शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी वार्ड ।
मेसिनको ट्याँट्याँटुटुट आवाजका बीच बेड नं ११ बाट भने करूणा भरिएको भावुक आवाज गुञ्जिन्छ ।
‘... तपाईंलाई अक्सिजन पनि पुगेको छ । सबै पुगेको छ । अनि किन आत्तिनुभा’को, भन्नु त ?,’ घोप्टो परेर सुतिरहेकी संक्रमित सासूलाई ढाडमा धाप मारेर सास फेर्न सहज बनाउँदै गरेकी बुहारी हेमा रञ्जित हौसला दिने प्रयास गर्छिन् ।
‘यसरी आत्तियो भने त झन् गाह्रो हुन्छ नि । लेभल पनि कति माथि छ । अक्सिजन लेभल पनि राम्रो छ । किन आत्तिने ?...अब यत्तिकै राम्रो हुँदै गयो भने अक्सिजन निकालिदिहाल्छन् नि,’ सासूलाई सम्झाउँदै गर्दा हेमाका आँखाभरि आँसु भरिएका छन् ।
अक्सिजन सिलिन्डरबाट २० लिटर प्रतिमिनेटको दरले दिइरहेको अक्सिजनलाई चटक्कै बिर्सिए जसरी हेमाले सासूलाई सान्त्वना दिने प्रयास गरिरहेकी छन् । तर, उनले आफैँलाई भने सान्त्वना दिन सकिरहेकी छैनन् । न त आफैँलाई सम्हाल्न सकेका छन् छेउमै बसिरहेका छोरा रमेशले । उनी पनि पिलपिल रून्छन् ।
विगत ८ दिनदेखि टेकु अस्पतालमा उपचाररत ६५ वर्षीया रमिला रञ्जितलाई भेन्टिलेटरको आवश्यकता भएको अस्पतालले पटक-पटक जनाउँदै आएको छ । अस्पतालमा भेन्टिलेटर नभएपछि अन्य अस्पतालमा भेन्टिलेटरको खोजी गर्न अस्पतालले भनेको पनि सात दिन बितिसकेको छ ।
‘सात दिनदेखि सकेजतिका अस्पतालमा सम्पर्क गर्दा कहीँकतै भेन्टिलेटर भेटिएको छैन । हामीले पाटन, वीर, सरकारी निजी कहाँ चाहिँ बुझेनौँ,’ हेमाले एकै सासमा भनिन् ।