खोप आयातमा लागेका ब्रेकहरु

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

खोप अभावमा गुज्रिरहेको नेपाललाई आफ्नो प्रतिवद्धता अनुसार पूर्वनिर्धारित समयमा खोप उपलब्ध गराउन विदेशी सहयोगी संस्थाहरु पनि असफल भएका छन्।

आफ्नै अस्पष्ट नीति र ढिलासुस्तीका कारण समयमै खोप खरिद गर्न नसकेको नेपाल सरकारलाई कोभ्याक्स सुविधा अन्तर्गत यही जेठको मध्यसम्म पहिलो चरणमा १९ लाख २० हजार ‘कोभिसिल्ड’ खोप उपहार स्वरुप प्रदान गर्ने लक्ष्य थियो।

स्वास्थ्य सेवा विभागका स्वास्थ्य अधिकारीहरु अब पनि तत्कालै कोभ्याक्सले आफूहरुलाई खोप उपलब्ध गराउने छ भन्नेमा आशावादी छैनन्।

कोभ्याक्स सुविधाले गत वैशाख ९ गते पठाएको पत्रमा आजकै मितिसम्म पहिलो चरणमा १९ लाख २० हजार ‘कोभिसिल्ड’ खोप, सोही अनुसारको सिरिञ्ज र सेफ्टी बक्स उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो।

यो बाहेक निकट भविष्यमा ९७ लाख ३४ हजार ८ सय खोप दिने आश्वासन पनि नेपाललाई कोभ्याक्सले दिएको थियो। त्यसबाट नेपालका २० प्रतिशत नागरिक खोपको पहुँचमा पुग्ने विश्वास स्वास्थ्य अधिकारीहरुले गरेका थिए।

तर हालसम्म कोभ्याक्सले नेपाललाई ३ लाख ४८ हजार खोप मात्रै उपलब्ध गराएको छ। कोभ्याक्सले यो खोप गत वर्ष फागुन २३ मा युनिसेफमार्फत नेपाललाई उपलब्ध गराएको थियो।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा.तारा पोखरेलका अनुसार कोभ्याक्सको प्रतिवद्धता अनुसार खोप आएको भए अहिलेसम्म ६५ वर्ष माथिका नागरिकले दोश्रो मात्रा खोप पाउने थिए। साथै थप १० लाख मानिसले दुई मात्रा नै पाउने थिए।

प्रकाशित मिति: : 2021-05-30 18:40:00

प्रतिकृया दिनुहोस्