गोपाल योञ्जनः एक ‘सङ्गीत सन्न्यासी’

हिमाल खबर

काठमाडौं

व्यक्तिका रूपमा गोपालमा यदाकदा आत्माभिमान र आत्मश्लाघा देखिन्थ्यो। तर, म त्यस्तो चारित्रिक दोषलाई दार्जीलिङ वा अन्य ठाउँबाट आउने नेपाली ‘प्रवासी’ हरूप्रति काठमाडौँको वातावरणमा त्यसबेला र अहिले पनि विद्यमान रहेको सङ्कुचित दृष्टिकोणलाई प्रतिकार गर्ने एउटा रणनीतिका रूपमा लिन्थें।

सन् १९६८, काठमाडौंको खाँट्टी जाडो रात चिसो, अँध्यारो र सुनसान। हामी पाँच जना अविवाहित तन्नेरीहरू सँगै बस्थ्यौँ म, देवेन्द्र गुरुङ, लक्ष्मण तिवारी, फुर्बा छिरिङ र राजु राई क्षेत्रपाटीस्थित एउटा घरमा। दार्जीलिङबाट आएका अर्का सहयात्री रञ्जित गजमेर केही घर पर्तिर आफ्नो परिवारसँग बस्थ्यो।

बर्माको लडाइँमा बहादुरी देखाएका कारण द्वितीय विश्वयुद्धपछि भिक्टोरिया क्रसबाट विभूषित सिक्किमका गञ्जु लामाकी जेठी छोरी ‘बेबी रिन्छेन’ (रिन्छेनलाई उनका परिवारले मायाले ‘बेबी’ भनेर बोलाउँथे) पनि आफ्नो परिवारसँगै छिमेकमै बस्थिन्।

म, देवेन्द्र, फुर्बा र राजु क्यासिनो नेपालमा काम गर्थ्यौं र हामी थियौं रुले र ब्ल्याक ज्याक खेलाउने क्रुपियर। त्यस रात हाम्रो छुट्टी थियो। हामी रक्सी पिउँदै, गीत सुन्दै बसिरहेका थियौँ। नजाने कहाँबाट हाम्रो कोठामा गोपाल योञ्जन फुत्त झुल्कियो। सम्भवतः त्यस साँझ उसले रिन्छेनसँग भेटेर आएको हुनुपर्छ। दुईबीच प्रेमको पालुवा पलाएको सुइँको हामीले पाइसकेका थियौं।

तन्नेरी दार्जीलिङेहरूको सुखद पुनर्मिलनमा परिणत हुनपुग्यो त्यो साँझ। हामीले गोपाललाई रम पेश ग‍र्‍यौं । हामी उसलाई बडो प्रेमले ‘गोफ्ले’ भन्थ्यौँ, जसलाई उसले पनि प्रेमपूर्वक स्वीकार गरेको थियो। त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा मास्टर्स गर्न ऊ काठमाडौं आएको धेरै भएको थिएन।

प्रकाशित मिति: : 2021-05-20 10:04:00

प्रतिकृया दिनुहोस्