नेपालका पहिलो कुस्ती प्रशिक्षक बिधासागर पोखरेलको ६३ वर्षको उमेरमा निधन भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्ववरिष्ठ कुस्ती प्रशिक्षक तथा तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक पोखरेलको हद्यघातबाट शुक्रबार विहान निधन भएको हो।
फुटबलका नामुद रेफ्री रहेका पोखरेल पछि कुस्ती प्रशिक्षकको रुपमा उदाएका थिए। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको सबै पदकमा उनको विशेष भूमिका छ।
सन् १९८८ मा भारतको पटियालाबाट उनले कुस्तीमा डिप्लोमा गरेका थिए। पोखरेलले कुस्ती खेलको विकास र विस्तारका लागि २६ बर्ष कुस्ती संघको महासचिवको जिम्मेवारी सम्हालेका थिए।
उनी कुस्तीका अन्तर्राष्ट्रिय निर्णायक तथा दक्षिण एसियाली कुस्ती महासंघका पूर्व महासचिव पनि थिए। उनी गोरखा दक्षिण बाहु चौथोबाट विभुषित थिए।