अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय

संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा आगामी मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गरेका छन्।

फोनवार्तामा दुबै कुटनीतिज्ञले आफूहरु उक्त बैठकमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्न राजी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकी नागरिकको सुरक्षा एवं अमेरिकी चासोका विषयलाई प्रतिरक्षा गर्न राष्ट्रपति बाइडेनको प्रतिबद्धताका बारेमा रसियाका विदेशमन्त्री समक्ष कुरा राखेको उल्लेख छ। 

विदेशमन्त्री ब्लिन्केनले हाल रसियाको हिरासतमा राखिएका आफ्ना दुई पूर्व सैनिकहरु पल ह्वीलान र ट्रेभोर रीडलाई तत्काल मुक्त गर्न रसिया समक्ष अनुरोध गरेका थिए। उनले उत्तर कोरिया मामिला सम्बन्धी अमेरिकी नीतिका बारेमा पनि रसियाका विदेशमन्त्री लाभरोभलाई जानकारी गराएका थिए।

आइसल्यान्डमा हुने ब्लिन्केन र लाभरोभबीचको प्रत्यक्ष भेटवार्ता राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हालेयता पहिलो पटक हुन लागेको हो।

राष्ट्रपति बाइडेनले गत साता जुनमा आफूले युरोप भ्रमण गर्दा रसियाका राष्ट्रपति भ्लालिमिर पुटिनसँग पनि भेटघाट गर्ने बताएका थिए।

राष्ट्रपति बाइडेन बेलायतमा सम्पन्न हुने सात प्रमुख औद्योगिक राष्ट्रहरु (जी–७) को शिखर सम्मेलन र बेल्जियमको ब्रसेल्समा हुने नेटो शिखर बैठकमा सहभागी हुने कार्यक्रम छ। 

रसियाका विदेशमन्त्री लाभरोभले मङ्गलबार अजरबैजान भ्रमणका क्रममा अमेरिकाले जुनमा रसियाको उच्च नेतृत्वसँग गर्न लागेको भेटवार्तालाई आफूहरुले निकै स्वागतयोग्य कदमका रुपमा लिएको बताएका थिए।अमेरिका र रसियाबीचको सम्बन्ध केही वर्षदेखि निकै तिक्ततापूर्ण रहिआएको छ। दुबै मुलुकबीच युक्रेन, मानव अधिकार, साइबर सुरक्षा र एकअर्का मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई लिएर मतभेद हुँदै आएको छ। रासस 
 

प्रकाशित मिति: : 2021-05-13 17:55:00

प्रतिकृया दिनुहोस्