मल्ल के. सुन्दर
अहिले हामी कोभिड–१९ संक्रमण महामारीको चपेटामा छौं। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्मका समाचार र पोस्टमा महामारीकै बाछिटा देखिन्छ। जसमा संक्रमणबाट आफन्त गुमाएकाहरूको आर्तनाद, राम्रो उपचारको खोजीमा संक्रमितहरूले उठाउनुपरेको सास्ती र स्वास्थ्य सेवाको बिजोगका कुरा भरिएका छन्। अभाव, अव्यवस्था र एक किसिमको सन्त्रासले सबैलाई छटपटीमा पारिरहेको छ। संभवतः अहिले जत्तिको संकट र निरुपाय अवस्था हाम्रा लागि कहिल्यै थिएन।
हामी सबै चाँडोभन्दा चाँडो महामारीमुक्त हुन चाहन्छौं। त्यसैले बसिबियाँलो र चर्चाहरूमा समेत कोभिडको विषय अपाच्य बनिसकेको छ। यति हुँदाहुँदै सन्दर्भवश कोभिडकै विषय उप्काउँदै छु।
यो महामारीबाट जोगिन अनेक सावधानी अपनाउँदा अपनाउँदै म पनि संक्रमित भइगएँ। संक्रमणपछिको तीन साता होम आइसोलेसनमै बिते। त्यसपछि पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आयो। परिवारजनका एक दर्जनभन्दा बढी संक्रमित भएकोमा सबै जनालाई निको भइसकेको छ।
संक्रमित भएपछि शारीरिक पीडा, मानसिक तनाव, त्रास, अनिश्चितताको अनुभव अरु संक्रमितको भन्दा फरक रहेन। त्यसमा पनि ७० वर्ष नाघिसकेको मान्छे, संक्रमित भएर ओछ्यान पर्दा आफूमा भन्दा आफन्तजनमा भिन्न खाले सन्ताप हुँदोरहेछ। उनीहरूका भाव, प्रतिक्रिया अनि आँखाका विम्बहरूमा गहिरो पीडा देखेँ। कोभिड हुँदा आफूलाई भन्दा पनि आफन्तमा बढी त्रास जन्माउँदो रहेछ।
धेरैको साझा अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव फरक रह्यो। हो, शारीरिक पीडा र छटपटी त कम थिएन। आत्मविश्वासको कमीले निरीह पनि बनायो। तीन साताको होम आइसोलेसन निःसहाय भएर निराशाकै बीच गुज्रियो। तर, ती सबै असहजताको पृष्ठभूमिमा मेरो लागि सकारात्मक अनुभव पनि भयो। अर्थात्, कोभिडले बनाइदिएको एकान्तबास आत्ममीक्षाको अवसर बनिदियो। त्यो अवधिलाई मैले एक खाले साधना शिविर नै सम्झिएँ।