केन्द्रीय अस्पताल सञ्चालनको खाका कोर्दै डा. जागेश्वर, यसरी गर्दैछन् काम

नेपाल खबर

काठमाडाैं

बिहीबार दिउँसो प्रा.डा.जागेश्वर गौतम वीर अस्पतालमा कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल सञ्चालनको खाका कोर्न व्यस्त थिए।

सरकारले अघिल्लो साता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा गौतमलाई नियुक्त गरिएको छ। त्यसअघि उनी मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा थिए।

गौतम सोमबारदेखि वीर अस्पतालमा हाजिर भएका हुन्। उनले एकीकृत अस्पतालको काम भने बिहीबारबाट सुरु गरे।

‘अध्यादेशले बाटो खोलिदिएको छ। अध्यादेश आधारमात्रै हो। काम आफैँले गर्नुपर्ने हो,’ गौतमले भने, ‘हाम्रो लागि यो नयाँ अवधारणा हो। चुनौती धेरै छन्। जनशक्ति, स्रोतसाधनको व्यवस्थापन कसरी गर्ने अहिले म त्यसैैको होमवर्क गर्दैछु।’

कोभिड–१९ अस्पतालको लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण, शय्या लगायतका पूर्वाधारको आकलन गरी आवश्यक व्यवस्था गर्न कोभिड–१९ अस्पताललाई निर्देशन दिने र सोको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने कार्य समेत गौतमको काँधमा आएको छ।

प्रकाशित मिति: : 2021-05-27 21:07:00

प्रतिकृया दिनुहोस्