कोभिडविरुद्धको भ्याक्सिन खरिद गर्न युएईस्थित नेपाली दूतावासको पहल

कोभिड-१९ विरुद्धको लडाइँमा नेपाल सरकारलाई सहायता गर्न युएईको अबुधाबीस्थित नेपाली राजदुतावास सक्रिय भएको छ।

दूतावासले सोमबार साँझ युएईमा क्रियाशिल नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुसँग एक भर्चुअल बैठक आयोजना गरि कोभिड-१९ विरुद्धको लडाइँमा नेपाल सरकारलाई सहायता गर्ने विषयमा छलफल गरेको छ।

छलफलमा युएईमा रहेका नेपाली राजनीतिक दलका प्रवाश संगठन, एनआरएनए, नेपाल एसोसिएसन, नेपाली समाज, नेपाल पत्रकार महासंघसहित विभिन्न जिल्लागत संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण उच्च भएपछि अक्सिजन तथा अन्य स्वास्थ सामाग्रीहरु र भ्याक्सिनको चरम अभाव देखिएकोले नेपाली राजदुतावासको संरक्षकत्वमा संघ-संस्थाहरुको संयुक्त समिति बनाएर भ्याक्सिन खरिद गर्ने निर्णय गरिएको छलफलमा सहभागी नेपाल एसोसिएसन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए। उक्त समितिले स्थानीय निकायसँग अनुमती लिएर युएईमा रहेका नेपाली समुदायसँग आर्थिक संकलनका लागि आव्हान गर्ने श्रेष्ठले जानकारी दिए।

छलफलमा हवाई उडान स्थगन भएपछि नेपाल जान नपाएका नेपालीहरुलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा समेत छलफल भएको प्रवाशी नेपाली मंच युएईका अध्यक्ष महेश गिरिले जानकारी दिए। उनले तत्काल नेपाल फर्कनुपर्ने स्थितीमा रहेका नेपालीहरुलाई चार्टर्ड उडान गरेर भएपनी नेपाल पठाउनु पर्ने विषय उठेको जानकारी दिए।

यता युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले भने चार्टर्ड उडान महँगो पर्ने हुनाले नियमित उडान खोल्ने प्रयास भईरहेको बताए। उनले भने, "चार्टर्ड उडानमा यात्रुलाई आर्थिक भार बढ्ने हुनाले सातामा दुई वटासम्म नियमित उडान संचालन गर्न पहल भईरहेको छ।"

राजदुत ढकालले कोभिड-१९ विरुद्धको लडाइँमा युएईमा रहेका सबै नेपालीहरुलाई एक भएर राज्यलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: : 2021-05-18 06:37:00

प्रतिकृया दिनुहोस्