पत्रकार काशीराम डाँगीलाई वर्षमानकाे धम्की, पत्रकार महासंघ मौन

धम्कीप्रति प्रेस चौतारी नेपालको आपत्ति

Breaknlinks
Breaknlinks

प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घ रोल्पा शाखाका संस्थापक सभापति एवं कान्तिपुर दैनिकका पत्रकार काशीराम डाँगीको सामाजिक सञ्जालको प्रयोगबाट चरित्र हत्या भएको विषयमा आपत्ति जनाएको छ।

चौतारीका कार्यबाहक महासचिव हीरामान लामाले प्रेस विज्ञप्ति जारी गरी पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सामाजिक सञ्जालको प्रयोग गरी डाँगीको चरित्र हत्या गरेको उल्लेख गर्दै सोको विरोध जनाएका हुन्।

रोल्पामा अक्सिजन सिलिण्डर बिक्री वितरण गरेको विषयको समाचारलाई लिएर पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नामै किटेर चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण आक्रोश व्यक्त भएको भन्दै चौतारीले निन्दा गरेको छ। ‘‘मोफसलको पत्रकारिताको विकासका लागि अनवरत रुपमा खटिरहेका डाँगीमाथि भएको योजनाबद्ध हमला कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर मानसिक दबाब दिँदै व्यक्तिगत चरित्र हत्या गर्नेमाथि छानविन गरी कारबाही गर्न माग गर्दछौँ,’’ विज्ञप्तिमा भनिएको छ।

चौतारीले उक्त घटनामा महासङ्घको केन्द्रीय नेतृत्व मौन रहेकामा चिन्ता पनि प्रकट गरेको छ। पूर्वमन्त्री पुनको व्यवहारप्रति पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ समेत मौन अत्यन्तै दुःखीत तुल्याएको विज्ञप्तिमा छ।

'एक जना श्रमजीवी पत्रकारमाथि सरकारी उच्च ओहोदामा पुगिसकेका व्यक्तिले योजनाबद्ध रुपमा लगाएको गम्भीर आरोपप्रति श्रमजीवी पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ जिम्मेवार बन्नु पर्दैन ? यो राजनीतिक र व्यक्तिगत विषय हो भन्दै उम्किन मिल्छ ? निष्पक्ष, निर्भिक र स्वतन्त्र पत्रकारितामाथि नै आँच पु-याउने गरी लगाइएका लाञ्छना सैह्य हुन सक्दैन', विज्ञप्तिमा छ।

पत्रकार डाँगीको चरित्र हत्या गर्ने पक्षमाथि कारबाहीका लागि दवाव सिर्जना गर्न आम सञ्चारकर्मी, नागरिक समाज, बुद्धिजीवी, मानव अधिकारकर्मीलगायत राज्यका सबै तह र तप्काका अधिकारीहरुसँग चौतारीले अनुरोध समेत गरेको छ। 

प्रकाशित मिति: : 2021-05-29 17:09:00

प्रतिकृया दिनुहोस्