राजनीतिक मौनताभित्र चिच्याएको रुकुम हत्या

Breaknlinks
Breaknlinks

''मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अन्जुलीहरूमा आली लगाएर थाप्दछौ।
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्दछौ

आँखा जुधाउने आँट गर पुजारी
म बीसौं सताब्दीको अछूत हुँ !
म न्याय चाहन्छु म मुक्ति चाहन्छु।''

-आहुति/गहुँगोरो अफ्रिका

कवि आहुतिको उपर्युक्त प्रगतिशील 'गहुँगोरो अफ्रिका' शीर्षकको कविताले भनेजस्तै वर्तमान नेपाली समाजको विकसित स्वरुपलाई बाधा पुर्याउन ब्राह्मणवादी र नश्लीय मानसिक चिन्तनद्वारा संचालित जात वयवस्था प्रमुख तत्वको रूपमा आएको छ। र त्यहीँ क्रूर,अमानवीय छुटकारा पाउनका निम्ति नेपालका सम्पूर्ण पीडित जाती/ वर्गहरू भनिरहेछन्-"म न्याय चाहन्छु मुक्ति चाहन्छु।"

काेभिड–१९ को महामारीका कारण गत वर्षको जेठ महिना पनि अहिलेको जस्तै मानसिक चिन्ताले आक्रान्त भएको थियो। त्यहीँ आक्रान्तपूर्ण समय अर्थात् आजभन्दा ठिक एक वर्षपहिले जेठ १० गते २०७७ साल नेपालको संसदद्वारा 'जातीय भेदभाव तथा न्याय' ऐन पारित भएको जो दिन हो। पश्चिम् रुकुमको चौरजहारी–८, सोतीमा भएको बर्बर, अनि अमानवीय दलित नरसंहार (घटनामा गैरदलितहरूको पनि मृत्यु भएको तर प्रमुख कारण नवराज विक दलित भएकै कारण हत्या भएकाको हुँदा दलित नरसंहार भनिएको हो) को घटना एकाएक बाहिर आयो। घटना कथित उच्च जाति र दलितबीचको प्रेमका कारण घटाइएको भए पनि त्यसको प्रमुख कारण माथी उल्लेखित हिन्दू वर्ण व्यवस्था थियो। जात–व्यवस्था, जसले गएको लगभग ३५ (ऋग्वेद र अन्य लिखित सन्दर्भ सामाग्रीका अनुसार)सय वर्षदेखि दक्षिण एशियामा दलितमाथि बर्बरतापूर्ण क्रूर शासन गरिरहेको छ।

कथित तल्लो जात भएका कारणबाट सदियौँदेखि सामाजिक बहिष्करण र मानसिक आघातमा त पहाड, मधेसलगायत अन्य समुदायभित्रका सम्पूर्ण दलितहरूमा छँदै नै थियो। दलित भएकै कारण र कथित उच्च जातीय दम्भ र अहंकारका कारण जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लागू भएपछि पनि मारिनेहरूको शृंखलाभने धेरै लामो हुन आउँछ।



राज्य संरक्षित रुकुम हत्या



छोराले अन्तर्जातीय विवाह गरेकै कारण दैलेखका सेते दमाईं मारिए। सप्तरीका शिवशंकर दास मारिए। काभ्रेका अजित मिजारको हत्या भयो र उनको शव अहिले पनि शिक्षण अस्पताल माहारजगन्जमा न्यायको प्रतिक्षामा साढे चार बर्षको समय धानिरहेको छ।

त्यस्तै रुपन्देहीकी अंगिरा पासी, कास्कीकी श्रेया सुनार, कैलालीकी माया विक, धनुषाकी रेश्मा रसाइली र बझाङी सम्झना विश्वकर्मालगायत धेरै दलित महिलालाई बलात्कारपछि हत्या गरियो। चुलो छोएकै निहुँमा कालिकोटको मनवीरे सुनार मारिए। पानी छोइएको निहुँमा निर्वाचित जनप्रतिनिधि मना सार्की मारिइन्। दलितहरूको सामाजिक असुरक्षा र राज्यसंरचनामा निहित दलितद्वेषी चरित्रका कारण प्रहरी हिरासतमै रौतहटका विजय राम र धनुषाका शम्भु सदाले मृत्युवरण गर्नुपर्‍याे।

ऐतिहासिक रूपमा दलितमाथि भइरहेका यी पाशविक हत्या र हिंसाका घटनाहरू कुनै निश्चित व्यक्ति र राज्यसंस्थाको सनक वा दम्भका भरमा मात्र भएका होइनन्। स्मरण रहोस्, निरन्तरतामा चलिरहेका यी घटनाहरूका पछाडि हाम्रो जात–व्यवस्थाले निर्माण गरेको सामाजिक मनोविज्ञान र सोहिनुरूप विकास भएको हाम्रो सामाजिक संस्कृति नै हो।

उक्त बर्बरतापूर्ण नरसंहार नेपाली समाजमा घटेका नश्लीय र जातव्यावस्थाको उपजमा भएको यस्तो कुकृष्ठ दुर्घटना थियो कि जसले नेपाली समाजको वास्तविक मूल्याङ्कन गर्दछ। जसले गर्दा परिवर्तनको यात्रामा खुट्टा भाँचियो भन्नेहरूको बैशाखी भाँचेर पोल खोलिदिएको छ।

जसले आगामी ५० बर्षपछिको पुस्तालाई एउटा गम्भीर र संवेदनशील प्रश्नचिह्न खडा गर्नेवाला छ। जसको उत्तरमा मूकदर्शक बनेर हेर्नबाहेक केहीँ गर्न नसकेको तथा राजनीतिको आडमा सो नरसंहारले सहि किनारा पाउन नसकेको भन्ने उत्तर दिन हाम्रो पुस्तालाई मुर्छित पार्ने मोडमा पुर्याउने निश्चित छ। र यस्तै गतिमा दलित समुदायको बिकसिल स्वरुप अघि बढ्ने होभने त्यस समय पनि यस्तै दुर्घटनाले आक्रान्त नबनाउला भन्न सकिन्न।

यो हदसम्मको बर्बरता,क्रूरता र अमानवीय कार्यको सामना गरिसक्दा पनि नेपाली समाजको अनुहारमा कुनै क्रिया-प्रतिक्रियाहरू आएनन् केवल सहानुभूतिको झटारोबाहेक।



निधारमा लागेको कालो धब्बा पखाल्न कहिल्यै नदोहोरियाेस् रुकुम नरसंहार



राजधानीका र देशका अन्य सहरका सडकहरूमा बर्षभरी जिन्दावाद र मुर्दावादका नाराहरू घन्किरहे- केवल राजनीतिको अमीठ बिकुलका रुपमा मात्र।

बिभिन्न राजनीतिक मागका पर्चाहरू छातीमा टाँसेर सडकमा कर्कस आवाज निकाल्नेहरूको भिड बिशाल हुन्थ्यो तर नबराजको न्ययाका निम्ति दलित अभियान, संगठनबाहेक अरू व्यक्तिगत रूपमा भन्दाबाहेक एक्लो केवल एक्लो आवाज चिच्याइरह्यो नवराजको अपुष्ट न्याय !

संसदीय समितिसहित करिब १२ वटा सस्था,समूह र अभियानहरूले स्थलगत अध्ययन गरेर तर एकाधले मात्र 'जातीय नसंहार' भने पनि अरू सबैले अन्तर जातीय विवाहका कारण नियोजित भएको हत्याकाण्डसम्म भन्न भ्याए।

नेपाली समाजमा भएका कूसंस्कारको समूल अन्त्य गर्छु भनेर दशबर्षे जनआन्दोलनको विकुल फुक्ने माओवादी पार्टी(तत्कालीन समयको नेकपा)ले वक्तव्य निकालेर सडकमा उत्रिनु त कहाँ हो कहाँ त्यस घटनाप्रति कुनै शब्दहरू पनि खर्चिएन त्यसका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल 'प्रचण्ड' पनि चुईक्क बोलेनन्। बरु जनआन्दोलनका कमाण्डर 'जनार्दन शर्मा'ले "स्थानीयले लखेटेपछी भेरी नदीमा हामफालेर मरेका" भनेर गैरजिम्मेवारपूर्ण बोली संसदमा बोले। यता प्रहरीको लापरबाही गरेको र मूख्य दोषीलाई कारबाही नगरेको समाचार पनि प्रकासनमा आइरहेका थिए।

त्यसमाथि घटनामा संलग्न वडाअध्यक्ष र मेयर पनि नेकपाकै खास मान्छे भनेर समाचारहरू आउँने क्रम जारी रहे। त्यहीँ समय प्रधानमन्त्री केपी शर्मा ओली, महान्यायाधिवक्ता अग्नी खरेल र गृहमन्त्री रामबहादुर थापाले घटनालाई सान्यीकरणमा सिमित गरिदिए।

त्यस्तै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका पार्टीका जनवर्गीय संगठनलाई पनि हप्काएर फिर्ता गरियो। घटनालाई जतिसक्दो छिटो समाधानको पाटोमा लान निर्देशन दिनुको सट्टा ढाकछोप गर्न सम्पूर्ण नेताहरू लागे। यसको मूल्यांकन नेपाली १३.३ प्रतिशत दलितहरूले आगामी दिनमा गर्नेनै छन् 



सुरेन्द्र वि.क : मुगुमा अस्ताएको एक रातो तारा



त्यस्तै नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुनै शब्द खर्च गरेनन्। नेपाली कम्युनिष्ट आन्दोलन अपूर्ण भएको र सो आन्दोलन गरेर आएको परिवर्तनमात्र स्विकार्य छ भन्दै भूमिगत भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी(जो विप्लबको नेतृत्वमा रहेको छ)ले पनि कुनै वक्तव्य निकालेन।

धार्मिक अन्धविश्वास,सिद्धान्तविहिन कूसंस्कारले भरिपूर्ण भएका जिर्ण र रुग्ण (केहीँबाहेक) राजनीतिक दलहरू मौन रहे केवल मौन !

त्यस्तै २०७७ जेष्ठ १२ देखि असार १२ सम्म काठमाडौबाट प्रकाशित सात दैनिक पत्रीकाका सम्पादकीय र समाचार अध्ययन गरेका अध्येता लक्ष्मण दर्नालका अनुसार त्यस अवधिमा प्रकाशित १४३ समाचारहरूमा जम्मा ४८ प्रतिशत समाचारले मात्र रुकुम नरसंहारलाई 'हत्या'का रूपमा प्रस्तुत गरे। बाँकी ५२ प्रतिशत समाचारले 'सोतीका स्थानीयले लेखेट्दा बाँच्नका लागी भेरीमा हाम फालेर भएको मृत्यु भनेर समाचारहरू प्रकाशित र प्रशारण गरे। जबकी ति समाचार मध्ये ८२ प्रतिशत काठमाडौमै बसेर लेखिएका थिए।

नवराज विक र मल्ल थरकी युवतीबीच तीन वर्ष देखिको प्रेम सम्बन्धलाई समाजका अपराधीले मानव संवेदनशीलतासँगै भेरी नदिमा बगाइदिएका छन्। तर नवराजको मृत्युले नेपालमा भएका राजनीतिक परिवर्तनका खाकाहरू लाई प्रश्न गरिरहने एउटा गम्भिर र मथिङ्गल हल्लाउने चेष्टा गरिरहन्छ।

नबराज र उनका साथिहरू को मृत्यु राजनीतिको कानले नसुने पनि यो नेपाली समाजमा रहेका ब्रह्माणवादी चिन्तन भएका र नश्लवादीहरू को अन्तिम दाहसंस्कार गर्ने एउटा गम्भीर कर्कस आवजका रूपमा फैलिरहने छ।

प्रकाशित मिति: : 2021-05-24 21:02:00

प्रतिकृया दिनुहोस्