अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

राजधानी दैनिक

काठमाडाैं

फागुनको महिना थियो। स्कुल लागेको दुई महिना पूरा भएको थिएन। कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन्। राम्रो गाता हाल्नेले थपलियाको पसलमा गैंडा चुरोटको पेटी अर्डर गर्थे, एक सुक्का पथ्र्यो एउटालाई। ‘फस्ट कम फस्ट सर्भिस’ थियो।

कतिपयले गातै नहाली वर्ष कटाउथे। जे होस् एकखालको उमंग थियो गाउँमा। हिउँदका दिनमा खास काम हुन्थेन। गाउँमा बिहे ब्रतबन्ध हुन्थ्यो। झैंझैं बाजा बजाउँदै जन्ती आउने जाने गर्थे। समी भन्ज्याङमा बसेर कालो चश्मा लगाएर कार्पेसमा बसेको दुलहा हेर्दा खुब मज्जा आउँथ्यो।

गाउँमा हल्ला चल्यो। अप्सरा दिदीको बिहे हुने भो। नातेदारमै बिहे हुने भएपछि उत्साह अलि बढी नै हुन्थ्यो। सेलरोटी च्युरा, कसार खान पाइने। लिंगा चौकाका लागि पँधेरामा कहाँ राम्रो फूल फूलेको छ टिप्ने जिम्मा हाम्रै भागमा पथ्र्यो। छिमेकमै बिहे पर्दा दुई दिन स्कुल नगए पनि सरहरुले किन नआएको भन्दैन थे।

अप्सरा दिदीको बिहे हुने कुरा हुने बित्तिकै महिलाहरुले काम पाए पात टिप्ने दुना टपरी लगाउने, सिन्का चिर्ने बत्ती कात्ने आदि। धान कुट्नका लागि अमराईमा रहेको भट्टराईको मिलमा जानु पथ्र्यो। आँगनभरि मान्द्रो फिँजियो। भकारीका धान झिक्दै बिस्कुन सुकाउन थाले भाउजु बुहारीहरु। पुरुषहरुको काम भोजका लागि दाउराको जोहो गर्ने, भोजमा दाल, भात तरकारी पकाउन खड्करो जम्मा गर्ने काम। हाम्रो सदाबहार काम थियो। जगियाको लागि फूल बटुल्ने।

‘क्रान्तीकारी बिहे हुने रे।’ मन अलि खिसिक्क भयो। सेल, कसार, च्युरा खान नपाइने पो हो कि ? के हो क्रान्तिकारी विवाह राम्रोसँग थाहा थिएन।

‘विद्यार्थी राजनीतिक गरेका केटा अरे। नलाङबाट जन्ती आउने रे।’ हामीले त्यसभन्दा बढी बुझ्न चाहेनौ। सेल, कसार र च्युरा खान पाइएन भने हाम्रा लागि बिहे हुनु न नहुनु बराबर थियो। सोध्ने आँट पनि आएन।

प्रकाशित मिति: : 2021-05-24 13:10:00

प्रतिकृया दिनुहोस्