केही समयदेखि मनमा यो टिप्पणी लेखौँ वा नलेखौँ होला भनेर धेरै सोचेँ। यो वा कुनै पनि टिप्पणी लेख्दा त्यस्तो लेखनीले मलाई के फरक पार्ला भनेर त कहिले सोचेको छैन र सोच्नु आवश्यक र उचित दुवै हुँदैन। त्यसैले हतपत आफ्नो लेखाइले आफूलाई के फरक पार्ला भनेर चिन्तन गरिराख्नु नै परेन तर आफ्नो लेखाइले समाजलाई के फरक पार्ला ? भइरहेका वा हुनसक्ने सकारात्मक कामहरुमा कहीं कतै आफ्नो लेखनीले नकारात्मक प्रभाव त पार्दैन ? भन्ने जस्ता कुराहरुमा अत्यन्त विचार गरेर नै लेख्ने गरेको छु।
त्यसैले यो टिप्पणी लेख्दा पनि अलोकतान्त्रिक, असंवैधानिक र अमर्यादित गतिविधिविरुद्ध जारी संवैधानिक राजनीतिक लडाइँलाई यस टिप्पणीले कहीं कतै नकारात्मक असर गर्छ कि ? कहीँ कतै अन्योलता, अनिश्चितताको बीचमा चिन्ता पनि थपिने हो कि ? भन्ने दृष्टिबाट विचार गरेपछि नलेख्नुभन्दा लेख्नु उचित हुन्छ भन्ने लागेर यो आलेख तयार पारेको छु। यसलाई सत्य, तथ्य र सही वा गलतको कसीमा राखेर पढिदिनुहुन विनम्र अनुरोध पनि सुरुमै गर्न चाहें।
यो टिप्पणी सरसर्ती हेर्दा व्यक्ति केन्द्रित तर यथार्थमा चाहिं प्रवृत्ति केन्द्रित हो। नेपालको राजनीतिमा बढो आशाको नजरले हेरिएका चार पात्रहरु थिए, जसको सक्रियता र सफलतालाई समग्र देशले आफ्नो भावी नेतृत्वको विकासक्रमको रुपमा बुझ्थ्यो तर आज भएको गुम्ने डरले उहाँहरुले प्रदर्शन गरिरहेको लाचारदेखि मिठो शब्दावलि र आकर्षक सुनिने सिद्धान्तको मनोगत व्यख्याले उहाँहरुको राजनीतिक तौल घटिरहेको छ भने आम रुपमा जनताहरु निराश भइरहेका छन्।
दु:खका साथ हो तर लेख्नैपर्छ कि उहाँहरुप्रतिको जनताको आशा र अपेक्षालाई जानेर नजानेर पूरा गर्न नसकिरहेका चार जना नेताहरुको नाम हो– शंकर पोखरेल, प्रदिप ज्ञवाली, योगेश भट्टराई र गोकर्ण विष्ट। उहाँहरु चारै जना अत्यन्त सम्मानयोग्य राजनीतिक विगत र सदैव स्वच्छ छवि कायम राख्न सफल नेताहरु हुनुहुन्छ तर वर्तमानमा आउँदासम्म उहाँहरुको स्वच्छ छविमा त कहीं कसैले औंला उठाउनसक्ने आधार छैन तर उहाँहरुबाट गरिएको पछिल्लो राजनीतिक निर्णयहरु चाहिँ जनअपेक्षा अनुसार छैन नै।
स्वाभाविक छ केही भ्रमित केही स्वार्थी, केही जडतावादीहरुले उहाँहरुको पछिल्ला कदमहरुलाई अत्यन्त सही मात्रै हैन अत्यावश्यक नै भनिरहेका छन तर जनताको ठूलो पंक्ति जो उहाँहरुको परिपक्कता र सफलतालाई भावी देशको सही नेतृत्वको आधार हुन भन्ने मान्थे उनीहरु चाहिँ उहाँहरुको पछिल्लो राजनीतिक कदमलाई हेरेर निराश र चिन्तित भएका छन।
हाल नेकपा एमालेसँग सम्बद्ध चारै जनाले जनताको अपेक्षा पूरा गर्नेभन्दा निराश पार्न भूमिका खेल्ने काम एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदैदेखि गर्दै आउनुभयो। केही थान मानिसको अन्तरनिहीत सत्ता स्वार्थमा आधा–आधा कार्यकाल प्रधानमन्त्री, आलोपालो अध्यक्षसहितको सहमति गरेर नीति सिद्धान्त र सङ्गठनको टुङ्गो नगरी गरिएको भए पनि जनताको ठूलो पंक्तिले एमाले माओवादी एकतामा खुशी मात्रै व्यक्त गरेनन् बरु त्यसलाई अनुमोदन गर्दै जनमत पनि दिए। तर चुनावी मोर्चालाई पार्टी एकतामा रुपान्तरण त गरियो तर पार्टीलाई पार्टीजस्तो चलाउने काम भएन।
केही समय केपी ओली र प्रचण्डको मिलिभगत नै सबैभन्दा उचित र आवश्यकजस्तो गरियो। उहाँहरू दुई जना सहमति भएपछि कमिटी बैठक प्रणाली केही नचाहिने सन्देश दिइयो।
त्यसपछि जब दुई अध्यक्षबीचमा असहजता बढ्दै गयो, त्यसपछि दुईमध्ये एक अध्यक्ष प्रचण्ड लामो समयदेखि पार्टीलाई विधि–विधान बमोजिम चलाउनुपर्छ भन्ने माग राख्दै आउनुभएका माधव नेपालसँग जोडिन पुग्नुभयो। क्रमश: विधि पद्दतिअनुसार पार्टी चल्नुपर्छ भन्नेहरुको बहुमत बन्दै गएपछि पार्टीका अर्का अध्यक्ष केपी ओली वैठकमा नआउने, बैठकले गरेका निर्णय नमान्ने तहमा पुग्नु भयो। आरोप–प्रत्यारोपको अनाश्यक शृंखला चल्यो र हुँदै जाँदा नेकपा विभाजित भयो।
यो सबै कुरा हुँदै गर्दा पार्टीको आशा गरिएको दोश्रो पुस्ताको नेता हुनुको धर्म निर्वाह गरेर उहाँहरुले हस्तक्षेपकारी भूमिका गर्ने अपेक्षा गरिएकोमा त्यो पूरा भएन। उहाँहरुमध्ये दुई जना शङ्कर पोखरेल र प्रदीप ज्ञवाली त सबै सीमाहरु तोडेर एकपक्षीय रुपमै केपी ओलीको पक्षमा लागिहाल्नुभएको थियो भने योगेश र गोकर्णले पनि सोध्नेहरुलाई भाषा मिलाएर जवाफ दिनेबाहेक अरु केही गर्नु भएन।
एक प्रकारले भन्नुपर्दा नेकपा हुँदा उहाँहरुमध्ये आधाले एकपक्षीय भएर लाग्ने अनि आधाले चाहिँ बहुअर्थी भाषा बोल्नुको साटो जनताको अपेक्षाअनुसारको स्थायित्वको लागि एकता अनिवार्य छ। अनि एकताको लागि पार्टीलाई विधिमा चलाउनु अनिवार्य छ भनेर हस्तक्षेप गर्न कोशिश मात्रै गरेको भए परिणाम अत्यन्त सकारात्मक हुन्थ्यो तर त्यसो हुन सकेन।
उहाँहरु कोही एकातर्फ पूरै त कोही अर्कोतर्फ आंशिक लाग्नु भयो। अनि 'उडायो सपना सबै हुरीले' भनेजस्तो नेकपाको एकता भताभुङ्ग भयो। अब त सर्वोच्च अदालतको फैसलाले त्यसै पनि नेकपालाई फुटाएर एमाले र माओवादी बनायो तर पनि उहाँहरुको ताल उस्तै छ। परिणामस्वरुप एमाले पनि विभाजित छ। क्षतविक्षत छ। उहाँहरुप्रतिको आशा अपेक्षा शून्य हुँदैछ।
अब सवाल उठ्नसक्छ कि आखिर कसरी कुनै बेला जिउ–ज्यानको माया मारेर, दुःख कष्ट गर्न तयार भएर राजनीतिमा लागेका, यति लामो राजनीतिक जीवनमा सम्मानयोग्य भूमिका बनाएका, थुप्रै आन्दोलनहरुलाई सफल पार्न भूमिका खेल्ने ती चार पात्रहरु अहिले या त एक पक्षीय गाना बजाउनमा रमाउने वा नीति सिद्धान्त सबै कुरा छोडेर केवल पार्टी एकता, फेरि पनि पार्टी एकताको भन्दै एकधुन बजाउने तहमा पुगेको ?
आ–आफ्नो दृष्टिकोणको आधारमा यो सवालको अनेकन उत्तर हुन सक्छन तर सवालभित्र लुकेको एक महत्वपूर्ण सवाल के हो भने उहाँहरु जत्तिको नेताहरु उत्पादन हुन अब कति समय लाग्ला ? अनि फेरि त्यसरी लामो संघर्षमा जनताको आशा र भरोसामा आधारित माया पाएर नेता बन्नेहरु एउटा खास बेलामा उहाँहरु जस्तै दिशाहीन भइदिए भने के हुन्छ ? यो सवाल चाहिँ अत्यन्त महत्वपूर्ण तर परिणाम नभोगी उत्तर नभेटिने सवाल हो किनकि जतिबेला शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश र गोकर्णहरुप्रति आशा र अपेक्षाको अंकुरण र प्रस्फुटन हुँदै थियो, त्यतिबेला आजको जस्तो दु:खद् दिनको कल्पना कसले पो गरेको हुँदो हो त ?
खैर जे होस्, उहाँहरुसहितले गर्न सक्नुभएन भन्दै गर्दा उहाँहरुले के गर्नु पर्थ्यो त ? भन्ने सवाल जरुरी उठन सक्छ र उठनुपर्छ। त्यस जायज सवाल उठनुभन्दा पहिला नै उहाँहरुले के गर्न सक्नुहुन्थ्यो ? के गर्नु पर्थ्यो र के गर्नु भएन भन्ने बारेमा बुझ्न निम्न बुँदाहरु काफी होलान् :
१. सबैभन्दा पहिला नेकपा एमाले र माओवादीकेन्द्र मिलेर नेकपा बन्दै गर्दा एकीकृत पार्टीको नीति सिद्धान्त कस्तो हुने वा के हुने ? भन्ने टुङ्गो हुनुपर्ने थियो। नेतृत्वमा को हुने र कहिलेसम्म हुनेभन्दा पनि नेतृत्व छनोटको विधि र मापदण्ड के हुने भन्ने टुङ्गो हुनैपर्ने भनेर अडान राख्ने र त्यसो गर्दै गर्दा मोर्चाबाट पार्टी एकीकरणको मार्गमा आउँदै रहेको माओवादीका आशा लाग्दा नेताहरुसँग पनि कुराकानी गरेर साझा धारणा बनाउनुपर्थ्यो तर त्यसो हुन सकेन। यसोउसो व्यक्तिगत गफमा त्यस्ता कुरा व्यक्त कहीँ कतै भाको भए थाहा छैन तर सामूहिक रुपमा त्यो आएन। परिणाममा के भयो पार्टी एकता भएर पनि कहिले पार्टी जस्तो नभई नै फुट्यो।
२. नेकपा हुँदा पार्टीलाई विधि र प्रक्रियामा संचालन गर्दै समग्र पार्टीलाई एकतावद्ध बनाउन लाग्नु पर्नेमा सुरुमा केपी ओली र प्रचण्डले सहमतिमा जे गर्दा पनि हुने आसाय पनि लाग्ने विधान बनाउने बेलामा नै उहाँहरु बोल्नु पर्थ्यो तर उहाँहरु त चोचोमोचो मिलाएर गरिएका निर्णय र निर्णय गर्ने प्रक्रियाको कडा पक्ष पोशाक देखिनुभयो।
अहिले पनि कतिपय वहाँहरुका तत्कालीन अन्तर्वार्ता हेर्ने हो भने नेतृत्वको देवत्वकारणको शैली प्रष्ट बुझिन्छ। के ठीक, के बेठीक हेरेर ठीक कुरालाई स्थापित गर्न लाग्नुपर्ने सशक्त शक्ति हुन छोडेर नेताको भक्तिमार्फत् सफलता पाउनेमा उहाँहरु लागेको प्रष्ट नै छ।
३. जब केपी ओलीसँग प्रचण्डको चोचो मोचोको यात्रामा विराम लाग्यो त्यसपछि प्रचण्डले आफुलाई विधि पद्दतिको कडा पक्षधर देखाउँदै त्यस सिद्धान्तको मुख्य पक्षपोषक माधव नेपालसँग मिल्न आउनुभयो। प्रचण्डको नियत के थियो होला त्यो अलग हो तर देखिँदा उहाँ कडा विधि पद्दति पक्षधर मात्रै हैन पदीय लालचरहित नेताको रुपमा पनि देखिनुभयो।
त्यही सत्यता वा आडम्बर के थियो त्यो छुट्टै कुरा भयो तर पनि तथ्यले भन्छ नि प्रचण्डले केपी ओलीसँग सहमति गरेर तय भएबमोजिमको आधा कार्यकाल प्रधानमन्त्री त्यागेकै हुन्। समान हैसियतको अध्यक्ष हुने भन्ने सहमितविपरीत केपी ओलीलाइ प्रथम अध्यक्ष मान्न उनि तयार भए तर त्यत्रो गर्दा पनि केपी ओलीले एकाङ्की ढंगले अगाडि बढन छोडनुभएन। मनलाग्दी काम गर्न नछोड्ने, दुवै पदबाट हटाउने पो हो कि भनेर हतपत वैठकनै नराख्ने लगायतको काम भयो।
अनि त क्रमश: स्पष्टीकरण लिने कारवाही गर्नेजस्ता धेरै वाहियात काम भए तर यस्तो सबै अनुचित काम भइरहँदा त्यसलाई सच्याउन मिलेर दबाब दिने, श्रीष नेताहरुलाई अनावश्यक रुपमा विवाद नबढाउन दबाब दिने र आवश्यकता पर्दा सहमतिको खाका कोर्नको लागि एकताबद्ध भएर खटनुपर्ने यो चार जनाको पंक्ति नेकपामा त के अहिले एमाले हुँदा समेत गुटगत वा निजी स्वार्थको आधारमा धारणा बनाउने र एकता हैन विवाद बढाउन काम नै जानेर नजानेर गरिरहनुभएको छ।
४. अन्तर पार्टी जीवनमा भए गरेको विधि विधान उल्लङ्घन, फरक समूहमाथिको अन्याय अत्याचारको विरुद्ध त उहाँहरु खासै बोल्नुभएन नै, तर संविधान नै मिच्ने जनप्रतिनिधिमूलक निकाय संसद् नै दुई–दुई पटक भङ्ग गर्नेजस्ता काम हुँदा पनि उहाँहरुमध्ये आधाले (शङ्कर पोखरेल र प्रदीप ज्ञवाली ) त सुरुदेखि अहिलेसम्म गुटको अन्धभक्त भएर असंवैधानिक कामको प्रतिरक्षा नै गर्दै रहनुभएको छ भने योगेश भट्टराई र गोकर्ण विष्ट पनि दोश्रो पटक संसद विघटन भएको घटनालाई अनदेखा गर्दै पार्टी एकताको एकोहोरो रट लगाउँदै हुनुहुन्छ। उहाँहरुको पछिल्लो अभिव्यक्ति सुन्दा लाग्छ कि वहाँहरुले भने जसरी आँखा चिम्लिएर एमाले एकता भयो भने देश सुख र सम्वृद्धिको राजमार्गमा अगाडी बढने छ।
जबकि पछिल्लो केही दिनहरुमा नेकपा हुँदै एमालेमा आइपुगेको पार्टी र त्यसको नेतृत्वमा रहेको सरकारको कामहरुले जनतामा आशा र भरोसा कम आक्रोश र आलोचना ज्यादा आर्जन गरेको छ तर यो सत्यलाई पूरै नजरअन्दाज गरेर उहाँहरु हिँड्नुभएको छ जबकि उहाँहरुले सबै कुरा त्याग्न तयार भएर पनि लोकतन्त्र, संविधान, कानुनी राज्य जोगाउन लाग्नुपर्नेमा कथित पार्टी एकताको नाममा सबै खाले नकारात्मकतालाई अनदेखा गर्नुपर्छ भन्दै हुनुहुन्छ।
अरु त अरु भोलि जति बेला चुनाव हुँदा जनताले उहाँहरुलाई “तपाईंलाई लाज छैन चुनावमा भोट माग्न, पाँच वर्षलाइ चुनेको संसद् दुई दुई पटक विघटनको सारथी/समर्थक वा आँशिक समर्थक तपाईं पनि हैन ?” भनेर सचेत जनताले सोध्छन् भन्ने सत्य पनि उहाँहरुले अनदेखा गर्दै हुनुहुन्छ। यसले त उहाँहरुमा निष्ठाको अलावा दूरदर्शीता पनि रहेनछ भन्ने देखाएन त ? देखायो र यो अत्यन्त गम्भीर विषय हो।
५. अरु त अरु उहाँहरु प्रतिको विगत जनविश्वास माथि त धोका भइरहेकै छ तर उहाँहरुले जानेर वा नजानेर, डरले वा त्राशले, लोभले वा लालचले के ले हो थाहा भएन तर उहाँहरुले आफैंलाई पनि धोका दिनुभएको छ। आफ्नो कमजोरीले आफ्नो उज्यालो राजनीतिक जीवनलाई अँधेरोमा धकल्नुभएको छ। त्यति मात्रै हैन, उहाँहरुले मूल नेतृत्वबाट पनि गल्ती हुन्छ त्यसको पहिचान गर्ने र त्यसलाई सच्याउने काम समयमा गर्न आवश्यकता पर्दा नेतृत्वलाई अप्रिय लाग्ने कुरा पनि सुनाउनुपर्छ भन्ने हिम्मतको अभाव प्रदर्शन गर्नुभएको कायरताले गर्दा उहाँहरुको मात्रै हैन, विगतमा अत्यन्त चम्किलो रहेको केपी ओलीको राजनीतिक परिचयलाई समेत बदलेर उहाँलाई एक खलपात्रको रुपमा चित्रित हुने तहमा पुर्याउनुमा सहायक भूमिका निर्वाह गर्नुभएको छ।
कतिपयलाई अप्रिय लागे पनि सत्य यही नै हो। अब त उहाँहरुले आफूप्रतिको जनविश्वास गुमेको, आशा लाग्दो नेताको रुपमा बनेको परिचय धुमिल हुँदै लोभी, लालची, अविवेकी र कायरको रुपमा आफ्नो नयाँ परिचय बनेको सत्य स्वीकार गरेर सुध्रिन खोजे पनि अब सम्भावना छैन जस्तो लाग्छ। अब त धेरै भन्नुभन्दा जनताले उहाँहरुलाई सम्झेर “धोका दिनेलाइ के भन्नु र खै, शंकर, प्रदिप, योगेश र गोकर्ण प्रतिको विगतको गलत निष्कर्षले दङ्गै परें मै ” भन्दै पीडायुक्त गीत गाउनुबाहेक के नै पो गर्ने सक्ने अवस्था रह्यो।