मानवीय संवेदना गुमाएर गर्ने अपराध प्रवृत्तिविरुद्ध राज्यले गर्ने कारबाही हदैसम्मको हुनुपर्छ ।
कोरोनाको दोस्रो लहरको चपेटामा मुलुक परेको छ। हरेक दिन ५० भन्दा बढी नागरिकको मृत्यु र दैनिक आठ–नौ हजारभन्दा माथि सङ्क्रमित हुँदै गएका छन्। अस्पतालले बिरामी धान्न नसक्ने अवस्था सिर्जना भएको छ। आईसीयू मात्रै होइन, सामान्य शøयासमेत सबै भरिएका छन्।
अक्सिजनको अभावमा बिरामीहरू मृत्युवरण गरिरहेका छन्। सक्नेले खर्च गरेर प्रयोग गर्ने औषधि बजारबाट गायव भएका छन्। घर घरमा मानिस आईसोलेसनमा बसेका छन्। भनेका बेला एम्बुलेन्स नपाइने अवस्था छ। घाटमा लास जलाउन पालो कुर्नुपर्ने स्थिति छ। हरेक मानिसका अगाडि मृत्यु एउटा त्रास बनेर खडा भएको छ। कोरोनाको पहिलो भन्दा दोस्रो लहर थप भयङ्कर बनेर आयो। सरकार मुलुकभरजसो निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थामा पुगेको छ।
आज यो पीडा एउटा नागरिक, एउटा देशले मात्रै भोग्नु परेको होइन। सम्पूर्ण विश्व सन्त्रासमा बाँचेको छ। एक अर्कालाई निषेध गरेर सुरक्षित हुनुपर्ने अवस्था आएको छ। नेपालमा सबैभन्दा सुरुमा दोस्रो लहर देखा परेको र अहिले सबैभन्दा बढी प्रभावित भएको नेपालगञ्ज क्षेत्रका चिकित्सक र नर्सहरू आफू सङ्क्रमित भएर पनि बिरामीको सेवामा अहोरात्र खटेका छन्। आफू सुरक्षित रहने पहिलो प्राथमिकता हुने नै भयो। आफू सुरक्षित रहेर एकले अर्कालाई कसरी सहयोग गर्ने र बचाउने भन्नेमा नागरिक समुदाय लागिपरेको छ।
पीडितलाई सहयोग गर्न स्वतस्फूर्त रूपमा विभिन्न समूह देशभर नै क्रियाशील छन्। कसैले अक्सिजन सिलिन्डरको प्रबन्ध गरेका छन्, कसैले अक्सिजन उत्पादनकर्तालाई प्रेरित गरेका छन्। कसैले बिरामीलाई भोजनको व्यवस्था मिलाएका छन्। मानवीय संवेदना प्रवल हँुदै गएको छ। सरकारको मुख मात्र नताकी आम नागरिकका तहमा सेवाभावका साथ हरसम्भव उपाय गरिंदै आएका छन्।