बिषादीको बयान

बुद्धिसागर

काठमाडौँ

मेरो नाम आम नेपालीको भन्दा फरक थिएन। र, म नेपाली नागरिक नै हुँ।

पेसा थिएन। आम नेपालीझैं बेरोजगार थिएँ। काठमान्डुका अधिकांश नेपालीझैं म अँध्यारो कोठामा बस्थेँ, जसको दायाँ भित्ताछेउबाट ढल बग्थ्यो। म सडकमा हिँड्दा आम नेपालीझै देखिन्छु। म अलि अग्लो छु। मेरा हातगोडा सलक्क परेका छन्। मेरो छाती चौडा छ। खासमा फिल्मको पर्दामा आउने हो भने म सेक्सी नायकमा दरिन सक्छु। र, पनि आम नेपालीभन्दा फरक कुरा छन्, ममा जसले मेरो निँद हरेको छ। समस्या हो- मैले पाएको आइडी कार्ड।

नामः स्वराज
जन्ममितिः २०६८ वैशाख ९ गते।
जन्मस्थानः काठमान्डु
नागरिकः नेपाली
प्रकारः बिषादी।

हो, मलाई यो अन्तिम बुँदाले हैरान पारेको छ। खासमा नौ महिनाअघि जन्मेको थिएँ। कुमारी आमाको सन्तान थिएँ होला, त्यसैले सडकमा फालिएँ। कुनै सज्जनले मलाई भेटे। म निमोनियाग्रस्त थिएँ। सज्जनले हस्पिटल लगे। उनी मलाई पाल्न सक्ने मुडमा थिएनन् होला। म दुधेबच्चा साह्रै दुख्ख पाएर मर्नेवाला थिएँ। असल डाक्टरले मलाई बिषादी भरिएको सिरिन्ज दिए।

खासमा त्यो सिरिन्जमा भरिएको बिषादी के थियो, थाह छैन। म एक महिनामै हलक्क बढेँ। सामान्य रूपले हेर्न हो भने, पच्चिस वर्षमा मान्छे जस्तो हुन्छ, म एकमहिनामै भएँ।

अझैं सरल तरिकाले भन्छु, सिरिन्ज लगाएको लौकाको फूल दुई दिनमै ढाई किलोको भएझैं। बिषादी भरिएका तरकारी जसरी रातारात हलक्क बढ्छन्, म त्यसरी नै बढेको थिएँ।

वर्षौं लगाएर जसरी सामान्य मान्छे, हामी बिषादीहरू तिनलाई अर्गानिक भन्छौं, बढ्छन्, त्यसरी म बढिनँ। ह्वात्तै बढेँ। सानो उमेरमा खाना र भिटामिनको कमीले अर्गाकिनहरूको बनावटमा धेरै फरक आउँछ। मैले त्यो भोगिनँ, त्यसैले चारैतिर घुमेर हेर्नुस्, म फिट छु।

एक महिनामै हलक्क बढ्दा धेरै फाइदा भयो। सानै भएको भए, म सडकबालक हुन सक्थेँ, भइनँ। हस्पिटलबाट निस्केपछि मैले मिनरल वाटर घरघरमा पुर्याउने काम पाएँ। पछि मिनरल वाटरकै कम्पनी खोलेँ। के गर्नु थियो र, बोतल बोक्यो, गोदावरी-सोदावरीतिर गयो, पानी भर्यो, ल्याएर बेच्यो। मेरा केही त्यस्तै बिषादी साथीहरूले पनि साथ दिए।

हामी बिषादीहरू सहरमा अचानक बढेका थियांै। कसैका ममीड्याडी सन्तानको रेखदेख गर्न सक्दैनथे, त्यसलै बिषादी सुई लाइदिए। कोहीकोही गरिब बाआमा सन्तानको बाल्यकाल झेल्न सक्दैनथे, त्यसैले बिषादी सुई लाइदिए। हामी बिषादी युवाहरूको क्लब पनि थियो, जसले फुटबल र डिस्को आयोजना गर्थ्यो। तर त्यो एकदमै थोरैलाई थाह थियो, बिषादी युवाहरूले खोलेको हो भनेर। हाम्रो प्रगति भने अर्गानिक युवाले देखिसहँदैनथे। ती हाम्लाई मन्द बुद्धिको भन्थे। के गर्नु यत्ति चाँडै बढियो कि बुद्धि बटुल्नै पाइएन। अरू पनि छन्, अर्गानिकहरूले हामीलाई लगाउने आरोप-
- बिषादीहरू हेर्दा आकर्षक देखिए पनि टिकाउ हुँदैनन्। ती चाइनिज चप्पलजस्ता हुन्छन्।
- बिषादीहरू अग्ला भए पनि तिनको बुद्धि होचो हुन्छ। तिनको बुद्धि गोबरले बनेको हुन्छ।
- बिषादीहरू चाँडै सम्बन्ध कायम गर्न सक्ने भए पनि सम्बन्ध निभाउँदैनन्। ती छेपाराझैं रंग फेर्छन्।
- बिषादीहरू यौवनले भरिएका देखिए पनि सेक्सुअल्ली कमजोर हुन्छन्। थोत्रो जिपझैं चाँडै बन्द हुन्छन्।

यी आरोप अर्गानिकहरूले बिषादीलाई लगाए पनि हामी बिषादीलाई भने अर्गानिकले आफैंलाई भनेजस्तो लाग्थ्यो।

त्यसैताका जब म तीन महिनाको थिएँ, मेरो पहिलो प्रेम भयो। केटी त्यै चौबीस वर्षकी थिई। हामीले आयोजना गरेको असार १५ को डिस्को पार्टीमा आएकी थिई। नाच्दानाच्दै हामी नजिक भयौं। नाच्दानाच्दै उसले ठूलो आवाजमा मेरो कानमा भनेकी थिई, 'आई एम रूपरेखा। अर्गानिक।'

मैले पनि उसको कानमा मुख जोत्दै भनेको थिएँ, 'आई एम स्वराज। अर्गानिक।'

त्यस दिन मैले उसलाई ढाँटेको थिएँ, अर्गानिक भनेर। सहरमा परिचय दिँदा आफ्नो नामका पछाडि अर्गानिक भए अर्गानिक, बिषादी भए बिषादी भन्नैपर्थ्यो। गृह मन्त्रालयले रेडियो, एफएम, टिभी र गोरखापत्रमा कडा सूचना निकालिसकेका थिए। मैले बिषादी भनेको भए, ऊ फालहालेर भाग्थी। के गर्नु कतै सुनेको थिएँ, प्रेम र युद्धमा सबै जायज हुन्छ। त्यस दिन हामी 'झमझम पानी पर्यो असारको रात'को रिमिक्समा खुबै नाच्यौं। पहिला हात समाउँदै अनि कम्मर समाउँदै। साँच्चै भन्ने हो भने म अर्गानिक युवतीको प्रेमजालमा परिसकेको थिएँ।

हप्तौं बिते। हाम्रो प्रेम बिषादी फलफूलझैं ढकमक्क भएर फुल्यो। मेरा बिषादी मित्रहरू त भन्दैथे, 'एई, त्यसरी अर्गानिकको पछि नलाग। देवदास होलास्। प्रलयको केश त थाहै छ।'

ओह प्रलय! बिचरा डेढ महिनाको हुँदा २१ वर्षे युवतीको प्रेममा परेछ। पछिपछि लाग्दो रैछ। एकदिन अर्गानिक युवाहरूले मोटरसाइकलको लस्करले घेरेर हेल्मेटैहेल्मेटले पिटेछन्। अनि भनेछन्, 'भन्दे, गएर बिषादीहरूलाई- अर्गानिक चेलीलाई आँखा लगाउने होइन।'

यस्तो लफडा थाह पाउँदापाउँदै मैले प्रेम गरेँ। फिल्म हलको अध्याँरो कोठा, डिस्कोको कुना, सडकको किनार मैले धेरै ठाउँमा चुम्बन गर्न पनि भ्याइसकेको थिएँ। चुम्बनपछि ऊ भन्थी, 'डियर, तिम्रो अर्गानिक किस त क्या दामी। बिषादीसित किस गरेको कल्पना गर्यो भने पनि उल्टी होलाजस्तो हुन्छ।'

म मुसुमुसु हाँस्थेँ।

एक दिन उसले सुनाएकी थिई, 'हिजो मेरो ब्रदर भन्दैथ्यो, साले बिषादीहरूलाई डोजर लाएर टुँडिखेलमा पेल्नुपर्छ।'

कुरा सुन्दै जाँदा मेरी प्रेमिका बिषादीको कट्टर शत्रु लाग्थी। तर, मप्रति उसको माया गाढा थियो। सधैं सुत्नुअघि मलाई मेसेज गर्थी-
गुड नाइट... स्विट ड्रिम। ... अर्गानिक किस।

एकदिन बिहानै ऊ मेरो फ्ल्याटमा आएकी थिई। म बाथरुम गएँ, फर्किंदा उसको अनुहार मूर्तिकी कालीको जस्तो देखिएको थियो। उसको हातमा थियो, मेरो आइडी कार्ड।

'ह्वाट द फ...!' उसले 'फ'बाट आउने अंग्रेजी गाली करिब बीसपल्ट भट्ट्याई।

उसले म बिषादी भएको थाह पाइसकेकी थिई। मेरो संसार ध्वस्त भइसकेको थियो। म शिर निहुराएर उभिरहेँ।

उसले चर्को स्वरमा भनी, 'ओह गड, किस मात्रै गरेँ। अझ अगाडि भएको भए। बिषादी... आई किल यु।'

उसले कोठामा थुनिएको बिरालोले रुद्रघन्टीमा झम्टेझैं झम्टी। म त बच्न खोजेको हुँ तर मुक्कै हानेछु। गालामा जोडदार मुक्का खाएर ऊ ढली। मैले नै उठाएँ। ऊ सुन्निएको दायाँ गाला लिएर घर गई। म केही दिन सहरबाट लापता भएँ। पोखरातिर गएको थिएँ। फर्किंदा मेरो उमेर चार महिनाको भैसकेको थियो। म उता पोखरा गएँ, यता काठमान्डुमा पुलिसले मेरो मिनरल वाटरको कारखानामा छापा मारेछ। र, सिल गर्देछ। किनभने, मेरो कम्पनीका पानी खाएर पैतीस अर्गानिकहरू बेहोस भएछन्। पुलिस मलाई खोज्दै रैछ।

मेरी प्रेमिकाका आफन्तले पनि भुइँपाताल मलाई खोजिरहेका रैछन्। मैले फ्ल्याट छाडेँ र ढल बग्ने अध्याँरो कोठाको शरण लिएँ। बिषादी मित्रहरूले भनेझैं म साँच्चिकै देवदासजस्तो भइसकेको थिएँ।

म चारैतिरबाट भताभुंग भइसकेको थिएँ।

***
म पाँच महिनाको हुँदा हामी ठमेलको एउटा क्याफेमा बसेर बियर पिइरहेका थियौं। चारैतिर अर्गानिकहरूले चुरोटको धुवाँ फैलाएका थिए। अर्गानिकहरूको बीचमा हामी चारजना बिषादीमात्र थियौं। म्यानेजर पनि बिषादी भएकोले हामीलाई सजिलो थियो।

मेरो मित्र कल्याण छट्पटिएको थियो। उसले मार्क्सझैं दाह्री पालेको थियो। ऊ हामीभन्दा जेठो थियो- सोह्र महिनाको। उसले एक गिलास बियर स्वाट्ट पारेपछि भन्यो, 'म त निरास भइसकेँ। यो मुलुकको क्यै हुनेवाला छैन। डेढ महिनाको हुँदादेखि राजनीतिमा लागेको हुँ। छ महिनाको हुँदा सारा राजनीति बुझेँ। मलाई थाह छ, राजनीतिलाई गालीमात्र गर्ने होइन, सुधार्ने पनि हो। तर, यो देशले नियमको नेल ठोकेको छ, हाम्रो गोडामा।'

'कस्तो नेल?' प्रलयले सोध्यो। ऊ छ महिनाको भयो। नामभन्दा फरक कवि बन्न चाहन्छ।

'मैले सोचेको- झुर नेतालाई चुनावमा हराउँछु, भोट राम्रोलाई हाल्छु। के गर्नु, अझै भोट हाल्न सोह्रसत्र वर्ष कुर्नुपर्छ। बल्ल त सोह्र महिनाको भएँ। म त भोट हाल्नै नपाई सुसाइड गर्छु कि क्या हो।'

'टेन्सन लेनेका नही देनेका,' प्रमोदले भन्यो। बिचरा आफैं चारैतिरबाट टेन्सनले घेरिएको छ।

'टेन्सन त छैन यार,' कल्याणले आफ्नो मार्क्सदाह्री कन्यायो, 'हिजो एउटा दलाल भेटिएको थियो। ऊ भन्दैथ्यो, चिन्ता नगर, अलिकति पैसा जम्मा गर। सिडियो कार्यालयबाट म नागरिकता बनाइदिउँला, पूरै अर्गानिक। अनि यै चुनावमा भोट हाल्नू।'

'ए, त्यस्तो पनि मिल्दो रैछ?' म आश्चर्यचकित भएँ।

'के मिल्दैन!' कल्याणले गिलासमा बियर खन्यायो, 'आखिर पाँचछ महिना त राजनीतिमा लागेकै हुँ। त्यत्रो समयमा म त्यसै फर्के हुँला! मेरो छातीभित्र पूरै देशको रहस्य छ, ब्रदर।'

'तैपनि यसपालि अलि प्रोब्लम हुन्छ नागरिकता बनाउन,' कल्याणले दाह्री कन्यायो, 'कानुन मन्त्री अलि कडा छ। अर्गानिक न हो।'
'अब तिमी नै चुनाव लड र बन बिषादी कानुन मन्त्री,' प्रलय हाँस्यो, 'हामी बिषादीको कल्याण होला।'

'एई बिषादी कवि, ठट्टा होइन। म बिषादी भए पनि पूरै अर्गानिक भइसकेँ। मलाई कम नआँक। बरु कविता सुना त!'

'सुनाउनु र?'

'सुना न साले... तेरो बिषादी कविता,' प्रमोदले भन्यो, 'त्यै अर्गानिककै बारेमा त लेखेहोलास्। हेल्मेटले पिटाइ खाको बिर्सेको त छैनस् होला?'

प्रलयले लजाउँदै पर्स झिक्यो। ठ्याक्कै कन्डमजस्तो कागजको पोको झिक्यो र, फुकायो। उसको बिषादी कविता सुरु भयो-अर्गानिक मायालु

नजाऊ टाढा टाढा
बिषादीको माया छ गाढागाढा
हेर, लौका कत्ति हलक्क बढेको छ
हेर, रायोको साग हात्तीको कानजत्रो छ
हेर, एक महिनापछि पनि मेवा उस्तै हरियो छ
अर्गानिक माया त चाँडै ओइली झर्छ
बिषादी माया त सधैं हराभरा हुन्छ।

वाह वाह... हामीले ताली पिट्यौं। प्रलयले हाँस्दै शिर निहुरायो। त्यसै बेला रेस्टुरेन्टको अर्को कुनाबाट चर्को आवाज आयो, 'साले बिषादीहरू, कुकुरझैं नभुक। नत्र, बत्तिसी हातमा आउलान्!'

कल्याण जुरुक्क उठ्यो। उसले चारैतिर हेर्यो। गाली गर्ने मान्छे चिनिएन। कल्याणलाई रिस उठ्न समय लाग्दैन। ऊ एक्कासि झम्टिन पुग्छ। मलाई भने डर लागिरहेको थियो। हानथाप भयो भने त पुलिस आउँछ। मिनरल वाटर कम्पनीको मालिक मै हुँ भन्ने थाह पाए भने त सिधै जेल। फेरि कोही बोलेन। कल्याण टेबुल जोडले ठोक्दै बस्यो।

'यस्तै हो मित्र,' प्रमोदले अमिलो अनुहार लाउँदै सुनायो, 'हामी बिषादीलाई त जसले पनि हेप्छ। म बिषादी भएकैले हजार ठाउँमा हेपिएकै छु। जागिर खोज्न गयो, बिषादी भन्ने थाह पाउनेबित्तिकै बाहिर निकाल्छन्। क्यै नलागेर आर्मीमा भर्ना हुन गएँ। ठूलो चौरमा एउटा करायो, 'बिषादी एकातिर, अर्कातिर अर्गानिक, लाइन लाग्।'

म बिषादीकै लाइनमा लागेँ।

'बिषादीलाई आर्मीमा ठाउँ छैन। बिषादीको मुटु र ज्यान बलियो हुन्न, बुझ्लास्!'

हामी निकालियौं। मलाई थाह थियो, हामीजस्ता कैयौं बिषादी नक्कली अर्गानिक भएर छानिएका थिए। अर्गानिकहरू धाक दिन्छन् तर तिनले पछि थाह पाउनेछन्, सबैतिर बिषादी फैलिसकेका छन्, ती एक्ला हुनेछन्। चिन्ता नलिऊ, कल्याणजी।

यत्ति भन्दै प्रमोद चितिन्त भयो।

'सहीबात!' कल्याणले दाह्री मुसार्यो, 'अब चाँडै हाम्रा दिन आउनेछन्। एउटा अर्गानिक कविले लेखेको छ नि, एक जुगमा एकदिन एकचोटि आउँछ। हाहाहा।'

'के बात, हजुर?' म्यानेजर आइपुग्यो। र, झुक्यो। म्यानेजर कल्याणलाई ठूलै नेता मान्छ। 'हजुर त सभासद हुनुपर्ने' भन्दै एकपल्ट फ्रिमा बियर पनि ख्वाएको थियो।

'त्यै बात। अब चाँडै हामीजस्ता बिषादीका दिन आउँछन्।'

'सानो स्वरमा हजुर,' म्यानेजर डराउँदै चारैतिर हेर्यो, 'ह्याँ म बिषादी भएको थाह भो कि मेरो जागिर गयो। म त अर्गानिक हुँ ह्याँ।'

'देख्यौ?' प्रमोद खिस्स हाँस्यो, 'हाम्रो समूह फैलिँदैछ। नेपाल बिषादी पार्टी खोल्यो भने पनि चुनावमा दसबाह्र सिट त आउँछ।'

'के दसबाह्र सिट, प्रमोदजी?' कल्याणले भन्यो, 'पचास सिट आउँछ, पचास। मान्छे जति अर्गानिक भए पनि मनमा बिषादी त छँदैछ। हाहाहा। ल म्यानेजर, बियर लेऊ।'

खिस्स हाँसेर म्याजेर निहुँरिदै गयो।
***
गृह मन्त्रालयले बिषादी सुई लाएको भनेर केही डाक्टरलाई गिरफ्तार गरेको समाचार पत्रपत्रिकाले छापिरहेको बेला थियो। कल्याणले केही दिनमै पचास हजार तिरेर आफू अर्गानिक भएको प्रमाणपत्र बनाएछ। ऊजस्तो चलाख त कोही लागेन। एकपल्ट मलाई भनेको पनि थियो, 'मित्र, पचास हजार जम्मा गर। तिम्लाई अर्गानिक बनाइदिने जिम्मा मेरो।'

म सडकमा आइसकेको मान्छे, कसरी तेत्रो पैसा पाउनु! मिनरल वाटर कम्पनी सिल भएपछि मेरो सारा जायजेथा डुबेको थियो। म उदास भएर बसन्तपुरतिर घुम्थेँ। बिषादीलाई कसले काम दिने? म बेकामे भएको थिएँ। एकपल्ट बसन्तपुरको क्याफेमा कफी पिएर बसिरहेको थिएँ, एउटी केटी आई।

'बसौं?' उसले भनी।

म हाँसेँ। ऊ अगाडिको सिटमा बसी र सिगरेट सल्काई।

'एनिवे आई एम प्रिती। अर्गानिक।'

'आई एम स्वराज। बिषादी,' मलाई ढाँट्न मन लागेन।

'ओ माई गड!' ऊ हाँसी, 'आई लभ बिषादी पिपल। के हामी साथी बन्न सक्छौं?'

म हाँसेँ।

'सत्य के! बिषादी पिपल क्या ड्यासिङ हुन्छन्। सेक्सी पनि। अबको वर्ल्ड बिषादीको हो। हाम्रो हरेक कुरामा हेर्नुस्... बिषादी मिसिसकेको छ। हामीलाई थाहै नपाई बिषादीको लत लागिसकेको छ।'

'थ्याङक्यु।'

त्यस दिन मोबाइल नम्बर साटासाट भएको थियो तर मलाई आपत आइलाग्यो। मेरो मोबाइल अफका अफ भयो। सायद, उसले फोन गरेकी थिई। त्यसै रात कल्याणले फोन गरेर भनेको थियो, 'सकेसम्म भूमिगत होऊ। आज एउटा अर्गानिकको हत्या भएको छ। पुलिसले सारा बिषादीलाई खोज्दै छोपिरहेको छ।'

'ए ... पुलिसले यस्तो काम पनि गर्छ?' मैले व्यंग्य गरेँ।

'किन नगर्नु, अब मारिएको अर्गानिक। सारा पुलिस अर्गानिक!' कल्याणले भन्यो, 'केही बिषादी मित्र पुलिस फोर्समा भएकाले पनि मैले पहिल्यै थाह पाएको हुँ। के रे अर्गानिक उखान छ नि, हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ। कसैलाई कल नगर्नू। म अरू साथीलाई पनि फोन गर्छु। मामला सकिएपछि म कल गर्छु।'

'कहिले सकिन्छ मामला?'

'चाँडै!' कल्याण हतारमा थियो, 'गृहमन्त्री चेन्ज हुँदैछ। अब हुने गृहमन्त्री बिषादीप्रति ढल्किएको आउँछ, चिन्ता नगर। मैले सप्पै पत्ता लगाइसकेँ।'

उसले फोन काट्यो।

अब म कता भूमिगत होउँ? पुलिसले फेला पार्यो भने त बर्बाद हुन्छ। भलै हत्या मैले गरेको होइन, मिनरल वाटरकै केसले म जेल जान सक्छु।

म पोखरा हिँडेँ।

गृहमन्त्री फेरिएछन्। अचानक नौलो मान्छेलाई गृहमन्त्री बनाएकोमा पत्रिकाले विरोधका धेरै लेख छापेका थिए। गृहमन्त्री भनिरहेका थिए, 'म छत्तीस सालको आन्दोलनमा जेल परेको हुँ। शंका नगर्नुस्। बीचमा म आध्यात्मिक लाइनमा लागेको हुँदा गायबजस्तै भएँ। अब देशसेवामा आएको छु।'

एक दिन लेकसाइडमा घुमिरहेका बेला सादा पोसाकका पुलिसले मलाई घेरे। मेरो आइडी हेरे। अनि गिरफ्तार गरे। भोलिपल्टै काठमान्डु चलान भएँ। काठमान्डुको बिषादी कारागारमा पुर्याइएँ। अर्गानिकहरूका लागि छुट्टै जेल थियो। एकपल्ट एउटै जेलमा राख्दा बिषादी र अर्गानिकको फाइट भएर दर्जनौं घाइते हुँदा छुट्टाछुट्टै जेल बनाइएको थियो।

जेलमै कल्याण, प्रमोद र प्रलय भेटिए। ती त दुई दिनअघि नै समातिएका रैछन्। कल्याणले पुलिससित कुरा गरेर हामीलाई एउटै कोठामा राख्ने व्यवस्था मिलायो।

'जेलनेल पनि भोगिहालेँ,' राति कल्याणले दाह्री मुसार्यो, 'अब त नेता भइनै हालेँ। हाहाहा।'

म भने बेस्मारी छट्पटिइरहेको थिएँ।

प्रलय आँसु पुछिरहेको थियो। उसले अवरुद्ध गलामा भन्यो, 'पुलिसले समात्ने बेला म बाउसितै थिएँ। पुट्ठामा बुटले हाने सालेहरूले। बा रुँदै थिए। निर्दोष छु भन्दाभन्दै ल्याइहाले।'

प्रमोद चिन्तामा कन्चट समाएर बसेको थियो। बिस्तारै भन्यो, 'चिन्ता नलेऊ।'

'होहो... केको चिन्ता?' कल्याणले ताजा आवाजमा भन्यो, 'हेर्दै गर्नू, म तिमेरूलाई ह्याँबाट माला लाएर निकाल्छु, बचन दिएँ। भोलिबाटै म मेरो पावर देखाउँछु। गृहमन्त्री जुस बोकेर यै कारागारमा आउँछ, मलाई भेट्न।'

भोलिपल्ट बिहानैदेखि कल्याण आमरण अनसन बस्यो। 'बिषादी जनताप्रति राज्यको पाशविक व्यवहारको विरोध' नारा थियो उसको। उसको छेउछाउ हामी बसेका थियौं।

'गृहमन्त्री नआए, कहिलेसम्म यसरी बस्ने?' साँझपख प्रलयले सोध्यो।

'नआई सुख्ख?' कल्याणले भन्यो।

साँच्चै, कल्याण महान हो। साँझ सवा छ बजे हुलमुलसहित गृहमन्त्रीको कारागार प्रवेश भो। उनी पनि दाह्रीवाल नै थिए। मुसुमुसु हाँस्दै आए र कल्याणतिर हात बढाए। कल्याणले हात दियो।

'बिषादी मित्रहरू, म तपैंहरूको पक्षमा छु। आखिर तपैंहरू पनि यो मुलुकको नागरिक न हो,' गृहमन्त्रीले चर्को स्वरमा भने, 'जाँचबुझ चल्दैछ। म निर्दोष बिषादीहरूलाई जेलमा सड्न दिन्नँ। कृपया अनसन तोड्नुस्।'

कल्याण हाँस्यो।

र, गृहमन्त्रीले काँपिरहेको हातले सुन्तलाको जुस ख्वाइदिए। कल्याण जुसले भिजेका ओठ पाखुराले पुछ्दै मतिर हेरेर हाँस्यो। गृहमन्त्रीले कुरा गर्नु छ भन्दै उसलाई एकान्तमा लगे। फर्केर आउँदा उसको ओठमा मुस्कान थियो। उसले भन्यो, 'ल त मित्रहरू, म निस्कने भएँ। बाहिर गएर तपैंहरूको पक्षमा लड्छु। चाँडै फूलमाला बोकेर लिन आउँछु।'

'साँच्चै हो?' प्रलयले शंका देखायो।

कल्याणले चारैतिर हेर्यो। र, हामीलाई आफ्नो मुख नजिक कान ल्याउने इसारा गर्यो। हामीले त्यस्तै गर्यौं र उसले हाम्रो कानमा बिस्तारै भन्यो, 'साँच्चै गृहमन्त्रीज्यू,हाम्रो पक्षमा हुनुहुन्छ। किन, थाह छ?'

हामीले शिर दायाँबायाँ हल्लायौं।

कल्याण खिस्स हाँस्यो, 'उहाँ पनि बिषादी नै हुनुहुँदो रैछ।'

'पत्रिकाले त अर्गानिक लेख्याथ्यो,' प्रमोद छक्क पर्यो।

'पत्रिकाले लेखेर हुन्छ?' कल्याणले गम्भीर हुँदै भन्यो, 'उहाँ त झन् पहिलो लटको बिषादी हो। उहाँ बाहिर अर्गानिक, भित्र बिषादी। तिमेरू राजनीति बुझ्दैनौ।'

हामी अझै छक्क थियौं।

र, कल्याणले बिल्कुल नयाँ भाषा बोल्यो, 'ल त कमरेडहरू, अब मोर्चामै भेटौंला।'
***
जेलमा बस्दाबस्दा म छ महिनाको भइसकेको थिएँ। त्यो अर्गानिकको हत्या कसले गरेको थियो, अझै पत्ता लाग्न सकेको थिएन। एकदिन प्रलयले भावुक हुँदै भनेको थियो, 'मैले त नौ महिनाको उमेरमै कुकुरले नपाएको दुख्ख पाएँ। मान्छेहरू असी वर्षसम्म कसरी बाँच्छन् भन्ने सम्झेरै आङ सिरिंग हुन्छ।'

जेलबाट निस्केपछि, कल्याण हराएजस्तै भयो। भेट्नै आएन। हाम्लाई जेलमा अपडेट हुने मौका पनि दिइएन।

एक दिन प्रमोदले चिन्ता लिँदै भनेको थियो, 'त्यो सालेले हामी बिषादीलाई बिर्स्याे। सालेले रंग फेरेर अर्गानिक भयो। ठिक छ, कुनै चिन्ता छैन।'

तर, एक दिन कल्याण आयो। अघिपछि दुईतीन जना मान्छे थिए। पछि थाह भो, उसका कार्यकर्ता रैछन्। उसले एकछिन हामीलाई नियाल्यो। र, भन्यो, 'सरी है कमरेडहरू, म समाजसेवामा अलि व्यस्त भएँ। म बाहिर बसेर तिमेरूको पक्षमा लडिरहेको छु।'

हामी चुप रह्यौं।

'बाहिर बिषादीहरू ह्वात्तै बढेका छन्। गाँस, बास र कपासमा जताततै बिषादी फैलिसकेको छ। अर्गानिकहरूलाई बिषादीको लत लागिसकेको छ। अहिलेको सत्तामै कैयौं बिषादीहरू पसिसकेका छन्। एक दिन टुँडिखेलमा कार्यक्रम आयोजना गरेर आफू बिषादी भएको घोषणा गर्ने कार्यक्रम छ। त्यसपछि हेर्नू, अर्गानिकहरूको हाल के हुन्छ?'

हामी मख्ख पर्यौं।

'ल, म गएँ। अर्को हप्ता फूलमाला लिएर आउँछु। कमरेडहरूले बिषादी जनताको न्यायका निम्ति जुन जेलनेल भोग्यौ, त्यसको मूल्यांकन हुन्छ।'

'हामीलाई ह्याँबाट बाहिर निकाल, अरू केही चाहिन्न,' मैले भनेँ, 'नगरेको योगदानको फाइदा लिने हामी अर्गानिक हो र!'

कल्याण हाँस्यो र उठ्यो।

'ल त कमरेडहरू, म लागेँ,' कल्याणले दह्रोसँग हात मिलाउँदै भन्यो, 'तिमेरू बाहिर निस्कँदासम्म संसार बिषादीको भैसक्नेछ।'

कल्याणले भनेजस्तै, अहिले राजधानीबाट बढ्दै गएको बिषादीको 'गरिमा' गाउँगाउँसम्म फैलिसकेको छ रे। बिषादी युवाहरू अर्गानिक युवतीका लागि गायक, नायक, लेखक र खेलाडीजस्ता सेलिब्रेटी भइसकेका छन्।

कल्याणले हिजो सानो चिट पठाएको थियो, आफू व्यस्त भएर होला। जसमा उसले किरिङमिरिङ अक्षरमा लेखेको थियो-
कमरेडहरू,
म शनिबार फूलमाला लिएर आउँदैछु। माला बनाउन मैले हिजो फूल रोपेको थिएँ, आज त आकाश छोप्ने गरी फुलेका छन्। बिषादी फूल न हुन्। हामीले चिनेका कैयौं अर्गानिकहरू आफू बिषादी भएको प्रमाण देखाइरहेका छन्। अर्गानिक त फाट्टफुट्टमात्रदेखिन्छन्। हामीले विजय प्राप्त गर्यौं।

बधाई।

(साभार : लेखककाे फेसबुकबाट)

प्रकाशित मिति: : 2021-05-30 07:13:00

प्रतिकृया दिनुहोस्