मानिस, कुखुरा र मुसासम्म जाेडिएकाे काेराेना इतिहास

विजय बस्नेत

काठमाडौँ
Breaknlinks
Breaknlinks

कुनै पनि जीव, परजीवीले आफू बाँच्न र आफ्नो प्रजातिको अस्तित्व बचाउन अनेक संघर्ष गर्दै अघि बढेका हुन्छन्। जसलाई चाल्र्स रोबर्ट डार्विनले 'विकासवादको सिद्धान्त'मा ब्याख्या गरे।

डार्विनले 'सर्भाइभल अफ द फिटेस्ट'लाई जैविक प्रक्रियाको अवधारणामा व्याख्या गरेका छन्। साथै अन्य वैज्ञानिकहरुले पनि आ–आफ्नै सिद्धान्तमा व्याख्या गरेका छन्।

मानव प्रजातिले अहिले आफ्नो विकासक्रम एकदमै बलियो बनाउदै अघि बढिरहेको छ। तर कहिलेकाहीँ मानव प्रकृयालाई झस्काउन  कुनै जीव, परजीवी तथा भाइरसहरुले आफ्नो अस्तित्वको संघर्ष अघि बढाउने गर्दछन्। वर्तमान परिस्थितिमा कोरोना भाइरसले मानवजातिलाई ठूलो चुनौती दिइरहेको छ।

कोरोना भाइरसको इतिहास धेरै लामो भने छैन। तर यस भाइरसले आफ्नो अस्तित्व विभिन्न जीवहरुमा फरक फरक रुपमा बचाउदै आएको छ।

सन् १९३० मा सबैभन्दा पहिले कोरोनाकाे रुप कुखुरामा भेटिएको थियो। यस्तै सन १९४० मा मुसामा पनि देखा पर्याे। मानिसमा भने सन् १९६० मा देखिएकाे हाे। कोरोनाको रुप पत्ता लागे पनि यसलाई नामाकरण गरिएको थिएन।

सन् १९६४ मा स्कटल्याण्डकी जून अल्मेडाले पहिलो पटक गहन अध्ययन गर्दै कोरोना भाईरसलाई आधिकारिक रुपमा सार्वजनिक रुपले वर्णन गरिन्। उनले लण्डनको सेन्ट थोमस अस्पतालमा रहेको ल्याबमा यो भाईरस पत्ता लगाएकी थिईन्। अल्मेडाले  परिक्षण गर्दा भाइरस 'इन्फ्लुएन्जा' जस्तै देखिए पनि त्यसभन्दा केही फरक रहेको बताइन्। यो भाइरस जस्तो कण पहिले उनले मुसामा हुने 'हेपाटाइटिस' र कुखुरामा हुने सङ्क्रामक रोग 'ब्रोन्काइटिसमा' देखेकी थिईन्। भाइरसको गलत तस्बिर र प्रचार प्रसार सार्वजनिक गरेको भन्दै उनको धेरै आलोचना भयो। तर सन् १९६५ मा ब्रिटिस 'मेडिकल जर्नल अफ जनरलमा' बी–८१४ भाइरसको तस्बिरका साथ प्रकाशित भएपछि सबैले विश्वास गर्न थाले।

त्यसपछि डा.टायरल, डा.अलमेड, र सेन्ट थोमस मेडिकल संस्थानका इन्चार्ज प्रोफेसर टोनी वाटरसनको समूहले भाइरसको सम्पुर्ण वनावट अध्ययन गरे। अध्ययन पछि भाइरसको नाम कोरोना भाइरस राखियो। भाइरसको चित्रमा मुकुट वा घेराहरु देखिएका कारणले यस्तो नाम राखिएको थियो। यस भाइरसको बारेमा थप अध्ययन अनुसन्धान अघि बढ्दै गए।

सन् २००२ को अन्त्यतिर चीनमा सार्स (SARS : Severe Acute Respiratory Syndrome)  नामक भईरस देखा पर्याे। सार्स भाइरस वनमा पाइने सानो बिरालोबाट मानवमा प्रवेश गरि सङ्क्रमण फैलाएको थियो।  यो भाइरस सन् २००३ फ्रेब्रुअरीमा विस्तारै विश्वका केही देशमा फैलन थाल्यो। छिट्टै यो भाइरस २९ बढि देशमा फैलियो। यो भाइरसलाई कोरोना भाइरसकै रुपमा राखेर अध्ययन गरियो।

यस भाइरसको 'इन्क्युबेशन' अर्थात सक्रिय अवधि सामान्य २ देखि ७ र बढिमा १० दिनको रहेको थियो। २००२ को अन्त्यमा शुरु भएको यो भाइरस २००४ मा अन्त्य भएको थियो। यस भाइरसले विश्वका २९ बढि देशमा करिब ८००० बढिमा सङ्क्रमण गराएको थियो। यसको सङ्क्रमणबाट ८०० बढिको मृत्यु भएको थियो। यो भाइरसले सङ्क्रमित भएका १० % को ज्यान लिएको थियो।

यस्तै सन् २०१२ मा मर्स (MERS – COV : Middle East Respiratory Syndrome Coronavirus) नामक भाइरस साउदी अरेबियाबाट शुरु भयो। यसलाई पनि कोरोनाकै विस्तार मानियो। यो भाइरस उँटहरुबाट मानिसमा फैलिएको थियो। विस्तारै यो विश्वका २७ बढि देशमा फैलिएको थियो। तिब्र सचेतना बढाएर यो भाइरस नियन्त्रनमा राखियो। अझै कहीकतै यसका केसहरु भेटिने गरेका छन्। यस भाइरसले करिब २४०० बढि मानिसमा सङ्क्रमण गराएको र ६०० बढिको ज्यान लिएको थियो।  यो भाइरसले सङ्क्रमित  भएका ३५% को ज्यान लिएको थियो।

परजीवी तथा भाइरसहरुले आ–आफ्नो अस्तित्व मौसम तथा पारिस्थितीक प्रणालीमा फेरबदल हूँदा देखाउने गर्दछन्। कति मानवीय कारणले सिर्जित हुन्छन् त कति प्राकृतिक रुपमा सिर्जित हुने गर्दछन्। परजीवी तथा भाइरसहरुको इतिहास मानव प्रजातिको भन्दा लामो रहेको छ। बेला बेलामा सक्रिय हुँदा पारिस्थितीक प्रणालीमा ठुलै हलचल मच्चाउने गर्दछन्। अहिले फेरि मानिसलाई चुनौती दिन कोरोनाको नयाँ रुप चीनबाट सिर्जित भएको छ।

चीनमा सन् २०१९ नोभेम्बर १७ मा कोरोनाको पहिलो केस फेला पर्याे। चीनले यस कुरालाई वेवास्ता गरेर बाहिर सार्वजनिक गरेन। चीनका डाक्टर लि वेनलियान्ग (Dr.Li Wenliang) ले पहिलो पटक कोरोनाको केस फेला पारेका थिए। उनकोमा जचाउन आएका सङ्क्रमितलाई चेक गर्दा उनले कोरोना भाइरसको पहिलो केस फेला पारेका थिए। सन् २०१९ डिसेम्बरको अन्तिम साता लाग्दा कोरोना लागेका ७ सङ्क्रमितको पुष्टि भयो। डा.लि ले २०१९ डिसेम्बर ३० मा आफ्नो ग्रुपमा कोरोनाको सङ्क्रमण देखिएको र यसले भविष्यमा ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने भन्दै सामाजिक संञ्जालमा पोष्ट गरेका थिए। उनको त्याे पोष्टमा चीनका सरकारी निकायले छिटो आँखा लगाए। परिणामस्वरुप डा. लिलाई ३ जनवरी २०१९ मा पक्राउ गरियो।

सामाजिक सञ्जालमा अफवाहको समाचार फैलाएको भन्दै टर्चर दिदै विभिन्न कुरामा उनलाई हस्ताक्षर गर्न लगाएको कुरा बाहिर आयो। उनलाई पुर्ण बन्देज लगाउदै चीनले कोरोनाको सबै कुरा लुकायो। डा. लि ले कोरोनाका केस पुष्टि गर्दै सार्स (SARS) फैलिएको बताएका थिए। कोरोनाको कुरा लुकाएपछि सङ्क्रमणले तिब्रता पायो।  

२०२० जनवरी ५ मा यस भाइरसको सङ्क्रमणबाट चीनमा पहिलो व्यक्तिको मृत्यु भयो। त्यसपछि शुरु भए कोरोनाका प्रश्नहरु। तर प्रश्नका उत्तर खोज्न ढिलो र गाह्रो भैसकेको थियो। विस्तारै कोरोनाको सङ्क्रमण विश्वभरीमा नै अदृश्य रुपमा फैलदै गयो। कोरोना कहाँबाट फैलियो भन्ने ठोस प्रमाण अहिले सम्म कसैले पनि फेला पार्न सकेका छनैन्। यो भाइरस चीनको वुहान शहरको एक पशुपंक्षी व्यापार हुने केन्द्रको एक होलसेल पसलबाट फैलिएको तथ्य सार्वजनिक भयो।

धेरै देशले यो तथ्य गलत भएको बताउदै आएका छन्। विस्तारै वुहानमा कोरोनाको सङ्क्रमण उच्च हुन थाल्यो। लगतै २०२० जनवरी २३ मा विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गर्याे। त्यसपछि चीनबाट हुने यात्रा, व्यापार लगाएतका अन्य कुराहरुमा प्रतिबन्ध लगाउदै विश्वका कयौँ देशहरुले सचेतना अपनाउन थाले।

अध्ययन गर्दै जाँदा नयाँ कोरोनाको नाम सार्स–कोभ–२ (SARC-COV-2) अर्थात २०१९ नोभल कोरोना भइरस (2019-nCOV) र कोभिड–१९ (COVID-19) राखियो। यो भाइरस पहिले देखिएको भन्दा शक्तिशाली भएको र मानिसमा संङ्क्रमण बढाउने उच्च भाइरस भएको पत्ता लाग्यो। विश्व स्वास्थ्य संगठनले पनि यो भाइरस व्यापक रुपमा फैलन सक्ने सम्भावना राखेको थियो। कोरोना भाइरसमा आनुवंशिक संरचना आर एन ए (RNA) भएका भाइरस अर्थात बिषाणुहरु हुने हुँदा यो शक्तिशाली भाइरसको रुपमा छिटो फैलने गर्दछ। यसमा ३० हजारभन्दा बढि जेनेटिक सङ्केत हुने गर्दछन्। जसले गर्दा कोभिड–१९मा म्युटेशनको प्रकृया छिटो हुने सम्भावना हुन्छ।

विस्तारै कोभिड–१९ को महामारीले विश्मा विकराल रुप लिन थाल्यो। २०२० फ्रेबुअरी ७ मा कोभिड–१९ पत्ता लगाउने डाक्टर लि वेनलियान्गको कोरोनाकै कारण वुहानको अस्पतालमा मृत्यु भयो। त्यसपछि कोभिड–१९ झन् रहस्यमय भयो र विश्का कयौँ देशहरुमा लकडाउन शुरु भयो। महामारी चरम बिन्दुमा पुग्दै गयो। कोभिड–१९ का सङ्क्रमितहरु निको हुने दर बढि भएपछि स्वास्थ्यका केही मापदण्डहरु बनाएर सचेतनाका कार्यक्रमहरु शुरु भए। कोरोनाका मुख्य लक्षणहरुमा उच्च ज्वरो, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षण देखा पर्दछन्। भाईरसले सामान्य लक्षणबाट जटिल निमोनियाको समस्या गराउने गर्दछ।

अध्ययन अनुसन्धान तिब्र हुदै गएपछि कोभिड–१९ का खोपहरु परिक्षण हुन थाले। २०२० डिसेम्बर ३१ मा विश्व स्वास्थ्य संगठनले 'फईजर/बायोएनटेक' कोभिड–१९ (एम आर एनए भ्याक्सिन) (BNT162b2) लाई आपतकालिन प्रयोगका लागि सूचीकृत गरेको थियो। जुन आपतकालिन प्रयोगका लागि सूचीकृत गरेको पहिलो खोप बन्यो।

पछि अन्य खोप कम्पनीहरुलाई पनि सूचीकृत गरियो। कोभिड–१९ को खोप सम्पुर्ण विश्वका देशहरुलाई स्वच्छ  र स्वस्थ रूपमा राख्न विश्वव्यापी सहकार्य 'कोभ्याक्स' बन्याे। जो विश्व स्वास्थ्य संगठनको मातहातमा रहेर काम गर्छ। यस सहकार्यले कोभिड–१९ को परिक्षण, उपचार, खोपको विकास, उत्पादन र समतामुलक पहुँचलाई अघि बढाएर कार्य गर्ने गर्दछ। कोभ्याक्स अभियानबाट खोप प्राप्त गर्ने पहिलो मुलुक घाना बन्यो।

खोपहरुले रोग लगाउन सक्ने भाईरस, ब्याक्टेरिया वा अन्य माइक्रो अर्गानिज्म जस्ता संङ्क्रामक एजेन्टको नक्कल गरि प्रतिरक्षाको काम गर्ने गर्दछन्। यी खोपहरुले शरिरको प्रतिरक्षा प्रणालीलाई द्रुत तथा प्रभावकारी तरिकाले ती एजेन्टहरुको विरुद्धमा लड्न ठूलो सहयोग गर्दछन्।

कोभिड–१९ का खोप अन्य भाईरसहरुका भन्दा छिटो बनेकाे बिज्ञहरु बताउँछन्। सम्पुर्ण भाइरसहरुको अध्ययन र अनुसन्धान भइरहेकाले कोभिड–१९ का खोप बनाउन सहज भएको हो। खास गरेर भाइरसको जीनोम अनुक्रमण (Genome Sequencing) का संरचनाहरुबाट भाइरसका गुणहरु पत्ता लगाउने गरिन्छ। जसभित्र सबैभन्दा ठूलो आनुवंशिक संरचना (Genetic Structure) हुने गर्दछ।

अहिले विज्ञान र प्रविधिले गर्दा धेरै कुराहरुकाे अध्ययन अनुसन्धान तिब्र हुने गर्दछन्। त्यसैले गर्दा कोभिड–१९ का थुप्रै खोपहरु विकास भएका छन्। केही हुँदैछन्। अहिले कोभिड–१९ को महामारी अन्त्य गर्न विभिन्न कम्पनी तथा देशहरुले खोपहरुको विकास गरिरहेका छन्। जुन खोपहरु विश्व स्वास्थ्य संगठनले विस्तार गर्न अनुमति दिईसकेको छ। जसमा 'अक्सफोर्ड–एस्ट्राजेनेका', 'फाईजर–बायोटेकु', 'स्पुतनिक–भि', 'मोडरना', 'सिनोफर्म–BBIBP', 'जाँनसन र जोसन', 'कोरोना भ्याक', 'कोभ्याक्सीन', 'कन्भिडेसिया (Convidecia)', 'स्पुतनिक लाईट', 'सिनोफर्म WIBP( Sinopharm WIBP)', ई पी भ्याक कोरोना (EpiVacCorona)  जस्ता खोप क्रमशः १४२,९३,६९,५२,५०,४७,३२,१४,४,४,३ र २ वटा देशमा प्रयोगमा आइसकेका छन्। साथै नयाँ खोप कम्पनीहरुले पनि खोप उत्पादन कार्यलाई तिब्र पारिरहेका छन्।

खोपको पुरा डोज लगाउँदा ७५ देखि ९७ प्रतिशत सम्म प्रभावकारी हुने विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छ। कोरोना कुन उमेरकोलाई बढी देखिन्छ ? कति मृत्युदर गराउँछ ? कस्तो ठाउँमा बढी देखिन्छ ? जस्ता विषयको अध्ययन र अनुसन्धान भईरहेका छन। तर पुर्ण तथ्याङ्क भने कोरोना नियन्त्रण भएपछि मात्र पत्ता लाग्ने छ।

मानव अस्तित्वको लागि अहिले हामी कडा रुपमा प्रस्तुत हुँदै आएका छौँ। विज्ञान र प्रविधिलाई अघि बढाउदै मानवको अस्तित्वमा बाधा पुर्याउने जीव, परजीव तथा भाइरसहरुलाई पन्छाउदै अघि बढिरहेका छौँ। त्यस्तै कोभिड–१९ लाई हराउन विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौँ। तर हाम्रो संघर्षमा चुनौती दिदै कोभिड–१९ ले पनि तिव्र रुपमा अवस्था भयावह बनाउँदै छ। कोरोनालाई नियन्त्रण गर्न खोप तथा औषधि बनाए पनि त्यती प्रभावकारी भएका छैनन्। जति हामिले सोचेका थियौँ।

कोभिड–१९ विकासवादको सिद्धान्त अनुसार अघि बढिरहेको छ। हामी कोभिड–१९ बाट मुक्त हुने प्रयास गरिरहेका छाै। कोभिड–१९ ले जिनोम अनुक्रमण र आनुवंशिक संरचनाबाट करिब ४० बढी ठुला स्ट्रेन फेरिसकेको छ। जसले मानव प्रविधिलाई चुनौती दिइरहेको छ। अहिले कोभिड–१९ का म्युटेशन प्रकृया तिब्र रुपले भइरहेका छन्। जसले गर्दा नयाँ-नयाँ कोरोनाका भेरियन्ट विश्वभरी फैलिरहेका छन्। जुन वुहानबाट फैलिएको कोभिड–१९ का म्युटेशन रहेका छन्।

सबैभन्दा बढी युके भ्यरियन्ट B.1.1.7 र B.1.1.318 सक्रिय देखिएका छन्, जुन २०२० सेप्टेम्बरमा देखिएका थिए।  साथै दक्षिण अफ्रिकी B.1.351 र 501.V2, 'युनाइटेड स्टेट्स' B.1.429 , 'इन्डिया' B.1.617, 'युके–डेनमार्क' B.1.525 र 'ब्राजिलियन' P.1 जस्ता भ्यरियन्टहरु पनि निकै सक्रिय रहेका छन्।

यी संगै अन्य भ्यरियन्टहरु पनि भेटिरहेका छन्। यी भ्यरियन्टहरुले पनि म्युटेशन तिब्र रुपमा बढाइरहेका छन्। भारतमा 'डबल' E484Q र L452R र 'ट्रिपल' E484Q, L452R र P614R म्युसटेशनले प्रभाव पारिरहेका छन्। कोभिड–१९ यसरी नै फैलिरहेकाे छ। तत्काल कोरोना नियन्त्रणमा आउन सक्ने सम्भावना कम देखिन्छ। इतिहास हेर्ने हो भने कुनै पनि भाइरसहरु तत्काल नियन्त्रणमा आएका देखिदैनन्। त्यसैले कोरोनाको महामारीलाई हामीले सचेतना, स्वास्थ्य अवधारणा र जीवनशैलीमा फेरबदल गरेर नियन्त्रण गर्नुपर्छ। मनोबल बढाएर सकारात्मक तरिकाले अघि बढ्नुपर्छ। 



'विज्ञान' शब्दको उत्पति 

मानिसकै कारण 'मानव अस्तित्व'लाई खतरा

अन्तरिक्ष पर्यटनः अन्य ग्रहमा मानव बस्तीको अभ्यास

'टाईम ट्राभल'बाट भेटिन सक्छ अर्को ब्रह्माण्ड

प्रकाशित मिति: : 2021-06-04 10:33:00

प्रतिकृया दिनुहोस्