केपी ओलीसँग भगवान् विष्णु र महेश्वर पनि हार खान्छन् !

लोकान्तर

काठमाडाैं

सन् १९८० यता निरन्तर ३७ वर्षदेखि जिम्बाब्वेमा एकछत्र राज गर्दै आएका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट दिएको राजीनामा पत्र संसद् भवनभित्र सभामुखले वाचन गरेर सुनाएपश्चात सासंदहरू खुसीले बुरुकबुरुक नाँचेका थिए। सत्ताका भेट्रान खेलाडी मुगाबेको सन् २०१९ सेम्टेम्बर ६ मा निधन भयो।

तर त्यस्तो अवसर नेपालका सांसदहरूलाई नमिलेको लगभग ४ वर्ष हुनै आँट्यो। खुशी हुँदै नाचगान गर्नका लागि १४९ जना सासंदले यसपटक अन्तिम प्रयास त गरे, तर सकेनन्। रामचन्द्र पौडेलसँग हाँसीमजाक गर्दै आफ्नै ध्यानमा मस्त रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै समयको अन्तरालमा दाँतमा ढुंगा लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लाग्न नदिन पनि अनेक रणनीति गरेर संसद् विघटन गराएको टिप्पणी सुनिन्छ, किनकी राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गर्दा पनि उनको चित्त दुखेको छ।

शक्ति पृथकीकरणको सिद्धान्त अध्ययन गर्नका लागि विश्वमा नेपाल एक उदाहरण गन्तव्य बन्न सक्छ। ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए।

त्यसपछि संविधान मिच्ने कामको शिलशिला अनवरत गरेका छन् भनेर उनीमाथि आरोप छ। सर्वदलीय सहमतिविना नै उनले अख्तियार लगायतका कैयौं संवैधानिक निकायमा अध्यादेशमार्फत आफ्नै निकटका मानिसहरूलाई फटाफट नियुक्त गरेको आरोप लागेको छ।

माओवादीले नारामा मात्रै सत्ता कब्जा गरेका थिए। ओलीले व्यवहारतः सत्ता कब्जा गरेर देखाइदिए भन्ने टिप्पणी सुनिन थालेको छ। 

प्रकाशित मिति: : 2021-05-23 20:20:00

प्रतिकृया दिनुहोस्