सरकारी मोटरसाइकलमा छाेरा–छोरी सरर... (भिडियाेसहित)

निषेधाज्ञामा बढ्यो सरकारी गाडीको दुरुपयोग

विजय साह

जनकपुर

सरकारी गाडीको दुरुपयोग बढेको छ। मंगलबार धनुषाको ढल्केवर–जनकपुर सडक खण्डमा पर्ने महेन्द्रनगरमा सुरक्षाकर्मीले सवारी जाँचको क्रममा सरकारी नम्बर प्लेटको मोटरसाइकल आफन्तहरुले प्रयोग गरेको भेटिएपछि यसको रहस्य बाहिरिएको हो। 

निषेधाज्ञालाई कडाइका साथ पालना गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान र ट्राफिक प्रहरीले गरेको संयुक्त सवारी जाँचको क्रममा सिरहा जिल्ला कारागारका प्रमुख बबिता महतोले प्रयोग गर्ने बा २ ब ८४३२ नम्बरको सरकारी मोटरसाइकल नातामा भाइ पर्नेले प्रयोग गरेको भेटिएको छ। उनलाई जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको अवस्थामा प्रहरी फेला पारेका थिए।

त्यस्तै ज १ ब ८०९ नम्बरको सरकारी मोटरसाइकलमा छाेरा–छोरी सवार भएको अवस्थामा प्रहरीले भेटाए। मोटरसाइकलमा सवार महिलाले यो गाडि आफ्नो पिताको भएको र काम परेर लिएर आएको बताए। पिता प्रदेश २ को भौतिक तथा पूर्वाधार मन्त्रालयमा कार्यरत रहेको सामान्य जानकारी दिएपनि नाम पद खुलाउन चाहेनन्। उनी आफ्नो पहिचान पनि खुलाउन मानेन्। 

सुरक्षाकर्मीले ति दुवै मोटरसाइकल नियन्त्रणमा लिएका छन्। नियन्त्रणमा लिएको सरकारी मोटरसाइकल उपर छानबिन गरी आवश्यक कारवाहीका लागि जिल्लामा जाहेरी चेकजाँचमा तैनाथ प्रहरीले बताए। 

निषेधाज्ञाको बेला सरकारी नम्बर प्लेटका गाडीलाई सुरक्षाकर्मीले हत्तपत जाँच नगर्ने हुँदा कर्मचारीका आफन्तहरुबाट सरकारी गाडीको दुरुपयोग यति बढेको छ। 

दोस्रो चरणको कोरोना भाइरसको भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि यसलाई रोकथाम तथा नियन्त्रणमा ल्याउन एकपछि अर्को गर्दै हाल देशमा आंशिक एवं पूर्ण गरेर ६२ भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ।

त्यैपनि कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्यामा कमी आउन सकेको छैन्। मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ।

थप मानिसलाई संक्रमित हुनबाट रोक्न निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाको अबज्ञा गर्नेहरु त बढेका छन नै सरकारी गाडीको दुरुपयोग पनि व्यापक बढेको पाइएको छ।

प्रकाशित मिति: : 2021-05-12 09:13:00

प्रतिकृया दिनुहोस्