मेरालागि हो- घाम अस्ताउने दिशा पश्चिम
तर उनीहरू- जो घाम पर्खेर बसिरहेका छन्
म उनीहरूका लागि-
पुर्वी दिशामा चढेको घामको लालीको कविता लेखिदिन सक्छु
जूनले ऐना हेरेको दिन
जूनलाई आफू नराम्रो लाग्न सक्छ
र भन्न सक्छ- अब प्लास्टिक सर्जरी गर्नुपर्छ
उसले यो निर्णय लिनुभन्दा अगावै
म उसको सुन्दरताको वर्णन गरेर कविता लेखिदिन सक्छु
म आफूभित्र भएको बिश्वास
कवितामा यसरी लेखिदिन सक्छु कि,
कविता पढिसकेपछि-
तिमीलाई आफूमाथि बिश्वास जाग्न थाल्नेछ
र मेरो जिन्दगीको कथा तिमीलाई आफ्नो लाग्न थाल्नेछ
हुन त मैले लेखेको कविताले-
मेरी आमाको फुटेको कुर्कुच्चा टालिएको छैन
फाटेको पुरानो धोती फेरिएर नयाँ भएको छैन
मेरा बाबाको शिरले नयाँ टोपी फेरेको छैन
दुखेको काँधमा मल्हम बन्न सकेको छैन
तर पनि,
म मेरी आमाको फुटेको कुर्कुच्चाको सहारा लिएर
मेरा बाबाको दु:खका कथाहरू लिएर
संसारभरिका बाआमाका पीडाहरूलाई सम्बोधन गर्न सक्छु
म सरकारले थाहै नपाउने गरि
उसको अकर्मण्यताको फेहरिस्त जनताले बुझ्ने भाषामा
कविता लेखिदिन सक्छु
र संसारको जुनसुकै भाषामा छापिए पनि
त्यो कविताले-
सरकार र जनताबिचको गहिरो खाडल बुझाउन सक्छ
यो- मेरो कवितामाथीको बिश्वास हो
द्वितीय र तृतीय पुरुषको प्रयोग गरेर
म मेरै दु:ख, पीर र ब्यथाहरूलाई
तिम्रा र उनीहरूका बनाएर लेखिदिन सक्छु
यसको बदलामा म
तिम्रा र उनीहरूका खुशी- आफ्ना बनाइदिन सक्छु
घाम लागेको दिनलाई-
श्रमिकको पक्षमा उभिएर 'शासक!' भनिदिन सक्छु
पानी परेको दिनलाई -
श्रमिकका आँसु र पसिना भनिदिन सक्छु
बादल लागेर धुम्मिएको दिनलाई -
सरकारको अनुहारसँग तुलना गरिदिन सक्छु
छ्याङ्ग खुलेको दिनलाई-
प्रेयसीको मुहार भनिदिन सक्छु
यति भनिसकेपछि.....
एउटा कुरा चैं भनिहालुँ-
एउटा कविले लेख्न सक्ने भनेकै कविता त हो !