गत वर्षको सुरुवातीसँगै सुरु भएको कोरोना संक्रमणले १७ महिना र यसको प्यान्डेमिकले साढे चौध महिना पार गरिसकेको छ।
सन् २०२०को मार्च ११ तारिक डब्लुएचओले कोरोना प्यान्डेमिक घोषणा गरेपछि यसका कैयौं लहर आउने क्रममा विश्वको वर्तमान लहर यसै वर्ष फेब्रुअरी अन्त्यदेखि सुरु भई फेरि ओरालो लाग्ने क्रममा छ।
वर्तमान लहरको केन्द्रबिन्दु र सबैभन्दा ठूलो हिस्सा दक्षिण एसिया रह्यो। जसले पहिल्लो समय विश्वकै दैनिक संक्रमणको ५०% र दैनिक मृत्युको ४०% सम्मको भार बहन गर्नुपर्यो। यद्यपि, वर्तमान लहर सुरुमा युरोप र दक्षिण अमेरिकाको भूमिका पनि कम रहेन।
वर्ल्डमिटरका अनुसार अनुसार कोरोनाकालको सुरुदेखि हालसम्म जम्मा कोरोना संक्रमणको अमेरिकामा २०%, भारतमा १६%, ब्राजिलमा १०% र नेपालमा ०.३२% हिस्सा छ।
त्यस्तै, हालसम्म जम्मा कोरोना मृत्युको अमेरिकामा १७%, ब्राजिलमा १३%, भारतमा ९% र नेपालमा ०.२०% हिस्सा छ।
विश्वको समग्र औसत कोरोना मृत्युदर (क्युमुलेटिभ डेथ रेट) २.०८% छ भने पछिल्लो समय विश्वको मृत्यु दर केही बढ्दै गई २.२% पुगेको छ।
सबैभन्दा बढी समग्र मृत्यु दर हुने देशमा दक्षिण अमेरिका र युरोपका देश पर्छन्। टेबुल १ मा विश्वका अधिकतम समग्र कोरोना मृत्यु दर भएका १० देशको सूची देखाइएको छ।
त्यस्तै, समग्र मृत्यु दर अति न्यून रहेका देशमा भुटान, लाओस, बुरुण्डी तथा अन्य स–साना टापु पर्छन् जहाँ मृत्यु दर शून्यसमान छन्।
टेबुलमा देखाइएको सूचीले समग्र मृत्यु दर देखाए पनि पछिल्लो अवस्थामा दैनिक मृत्युको प्रवृत्ति देशअनुसार फरक–फरक देखिएको छ। पछिल्लो अवस्थामा विश्वभरिका साथै अमेरिका, युरोप, ब्राजिल, रुस, भारत, नेपाललगायत दक्षिण एसियामा मृत्यु दर केही बढ्न खोजेको छ।
चित्र न. १ले दुई हप्ताको विश्वको हालसम्मको समग्र मृत्यु दर (हालसम्मको समग्र संक्रमणमध्ये समग्र मृत्युको अनुपात) र विश्वको पछिल्लो समयको दैनिक मृत्यु दर (पछिल्लो समयको दैनिक संक्रमणमध्ये दैनिक मृत्युको अनुपात)को प्रवृत्ति देखाएको छ।
चित्रमा देखाइएजस्तै समग्र मृत्यु दर स्थिर रहे पनि पछिल्लो समयको दैनिक मृत्यु दर केही अस्थिर रही बिस्तारै बढ्ने क्रममा देखिन्छ।
कोरोनाबारे डेढ वर्षभित्र निकै धेरै अनुसन्धान र अध्ययन भएका छन्।