तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत लिन नसक्दा उनी नेतृत्वको सरकार ढल्न पुग्यो। गुरुङ सरकारको अवसानपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि २४ घण्टे अल्टिमेटमसहित आह्वान गरिन्। ३ घण्टा बित्दानबित्दै विपक्षी गठबन्धनका ३१ सांसद स शरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए।
स्पष्ट बहुमतसहित विपक्षी गठबन्धन वैकल्पिक सरकार गठनको प्रदेश प्रमुख कहाँ पुगी पछि धेरैले अड्कल काटेका थिए, ‘मुख्यमन्त्रीमा अब कृष्णचन्द्र नेपाली’ नियुक्त हुने छन्। दिउँसो ३ बज्नै आट्दा पनि विपक्षी ढुक्क थिए। प्रदेश प्रमुख कहाँबाट निम्तो आउछ। हाम्रो सरकार आउछ।
३ बज्यो। तर, प्रदेश प्रमुखकहाँबाट खबर आएन। यतिञ्जेलसम्म प्रदेश प्रमुखले सरकार गठनको लागि दिएको समयसीमा सकिई सकेको थियो। बरु, प्रदेश प्रमुख कहाँ खबर आयो तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भयोे। राष्ट्रिय जनमोर्चाबाट बर्खास्त हुन पुगेका तत्कालीन सांसद कृष्ण थापाले जनता समाजवादीपार्टी सहितको हस्ताक्षर बोकेर दाबी पेश गर्न पुगेको खबर थियो।
एकाएक गण्डकीमा सत्ता समीकरणमा नयाँ तरंग आयो। जवाफ पर्खेर बसेका विपक्षी प्रदेश प्रमुख कहाँ पुगे। पहिलेदेखि नै ठूलो दलबलसहित सुरक्षामा तैनाथ सुरक्षाकर्मीले विपक्षीलाई गेटबाहिरै रोक्यो। विपक्षी गठबन्धनका ३१ सांसद गेट अघि धर्नामा बसे।
सरकारी कदमको भत्र्सना गर्दै आफ्नो गठबन्धनको सरकार गठन नभएसम्म धर्नामा बस्ने चेतावनी दिएपछि अन्तत: प्रदेश प्रमुखले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र सार्वजनिक गरिन्।
सत्तापक्षबाट भएको यो हर्कतलाई राजनीतिक विश्लेषकहरु अधिनायकवादको अभ्यास गर्न खोजिएको बताउछन्। राजनीतिक विश्लेष्क कपिलमणी दाहालले राजनीतिकर्मीको यस्ताकिसिमको हर्कतले राजनीतिलाई 'नेगेटिभ' रुपमा हेर्नेलाई मलजल पुगेको दाबी गर्छन्। ‘पोलिटिक्स डट्टी गेम सोच्नेलाई मलजल पुग्यो। आखिर जे गरे पनि पुष्टि गर्न सक्ने अवस्था त थिएन नि त। ३१ जना सांसद शरीर उपस्थित भएर हस्ताक्षर बुझाई सकेपछि केन्द्रको जस्तो अवस्था पनि थिएन,’ उनले भने, ‘माधव कुमार नेपाल पक्ष र ओली पक्ष भन्ने थियो। केन्द्र र यहाँको राजनीतिक फरकै थियो। जुन घटनाक्रम विकास भयो त्यो दुभाग्य हो। लास्टमा आएर सच्चिएको छ। यसलाई पोजेटिभ्लि लियौं।’
वैयक्तिक राजनीतिलाई राष्ट्रिय राजनीतिको रुपमा स्थापना गर्न खोजिएको आजको घटनाले पुष्टि गर्ने उनले बताए। तर, पुष्टि हुन नसक्दा सबैलाई फाइदा पुगेको उनको मत छ।
सजिलो छैन अबको यात्रा
पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै मुख्यमन्त्रीमा इन्ट्री मारेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई अबको यात्रा त्यति सजिलो छैन। आफूलाई साथ दिएका विपक्षी दलका सांसदहरुलाई रिझाएर प्रदेशको नेतृत्व गर्नु चुनौतिपूर्ण देखिन्छ। मनाङ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेले साथ दिँदा उनी मुख्यमन्त्रीको कुर्सीमा विराजमान हुन पाएका हुन्। ४ दल र एक स्वतन्त्र सांसदको समर्थन पाएर मुख्यमन्त्री बनेका नेपालीले सबैलाई रिझाएर लैजान कम्ति सकस छैन।
अबको ३० दिनभित्रमा विश्वासको मत लिनपर्ने छ। उनीसहित ४ मन्त्रीले शपथ लिई सकेका छन्। ११ मन्त्रालय आफ्नै जिम्मा राखेका नेपालीको पहिलो काम मन्त्रालय बाँडफाँडकै हुने छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्चले वैधानिकता नदिएपछि सुरु भएको सत्ता परिवर्तनको खेलमा नेपालीले बाजी त मारे। प्रधानमन्त्री ओलीको प्रतिगमनकारी नीति विरुद्धमा विपक्षी दल उभिदा उनी मुख्यमन्त्री बन्न टेको मिल्यो। यसपछिका उनका कदम हेर्न बाँकी नै छ।
को हुन् उनी ?
७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल तनहुँमा जन्मे पनि उनको राजनीतिमा नवलपरासीबाट उदाएका हुन्। पूर्वी नवलपरासी १ (क) बाट प्रदेश सभामा चुनाव लडेका नेपालीले एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरेका थिए।
२००६ साल मंसिर १३ गते परिवारका जन्मेका उनी परिवारमा माइला छोरा हुन्। जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसकेका उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाएका थिए।
काभ्रे र तनहुँका स्कुलमा उनले लामै समय पढाए। २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय थिए। जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उनलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो। त्यसपछि उनले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न रहे।
२०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी। प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन्। २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना बिताएका छन्। २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे। २०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उनले अर्को २ महिना जेलमा बसे। देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो। नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए। २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए। त्यसपछि ९ महिना पाल्पा जेल बसे।
प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण उनका पिता गोवद्र्धन निर्वासनमा बसेका थिए। २०२२ देखि २०२८ सालसम्म उनले पनि पिताकै साथमा भारतमा निर्वाासित जीवन बिताएका थिए। राजनीतिमा मात्र होइन उनी लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहे।
भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका उनले पछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक उत्तीर्ण गरे। प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए। त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने। माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए। कानुनमा पनि दख्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे।
लामो समय कानुन व्यवसायमा आबद्ध उनी जनपक्षीय कानुनी सेवामा संलग्न रहे। प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि उनले वकालत समेत गरेका थिए।
२०४८ को अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए। २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए। २०६२–६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमान्ड सम्हाले। त्यो बेला पनि पनि उनी जेल परे।
कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भए। उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए।