विज्ञ भन्छन्- आउन सक्छ कोरोनाको तेस्रो लहर, अहिलेदेखि नै सचेत बनौँ

सोनी शाही

कोराना भाइरसका नयाँ भेरियन्ट र म्युटेसनका कारण बढेको संक्रमणलाई महामारीको दोस्रो लहरका रूपमा अथ्र्याइएको छ, नेपालमा। कतिपय मुलुकमा दोस्रो लहरको विनाशलिला सकिएर तेस्रो लहर सुरु हुने चेतावनी जनस्वास्थ्य विज्ञ र वैज्ञानिकहरूले दिइरहेका छन्। के नेपालमा पनि अहिलेभन्दा जटिल प्रकृतिको संक्रमणको लहर आउने सम्भावना छ त? विज्ञहरू महामारीको यस पाटोलाई पूर्णतः नकार्दैनन्। नयाँ-नयाँ भेरियन्ट र म्युटेसन देखिइरहँदा अझ जटिल प्रकृतिको संक्रमण फैलिन सक्ने भएकाले अहिलेदेखि नै पर्याप्त सजगता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

छिमेकी मुलुक भारतमा कोरोनाको डबल म्युटेन्टका कारण महामारीको लहर घातक देखिएको छ। भारतमा गत मार्चमा पहिलोपटक ‘डबल म्युटेन्ट भेरियन्ट’ फेला परेको थियो। संक्रमितको संख्या उच्च रहेका राज्यहरूबाट संकलित नमूना परीक्षणमा ‘बी.१.६१७’ नाम दिइएको उक्त भेरियन्ट देखापरेको थियो। सोही डबल म्युटेन्टका कारण कोभिड-१९ महामारीको दोस्रो र घातक लहर सुरु भएको भारतको नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका अधिकारीहरूको भनाइ छ।

उक्त भेरियन्ट तीव्र गतिमा फैलिएयता भारतमा अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्युदर देखिएको छ। र, अब महामारीको अझ जटिल अवस्था अर्थात् तेस्रो लहर सुरु हुन सक्ने चेतावनी स्वास्थ्य अधिकारीहरूले दिएका छन्। भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनको भनाइ मान्ने हो भने भाइरस देशभर ठूलो मात्रामा प्रसारित भएकाले तेस्रो चरण अवश्यम्भावी छ। उनले तेस्रो लहरका लागि तयारी थाल्न सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-05-26 10:40:00

प्रतिकृया दिनुहोस्