गोर्खाहरूले भारतवर्षका लागि गरेका त्याग र बलिदानका कैयन गाथाहरू छन्। तर दुर्भाग्यवश कतिपय प्रेरणादायी र मार्मिक गाथाहरू अहिलेसम्म ओझेलमा छन्।
सिपाही, कुल्ली, गोठालो, चौकीदार, कान्छा र बहादुर भएर आमा–भारतीका लागि गरिएका निष्काम कर्महरू बग्रेल्तै छन्। कतिपय इतिहासबाट हराएका र इतिहास मै नगाभिएका कथा-व्यथाहरू पनि छन्।
मौखिक रुपमा, दन्त्यकथाका रुपमा अहिलेसम्म बाँचेका कुनै–कुनै बुढापाकाका मुखमा छन्। भत्किन लागेका चौतारीमा छन्। खेतका गरामा छन्। नारदगंगाका बगरमा छन्। बुढापाकाका शेखपछि यी रहल कथाहरूपनि बिलाउने संघारमा छन्। यीनै दन्त्यकथाहरू भित्र बिलाउनै लागेको एउटा जीवन्त कथा छ। मणिपुरका नेपाली हुलाके मनबहादुर लिम्बूको कथा।
मनबहादुर लिम्बू कहाँका थिए? कस्का छोरा थिए? उत्तर छैन कोहीसँग। खियापर्न लागेको दशी र सुनेको छोटो गाथामात्र छ हामीसँग।
कुरा अंग्रेज शासनकालको हो। मणिपुरको जिरीबाम भन्ने ठाउँमा अंग्रेजले स्थापना गरेको एउटा डाकघर (पोस्ट अफिस) थियोे। यकिन गरेर भन्न नसके पनि लगभग तीन किलोमिटर टाडा तोरबुंग भन्ने ठाउँसम्म चिठी पुर्याउन जानू पर्थ्यो। त्यो पोस्टअफिसमा मनबहादुर लिम्बू नाम गरेका एकजना हुलाकी थिए। बाघ लाग्ने आपट्टे जंगल थियो उसबेला।
ज्यानको जोखिम मोलेर चिट्ठी पुर्याउनु पर्थ्यो। सँधै जंगलको विकटिलो बाटो हिंडदा हिडदा आजित भएका मनबहादुरले एकदिन जिरीबामदेखि तोरबुंगसम्म जंगल फाँडेर बाटो खोल्ने गोर्खेहठ गरे। यी कर्मका साँचा, अठोटका पक्का मनबहादुरले सँधैभरी कम्मरमा भिरेर हिडने आफ्ना खुकुरीले जंगल काटेर बाटो खोले। कतिदिन सम्म तिनले चिठी ओसारपसार गरे यकिन गरेर भन्न सकिएन।
दुःखको कुरा एकदिन चिठी पुर्याएर जिरीबाम फर्किंदै गर्दा बाघका भिडन्तमा परेछन्। बाघसँग धेरैबेरसम्म महामुकाबला परेछ। बाघलाई पनि धेरै ठाउँमा काटेर घाइते बनाएछन र आफु पनि वीरगति भएछन्।
मनबहादुर नफर्केपछि पोस्टअफिसका कर्मचारीहरू मनबहादुरलाई खोज्न गए। बाटोमा मनबहादुरको क्षतविक्षत शरीर भेटे। अलिक पर काटिएको बाघको मृतशरीर पनि भेटेपछि मनबहादुरको बाघसँग युद्धमा भएको थाहा पाए।
पछि तत्कालीन उत्तरपूर्वी परिषद्ले उनकै स्मृतिमा एम.बी. लिम्बू रोड नामले कालोपत्रे पक्की बाटो बनाएको तथ्य जान्न पाइन्छ। यस विषयमा जानकारहरूले अझै विस्तृत रुपमा खोजबिन गर्न आवश्यक देखिन्छ।