भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग गर्न अनुमति 

Photo : Indianexpress
Photo : Indianexpress

कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ।

औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन रूपमा अनुमति दिएको हो।

कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ। सरकारले जारी गरेको विज्ञप्तिमा औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख छ। तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको औँल्याएका छन्।

टू–डीअक्सी–डी–ग्लुकोज वा टू–डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो।

भारतमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिए अनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो।

“क्लिनिकल परीक्षणका नतिजाहरूले यो मलिक्यूलले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,” विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: : 2021-05-18 07:18:00

प्रतिकृया दिनुहोस्