रात साँच्चिकै यतिको सुनसान हुन्छ भनेर मैले त बिर्सिसकेछु। पछिल्लो पाँच वर्षको मेरो व्यस्तताले दिन मात्र होइन, रातको स्वरूपसमेत मैले बिर्सिसकेको रहेछु। बल्ल आज हेक्का हुँदै छ।
बिहानै उठ, कलेजमा पढाउन जाउ। घर फर्क। हतार–हतार एक गाँस खाना खाउ। अनि, घाँटीमै खाना बोकेर अफिसका लागि कुद। दिनभरि अफिस, कहिले मिटिङ, कहिले के–के !
जहिल्यै छिटो घर फर्कन्छु भन्दा पनि रातको ९–१० त बजिहाल्ने। दिनभरिको दौडधुप र तनावले थाकेको ज्यान र मस्तिष्क न पर्यो, पेटमा तातो खाना पर्नेबित्तिकै आँखा लोलाइहाल्छ।
तर, यसपटक यस्तो नीरस दैनिकीबाट केही दिनका लागि भए पनि छुटकारा पाइयो। राजधानीमा मेलम्चीको पानी वितरण गर्ने निहुँमा जताततै भताभुंग सडक खनेर बेरूपको बनेको धुलोमाडौंको बबुरो न परेँ।
ठ्याक्कै समाति त हाल्यो। सुक्खा रुघासँगै हनहन्ती ज्वरो नै आयो। यसै निहुँमा यसपटक घरमा आराम गर्ने मेलो जुर्यो। छुट्टी पाउन पनि बिरामी नै पर्नुपर्ने ! यो कस्तो दैनिकी बिताउँदै छु म, आफैँलाई थाहा छैन।