त्यही भएको होला नि!'  

सरल स्वभाव र जीवनशैलीका पुस्तौनी राजनीतिज्ञ कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतको नवलपरासी पूर्व १ (क) बाट निर्वाचित भएका हुन्। उनी त्यसअघि दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

नेपाली प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माका छोरा हुन्। उनी पोखरेल हाल ७१ वर्ष पुगेका छन्। उनका एक जना दाजु रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयका पूर्व मुख्यसचिव हुन्।

पूर्व तनहुँ जिल्ला विकास समितिका सभापति भइसकेका उनी विकेन्द्रीकरणविज्ञ मानिन्थे। उनी पनि एकपटक सांसद् भएका थिए। अर्का दाजु जगदीशचन्द्र पोखरेल पटक–पटक योजना आयोगका उपध्यक्ष भएका थिए।

प्रकाशित मिति: : 2021-06-13 16:32:00

प्रतिकृया दिनुहोस्