आमा : सबैभन्दा पवित्र नाता, सबैभन्दा पवित्र सम्बोधन

हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द– आमा। अनि पल–पलमा सम्झना आउने, सुखदुखमा झझल्को आउने एउटा अनुहार नै हुन्– आमा।

आज उनै आमाप्रति समर्पण हुने दिन मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन हरेक वर्ष वैशाख कृष्ण औंशीको दिनमा पर्दछ। यस दिन मनुष्यले बिहानै उठी स्नान गरेर हरिहरको दर्शन गर्नुपर्दछ। आमा हुनेले घरमा मिठा खानेकुरा खुवाउने र राम्रा लुगा दिनुपर्छ। 

आमा नहुनेले ब्राम्हण र ब्राम्हणीलाई भोजन गराउनु उत्तम हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ। आमा भनेको के हो र उहाँलाई कसरी मान्नु पर्दछ ? हामी सबैले आमालाई 'मातृदेवो भव' अनि देवता जस्तो मान्ने होऊँ। 

सधैँ हामीले मनन् गरौँ– आमा भनेको सर्वमान्य व्यक्ति भएको हुँदा छोराछोरीले प्रेमपूर्वक श्रद्धाभक्तिअनुसार मिठा-मिठा परिकार बनाई खुवाउने गर्नुपर्दछ। यदि माताको मृत्यु भइसकेको छ भने छोराहरुले माताको सम्झनामा पिण्ड–पानी दिने गर्नुपर्दछ। यही नै आमाप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ। यसो गरेमा छोराको कल्याण हुनेछ। मातृदेवो भव। पितृदेवो भव।। आचार्यदेवो भव।।।

'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी',  'कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति', 'मातृदेवो भव:' भनेर सबैभन्दा पहिले भनिन्छ। त्यसपछि मात्र 'पितृदेवो भव:' भनिन्छ। अनि त्यसपछि 'आचार्य देवो भव:' भनिन्छ। यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ। 

'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी', आफु जन्मेको भूमि र आफ्नी आमा जस्तोसुकै भए पनि आफ्नो लागि स्वर्ग समान हुन्छन्। 'कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति' अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिले कुआमा हुँदिनन् भन्ने भनाइ छ। शास्त्रमा बाबुभन्दा आमा १० गुणा बढी मान्य हुन्छन् भनी व्याख्या पनि गरिएको पनि छ। 

सन्तान जहाँ जसरी बसे पनि आमाको माया र स्नेह अपार छ। आफ्ना सन्तानको उन्नति र प्रगतिको लागि म कहिल्यै बाधक बन्न चाहन्न भनेर गाउँवस्तीमै बसेर सुखदुख बिताइरहेकी हुन्छिन्। सधैँभरि आफ्ना छोराछोरीलाई आमाले दिने माया ममता जस्तो छ त्यसै गरी आमालाई माया ममता दिई एक्लोपनको महसुस हुन नदिऊँ। 

उजाड र निर्जन बस्तीमा बाबुआमालाई सधैँ राखेर एक दिन फोनमार्फत कुरा गर्ने वा भेट्न जाने मात्र गरेर आमाप्रतिको कर्तव्य पूरा हुँदैन भन्ने सबै सन्तानले हेक्का राख्नुपर्दछ। समय परिस्थिति अनुसार, आमाको चाहना र भावना बुझ्ने कोशिश गर्नु नै आमाप्रतिको सम्मान हुनेछ। 
एक दिनको भेटमार्फत् दिइने मिर्ठाई, फलफूल, वस्त्र र मीठो बोलाईमा मात्र मातृ दिवस सीमित नहोस्। आजको दिनमा आमाप्रतिको सच्चा माया र सम्झना भनेको आमाप्रति देखाइने कर्तव्यबोध हो। जबसम्म सन्तानले आफ्ना आमाबाबुप्रति कर्तव्यबोध र दायित्वबोध गर्न सक्दैन।
आज आमालाई भेटेर मिठाइ खुवाई, नयाँ वस्त्र पहिर्याई देखाएको क्षणिक र देखावटी मायाले आमाको दशधारा दूधको भारा तिर्न सकिँदैन। आमाले दिएको शिक्षा, माया ममताको शुल्क सहजै तिर्न सकिदैन जति आमाप्रति सम्मान र कर्तव्यबोधले सकिन्छ। 

जसरी आमाले दिएको हामीलाई माया ममता छ त्यसैगरी हामीले पनि माया ममता दिएर नै सदा खुशी राख्नुपर्दछ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो। यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, , गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन्। ममता कि खानी अनि वालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहने पूरा गरिदिने, कल्पवृक्ष सरी, यस पृथ्वीलोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ। 
अन्तत: सबै सन्तानहरुलाई आमा प्रतिको कर्तव्य पालना गरी आमालाई सधैं खुसी राख्न आग्रह गर्दै सबै आमाहरुलाई उहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 

(जुम्ला घर भएका लेखक बालगोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग तेस्रो वर्षमा अध्यनरत छन्।)
 

प्रकाशित मिति: : 2021-05-11 19:37:00

प्रतिकृया दिनुहोस्