सडकैभरि ‘चेकिङ’, बिनाकाम बाहिर निस्कनेलाई रोक्न प्रहरी सक्रिय (भिडियोसहित)

शनि शाक्य

काठमाडौँ

प्रहरीले काठमाडौं उपत्यकाभित्रको ‘चेकिङ’ लाई कडाइ गरेको छ।

उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको सयुक्त बैठकले शुक्रबारदेखि उपत्यकामा कडाइ गर्ने निणर्य गरेपछि सडकमा जाँच बढाइएको हो।

निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा निस्कनेलाई प्रहरीले शुक्रबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा कडाई गरिएको छ।

सडकमै ‘होल्डिङ सेण्टर’ बनाएर त्यहाँमा केही समय राखी सम्झाइ–बझाई पठाउने गरेको प्रहरीले जनाएको छ।

आपत्तमा परेका नागरिकलाई भने प्रहरीले आफैँ समन्वय गरी पुग्नुपर्ने ठाउँसम्म पठाउने गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिए। डिसीसीएमसीको निर्णयलाई पालना गराउन बिहानैदेखि काठमाडौंमा ‘चेकिङ’ बढाइएको पनि उनले बताए।
एसएसपी सिंहले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘बढ्दो कोरोना संक्रमणलाई फैलन नदिन हामीले यस्तो कदम चालेका हौं, यसलाई सबैले बुझ्न जरुरी छ । अत्यावश्यक परेकालाई हामी आफैँले समन्वयगरी जानुपर्ने स्थानमा पुर्याएका हुन्छौं।’

बढ्दो कोरोना सङ्क्रमणलाई ध्यान दिन भन्दै बिनाकाम बाहिर ननिस्कन समेत एसएसपीसिहले आम नागरिकलाई आग्रह गरे।उनले भने, ‘खाद्यान्न चाहियो भने प्रहरीलाई भन्नुस्, हामी तपाईहरुको टोलमै पुर्याउने व्यवस्था गर्ने छौँ तर विभिन्न बहाना बनाएर बाहिर नआउनुस्।’ 

पासबिनाका सवारी होल्ड

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिनापास चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताए।
उनका अनुसार, शुक्रबार बिहानदेखि मध्यान्नसम्म बिनापास चलाइएका एक१ हजार ५५ सवारी साधन निन्यन्त्रणमा लिइसकिएको छ।

त्यसरी नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ ७ बजेपछि सम्बन्धित धनीको जिम्मा लगाइने प्रवक्ता अधिकारीले जानकारी दिए। 

कोरोना संक्रमण फैलिने क्रम नरोकिएपछि उपत्यकामा जारी निषधाज्ञालाई थप कडा पारिएको हो। उपत्यकामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

प्रकाशित मिति: : 2021-05-28 15:30:00

प्रतिकृया दिनुहोस्