'टिकटक'का लागि भिडियो बनाउँदा पाकिस्तानमा एक जनाको मृत्यु

भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ।

आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ बर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो। काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन्। 

“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने। 

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ। निधन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2021-05-21 06:13:00

प्रतिकृया दिनुहोस्