भनिन्छ, जीवन यात्रा हो। मानिसको जीवनलाई त्यही यात्रा मानेर हेर्ने हो भने घरदेखि घाटसम्मको दूरीको यात्रा हो। यसरी हेर्दा जीवन कति छोटो जस्तो, आजै हिंडेर अर्थात् एकै दिन, एकैछिनमा पनि पुगिने जस्तो। जीवनको सरलरेखा छ। हामी पो कसरी हिंड्छौं ? सफलता–असफलता, जस–अपजस, सुख–दुःख, आँशु–हाँसो शायद यसैमा निर्भर होला।
तर, के जन्मदेखि मृत्युसम्मको यात्रा यति सरल र सहज छ ? के जीवनलाई मानिसले यति सजिलो हिसाबले बिताइरहेका छन् त ? त्यस्तो लाग्दैन। यसमा व्यक्ति स्वयंले जीवन जटिल बनाइरहेको छ। मानिसले मानिसको जीवनमा जटिलता सिर्जना गरिदिएका छन्।
पछिल्लो एक वर्षयता भने कोरोनाभाइरसले जीवनमा जटिलता थपिदिएको छ र वर्तमान र भविष्य अनिश्चित बनाएको छ। कोरोनापछि सर्वत्र संकट त आयो नै तर, कोरोनासँगै हर मानिसले आफ्नो जीवन र स्वास्थ्यलाई असीम प्यार र परीक्षण गर्ने अवसर पनि पाए।
म पनि लकडाउनबीच आफ्नो जीवन, भविष्य र स्वास्थ्यबारे सोच्दै थिएँ। साँझपख मेरो छ्यामाको फोन आयो। सानो बुवालाई कोरोना भएको पाँच दिन भइसकेको रहेछ। ‘घरमै बसेका बेला बेहोश भएर ढल्नुभो। गाउँपालिकाको एम्बुलेन्स बोलाएका छौं। यहाँ कोरोना भएको भनेपछि छिमेकीहरू आउन, छुन, सहयोग गर्न पनि डराए। अहिले घरबाट तल मोटरबाटोमा तेरो दाइले एक्लै बल्लतल्ल झारेको छ, मोटो मान्छे भएकाले साह्रै गाह्रो भो तलसम्म बोकेरै पुर्याउन। धौलागिरि अस्पतालमा पुग्नु है बाबु।’ यो सुनेपछि म रन्थनिएँ।
मलाई लाग्यो अब उपचार कठिन हुनेछ। यसै साता केही प्रश्न र यस्ता फोन मलाई आएका थिए जसबाट म निकै झस्किएको थिएँ। धौलागिरि अस्पतालमा सांसद, जनप्रतिनिधि आएका रहेछन्। एक जना सर्वसाधारणले जिज्ञासा राख्दै मलाई सोधे– अस्पतालमा आज को मरेको रहेछ र ? नेताहरू सबै यतै गइरहेका छन् ? मैले अप्ठ्यारो मान्दै भनें, अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रम छ।