कोरोना महामारीको दोस्रो लहरका कारण देश बन्द छ। संसार नै बन्दी बनाउने यो महामारीको सन्त्राशले आम नागरिक घरभित्रै बास्न बाध्य छन्।
एक महिनाभन्दा लामो निषेधाज्ञा जारी हुँदा पनि कोरोना संक्रमण घटेको छैन। ज्यान गुमाउनेकोहरु पनि पहिलो लहरभन्दा चार गुणाभन्दा बढी छ। कोरोना महामारीको कारण आम–नागरिकको दैनिकी कष्टकर बन्दैगएको छ।
निषेधाज्ञाका कारण बुटवलकी ३५ वर्षीया सरस्वती चौधरीको दैनिकी कठिन बन्दै गएको छ। उनले काम गर्दै आएको होटेल बन्द भयो। उनी कामबिहीन बनिन्।
करिब पाँच वर्षदेखि बुटवल गोलपार्कको एक होटलमा काम गरेर दैनिकी चलाउँदै आएकी उनलाई यतिबेला साँझ–बिहान कसरी चुलो बाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।
दुई सन्तानकी आमा सरस्वतीका पतिको पाँच वर्षअघि क्यान्सर लागेर मृत्यु भएको थियो। श्रीमानले सदाका लागि छाडेर गएपछि सरस्वतीको जीवन संघर्षपूर्ण भयो । कोरोना महामारीपछि रोजगारी पनि गुम्यो । अनि त हातमुख जोड्नै समस्या भएको छ ।
‘निषेधाज्ञासँगै काम गरिरहेको होटल बन्द भयो। अहिले काम पनि छैन्, पैसा पनि छैन्।
के खाने भन्ने चिन्ताले सताउन थालेको छ,’ सरस्वतीले भनिन्, ‘केही दिन पहिला एक जनाले राहत भनेर चामल–दालले अहिलेसम्म छाक टरेको छ। त्यो सकिएपछि के गर्ने, थाहा छैन।’
अहिले सरस्वतीे कोरोना महामारी रोकिन्छ र साहुले काममा बोलाउलान् भन्ने प्रतीक्षामा छिन्। आधा पेट खाएर दिन काटिरहेकी छिन्।
सरस्वती त प्रतिनिधि पात्र मात्रै हुन्। कोरोना महामारीपछि सिर्जित असहज परिस्थितिका कारण लाखौं मजदुरहरुको दैनिकी कठिन बन्दै गएको छ। सरकारले भने यो अवस्थामा पनि राहतको बन्दोबस्त गर्न सकेको छैन । प्रतिपक्षी दलहरु सरकार ढाल्ने खेलमा गठबन्धन गरेर लागेका छन् । सरकारको ध्यान कुर्सी जोगाउनमा केन्द्रित छ ।
स्थानीय प्रशासनले कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञालाई थप कडाइ गर्दै लगेको छ तर रोजगारी गुमाएका नागरिकका लागि कुनै राहत ‘प्याकेज’ ल्याउन सकेको छैन। अनि श्रमजीवी गरिबहरु नागरिकहरु रोगसँग मात्र होइन, भोकसँग पनि लडिरहेका छन्।
गत वर्ष कोरोनाका महामारीका कारण लामो समयसम्म ‘लकडाउन’ हुँदा मजदुरहरु भोको पेट लिएर सडकमा आउनुपरेको थियो। समस्यासँग जुध्न नसकेर कतिले त आत्महत्या समेत गर्नुपरेको थियो।
पोहोर सालको कोराना महामारीमा भोको पेट घरमै थुनिन बाध्य भएका नागरिकहरु फेरि त्योभन्दा जटिल अवस्थामा पुगेका छन्। कोरोनाको असर पहिलो लहरमा भन्दा पनि जोखिमपूर्ण छ । व्यापार व्यवसाय ठप्प भएका कारण लाखौंको रोजीरोटी खोसिएको छ। कहिले निषेधाज्ञा खुल्ला, अनुमान गर्नसक्ने अवस्था छैन।
दैनिकी चलाउन बाहिर जाऊँ भने रोग लाग्ला भन्ने डर ! घरभित्रै बसौँ, भोकले मरिएला भन्ने डर ! हुनेखानेलाई त जति नै निषेधाज्ञा भए पनि कुनै समस्या नहोला तर हुँदा खानेहरु समस्यामा परेका छन्।
कोरोनाको डरभन्दा भोकको चिन्दा ठूलो भएको स्वरस्वती बताउँछिन्। ‘दैनिक दुई छाक खान त गाह्रो अवस्था छ। अब त एक छाक खान पनि नसकिएला भन्ने डर लागेको छ।’
पोहोर साल ‘लकडाउन’ हुँदा राहत वितरणमा जनप्रतिनिधि सक्रिय थिए तर यसपटक भने बजेट अभावको कारण देखाएका छन् स्थानीय सरकारका प्रतिनिधिले । गाउँका नेता पनि पन्छिरहेका छन् यसपालि। सरस्वतीलाई पनि जनप्रतिनिधि राहत लिएर आउलान् भन्ने आश लागेको थियो तर कोही आएनन् ।
सङ्कटको बेला सरकार नागरिकप्रति जिम्मेवार बन्नुपर्छ तर अहिले सरकारलाई नागरिकका कुरा सुन्ने फुर्सद छैन। नागरिकलाई घरभित्र बस्न लगाएर सरकार कोरोना प्रभावितलाई बचाउन लाग्नुपथ्र्यो ।सरकारको ध्यान मात्रै सत्ताको खेलमा छ।
सरकार, तिम्रो सत्ताको खेलका कारण जनताले कहिलेसम्म सास्ती खेप्नुपर्ने हो ? जनता भए न तिमी नेता हुने हो । तिम्रो प्रधानमन्त्री र मन्त्री पद रहने हो। यदि जनता नै रहेनन् भने देश के होला?
सबैभन्दा अमूल्य भनेको जनताको जीवन हो। त्यसैले सरकारले कोरोना महामारीको नियन्त्रसँगै आमनागरिको दुःखकष्ट पनि बुझ्ने कोशिश गरोस्।
जनता भोकै बस्नु परेन भने, सजिलै उपाचार भए भने बल्ल देशको संविधानमा लेखेको ‘समाजवाद–उन्मुख’ व्यवस्था आएछ भन्ने महसुस गर्ने छन्।