भारतीय सेनामा भइरहेको अन्याय सर्वोच्च अदालतले सच्चायो

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - PTI
Photo - PTI

भारतीय सेना प्रमुखको आपसी द्वन्द्वका कारण ६ वर्षअघि बढुवा रोक्का गरिएका माथिल्लो निकायका दुई पदाधिकारीले सर्वोच्च अदालतको आदेशपछि न्याय पाएका छन्।

सेनाबाट अवकास पाएको ४ वर्षपछि अदालतको निर्णयले भारतका दुई बिग्रेडियरहरू मेजर जर्नेलमा बढुवा भएका हुन्।

उनीहरूले ६ वर्षअघि नै यो पद पाउनु पर्ने थियो। तर, सेना प्रमुखको आपसी झगडाका कारण उनीहरूको बढुवा रोक्का भएको थियो। सेनाका यी दुई अधिकारीले आर्मफोर्सको ट्रिब्युनलसँग पनि न्याय मागेका थिए। तर, उनीहरूको निवेदन अस्विकृत गरिएको थियो। यसपछि उनीहरू सर्वोच्च अदालत पुगेका थिए।

सेना प्रमुखको झगडाले अन्यायमा परेका दुई ब्रिगेडियर नलिन भाटिया र वीएन चतुर्वेदी थिए। नलिन सेनाको इन्टेलिजेन्स र चतुर्वेदी शिक्षा विभागसँग जोडिएका थिए। यिनीहरूको बढुवाका लागि २०१५ मा नाम सिफारिस भएको थियो।

अदालतमा उनीहरूको पक्षमा लडिरहेका वकिल रिटायर्ड कर्नेल इन्द्रसेन सिंहले भने, ‘उनीहरू आफ्नो ब्याचमा प्रमोशनका लागि सिफारिस भएका एक्ला अधिकारी हुन्। दुवैको प्रोफाइल पनि उत्कृष्ट छ।’

वकिल सिंहले तत्कालिन सेना प्रमुखले उनीहरू अघिल्लो सेना प्रमुखको नजिक भएको आधार देखाएर बढुवा रोकेको दावी गरे।

वर्तमान केन्द्रीय मन्त्री तथा पूर्वसेना प्रमुख वीके सिंहको नजिक भएका कारण उनीहरूको बढुवा रोकिएको वकिल सिंहको भनाई थियो। वीके सिंह पदमुक्त भएपछि दलवीर सिंह सुहाग भारतीय सेनाको प्रमुख बनेका थिए।

प्रकाशित मिति: : 2021-06-06 11:01:00

प्रतिकृया दिनुहोस्