ओली दलितका लागि जंगबहादुर

नयाँ पत्रिका दैनिक

राजेश विद्रोही

यतिवेला राजनीतिक घटनाक्रमले मुलुकको परिस्थिति अन्योलग्रस्त छ। यद्यपि, यो आजको रोग होइन, पुरानै रोगको निरन्तरता हो। जसको हातमा सत्ता पुग्छ, उसले कुर्सीका लागि कुनै न कुनै वितण्डा देखाइहाल्नुपर्ने नेपाली राजनीतिको संस्कार नै बसेको छ। यसखाले राजनीतिक खेलमा कोही कम होला, कोही बढी होलान्। त्यसैले मुलुकमा असल राजनेताको खोजी हुँदै आएको छ। 

यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमले अहिलेसम्मकै खतरनाक चरित्रको उजागर गर्छ। उनी कतिखेर के गर्छन्, ठेगान छैन। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डले सार्वजनिक रूपमै पटक–पटक मुलुकमा नयाँ जंगबहादुरको खाँचो छ भनेका थिए। तर, उनै प्रचण्ड आज प्रधानमन्त्री ओलीलाई इमानबेगर जंगबहादुरको संस्करणमा पाउँदा राजनीतिक पीडा महसुस गरिरहेका छन्। उतिवेला प्रचण्डले कुन सन्दर्भमा भनेका थिए, यो उनैलाई थाहा होला। तर, यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताउन्मादी गतिविधि र दलित तथा उत्पीडित समुदायमाथि राज्य–व्यवहार हेर्दा लाग्छ कि वर्तमान प्रधानमन्त्री यतिवेला दलित तथा सीमान्त समुदायका निम्ति नयाँ जंगबहादुरकै रूप हुन्।

सन् १९१० मा जंगबहादुरले जसरी सामाजिक परिवर्तनलाई शिरोधारण नगरी समाजिक विकृति र विसंगतिलाई मुलुकी ऐनको रूपमा वैधानिकता दिए, जसरी कथित जातीय छुवाछुतलगायतका सामाजिक विभेदलाई नै कानुनी मान्यता दिए, जसरी दलितलगायतका उत्पीडित समुदायमाथि वैधानिक रूपमै छुवाछुतलगायतका समाजिक विभेदलाई थप कडाइका साथ कायम गरे, जसरी दलित समुदायलाई सयौँ वर्षपछाडि मध्यकालीन युगमा धकेल्ने दुस्साहस गरे, त्यसरी नै यतिवेला मुलुकका प्रधानमन्त्री दलित समुदायलाई फुटेको आँखाले पनि हेर्न सकिरहेका छैनन्।

प्रकाशित मिति: : 2021-05-27 09:25:00

प्रतिकृया दिनुहोस्