वसन्त महर्जन
हिजोआज नेपालको एक प्रमुख समुदाय ‘नेवार’ को भाषा, साहित्य, संस्कार–संस्कृति र परम्परा बुझाउन ‘नेवारी’ शब्दको प्रयोग गर्ने चलन चलेको छ।
यो चलन कहाँबाट, कसरी र किन चल्यो भन्ने प्रश्न बेग्लै हो, तर सम्बन्धित समुदायलाई भने यो पाच्य भएको छैन । उनीहरू यस्तो शब्दको प्रयोगले आफूलाई होच्याएको महसूस गर्छन्। यो अन्तर्य नबुझेर कसैले राम्रै सन्दर्भमा, राम्रै आशयले उक्त शब्दको प्रयोग गरे पनि अनर्थ भइरहेको छ। सही नाम ‘नेवार’ हो, नामलाई नबिगारियोस् भन्ने आग्रह गर्नु नाजायज पक्कै होइन पनि।
यस सन्दर्भमा नेवारसँग सम्बन्धित विशेषणका रूपमा ‘नेवारी’ शब्द प्रयोग भएको भन्नु तर्कसङ्गत छैन। गुरूङ, मगर, तामाङ, सुनुवार, धिमाल, चेपाङ, छन्त्याल, जिरेल, सुरेल, दनुवार, सतारलगायतको भाषा, साहित्य, संस्कृति जनाउँदा अन्त्यमा दीर्घ इकार लगाएर शब्दको नयाँ रूप दिने चलन छैन। अरु त अरु, यही नेपालीभाषाको उद्गमसँग सम्बन्धित खस समुदायका हकमा पनि यो नियम लाग्दैन। ऐतिहासिक स्रोतहरूमा ‘खसिया’ शब्दको प्रयोग भएपनि हाल यो चलनचल्तीमा छैन।
सचेत नेवारहरू ‘नेवारी भाषा’ को ठाउँमा ‘नेपालभाषा’ भन्न मन पराउँछन् । ऐतिहासिक स्रोतहरूमा पनि यो भाषाको नाम ‘नेपालभाषा’ भनेर उल्लेख हुनुले त्यसो गर्न प्रेरित गरेको हो । भाषाको औपचारिक नाम ‘नेपालभाषा’ भएपनि ‘नेवारको भाषा’ भएका कारण ‘नेवारभाषा’ समेत् भन्न सकिन्छ।
‘नेपालभाषा’ किन भनिएको भन्ने सन्दर्भ इतिहाससँग सम्बन्धित छ । ‘नेवार’ र ‘नेपाल’ दुई भिन्न शब्द नभएर एउटै शब्दका दुई भिन्न रूप हुन् । फ्रेन्च विद्वान सिल्भा लेभी (इ. १८६३–१९३५)का अनुसार ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपार’बाट भएको हो । यसरी नै कुनै स्थानीय शब्द ‘संस्कृटाइज्ड’ हुने क्रममा ‘नेपाल’ शब्द रुढ हुन गएको हो । ‘नेपार’ शब्द ‘संस्कृटाइज्ड’ भएर ‘नेपाल’ बनेको तर्क बाबुराम आचार्यको पनि छ । नेपार र नेवार शब्दका बीचमा केबल माझको एउटा वर्ण फरक भएको र नेपारबाट नेबार र नेबारबाट नेवार बन्नु स्वाभाविक भएको उनको मत छ।