भारतमा कोरोनाबाट एकैदिन ५० चिकित्सकको मृत्यु

Photo : Reuters
Photo : Reuters

भारतमा कोरोनाको दोस्रो लहरले अवस्था भयावह छ।

सर्वसाधारणहरूको ज्यान जोगाउन खटिएका थ्रुपै स्वास्थ्यकर्मीहरूको उतिकै संख्यामा मृत्यु भइरहेको छ। देशका विभिन्न अस्पतालमा कार्यरत कम्तीमा ५० चिकित्सकहरूले सोमबार एकैदिन कोरोनाबाट ज्यान गुमाएको इन्डियन मेडिकल एसोसिएशनले जनाएकाे छ। 

कोरोनाको दोस्रो लहरमा हालसम्म दुई सय ४४ चिकित्सकहरूको भाइरसकै कारण मृत्यु भएको एसोसिएशनको भनाइ छ।

दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालमा कार्यरत २६ वर्षीय डा. अनस मुजाहिदको सोमबार मृत्यु भएको छ। डा. अनस कोभिड विशेष अस्पतालमा रेजिडेन्ट चिकित्सकका रुपमा काम गरिरहेका थिए। कोरोना भाइरस संक्रमणको लक्षण देखिएको केही समयमै उनको मृत्यु भएको हो। कोरोनाको दोस्रो लहरमा ज्यान गुमाएका चिकित्सकमध्ये उनी सबैभन्दा कम उमेरका चिकित्सक हुन्। 

अघिल्लो वर्ष पहिलो लहरमा सात सय ३६ चिकित्सकहरूको कोरोनाबाट मृत्यु भएको थियो। योसँगै देशभर अहिलेसम्म ९ सय ८० चिकित्सकले महामारीमा खट्दा–खट्दै ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2021-05-18 14:26:00

प्रतिकृया दिनुहोस्