ओलीको विषाणुतन्त्र

आयोमेल

काठमाडौँ

सुन्दर खनाल

हाम्रो परिवेश बसिनसक्नुको उकुसमुकुस, बेचैनी र घोर निराशाले घेरिएको छ। साथीभाइ, आफन्त र आमबन्धुजनको स्वास्थ्य र जीवन-लीला-अन्त्यका खबरहरूले हामी क्षण-क्षण मर्माहत छौं। एउटा चिरिँदो, विषादपूर्ण चित्र हामी हरेकका मनमा हुत्ता खेल्दैछ अहिले। मानिस हो, जति पनि आत्मकेन्द्रित हुने गुण हामीमा स्वाभाविक होला। तर, हाम्रो मानवीय संरचनाका पत्रहरू यसरी धुलिंदैछन्, हाम्रा नोक्सानीहरू यति गहिरिँदै छन् कि अब हामीले गर्न केही नसक्ने दिन आइसक्यो। र, यो संकट हत्तपत्त टर्नेवाला पनि छैन।

सुन्दर खनाल

प्रसंग चाहिँ कोभिड-१९ दोस्रो लहरको हो भनौं। तर, यथार्थ त्योभन्दा पेचिलो छ। हामीले चालू जीवनकालमै सुने-बुझेका महान वैज्ञानिक स्टेभन हकिन्सले भनेका ज्ञान-उद्गार यहाँ स्मरण गर्नुपर्ने हुन्छ। उनले मानवीय विनाश वा पृथ्वी प्रलयका सम्भावित माध्यमका रूपमा औंल्याएका केही कारणमध्ये पर्छ : आनुवंशिकीय परिष्कृत विषाणु (जेनेटिकल्ली मोडिफाइड-जिएम-भाइरस)। अहिलेसम्मका अध्ययनले कोभिड-१९ जिएम भाइरस होइन भन्ने देखाएका छन्। त्यसैले त कोरानो संक्रमण भएर पनि बाँच्ने र यसलाई मानव जातिले कुनै न कुनै बेला नियन्त्रणमा लिनसक्ने आस रहेको हो।

तर, नेपालका हकमा कोरोना भाइरसले जिएम भाइरसबराबरकै प्रभाव पार्ने छाँट देखिँदैछ। यसको कारण हामी नै हौं, हाम्रै राजनीतिक-सांस्कृतिक प्रवृति-संरचना हुन्।

संसारले जित्दै गएको यो भाइरस अहिले नेपाल, भारतजस्ता अराजक शासन व्यवस्था भएका मुलुकमा अतिशय विनाशलीला मच्चाउँदैछ। हामी जे कुरा पनि सजिलै भारतलाई मानक बनाएर पचाउने मनोवैज्ञानिक अभिमुखिकरणबाट हुर्केका-हुकाईएका हौं। अहिले भारतले मानेरै, माया गर्दिएरै सत्तामा टिकेका प्रधानमन्त्री केपी ओली वस्तुतः कोरोना भाइरसका मामलामा पनि भारतीय मानक नै कायम गर्ने सोचमा पुगेका हुन् भन्नेमा दुविधा रहेन। अहिले काठमाडौंलगायत सहरमा लगभग दिल्लीकै जस्तो अक्सिजन, आइसियु र औषधी हाहाकार छ, अस्पताल-डाक्टरहरूले ‘हेल्पलेस’ ‘कोल्याप्स’ भन्न थालिसके। ओली र उनको समूह, अर्धविद्रोही नेपाल-खनाल एवं अन्य सबै भाते विपक्षीहरूलाई जनता थलिएको, निस्सासिएर मर्न थालेको परिदृश्यसँग खासै वास्ता छैन। आज बेलुकीसम्म उनीहरू सत्ता लडाइँमै लठारिन्छन्। भोलिदेखि जनताको लास सडक-सडकमा पसारिँदा पनि उनीहरू चुइँक्क बोल्दैनन्। केही लाख मानिस मर्दा उनीहरूले लगाउने अर्थ यति मात्र हो- आउने चुनावमा मतदाता संख्या यति घटेछ।

प्रकाशित मिति: : 2021-05-13 15:53:00

प्रतिकृया दिनुहोस्