कुनै पनि विशेष ठाउँमा प्रवेश गर्ने मुख्य नाका निकै महत्त्वपूर्ण हुन्छन्। पूर्वमा टिष्टा नदी र पश्चिममा काँगडाको सिमानालाई संस्मरण र सुदूर इतिहासलाई थाती राखेर हेर्ने हो भने नेपाल-भारत र नेपाल-चीन (तिब्बत)बीच थुप्रै नाका छन्। सुदूरपूर्वको च्योयभन्ज्याङ (पाँचथर/ताप्लेजुङ), पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), गलगलिया (झापा) र किमाथांका (संखुवासभा) नाका छन्।
त्यस्तै, जोगबनी (मोरङ), राजविराज (सप्तरी), जनकपुर (धनुषा), जलेश्वर (महोत्तरी), गौर (रौतहट), वीरगन्ज (पर्सा), ठोरी (पर्सा), सुनौली (भैरहवा) र कृष्णनगर (कपिलवस्तु) तराईका मुख्य नाका हुन्। यसैगरी, कोइलावास (दाङ), नेपालगन्ज (बाँके), कतर्नियाघाट (बर्दिया), गौरीफन्टा (कैलाली), बनवासा (कञ्चनपुर) र झुलाघाट (बैतडी) नेपाल-भारतबीचका पश्चिमी क्षेत्रका नाकामा पर्छन्।
चीनसँगको नाकामा सुदूरपश्चिमको महाकाली नदीसहितको सीमा नाका दार्चुलाको टिंकर र हुम्लाको छेउ मानसरोवर तिब्बत सिमाना पर्ने अर्को नाका हो। त्यसपछि उत्तरपट्टिकै साना–ठूला नाकामा डोल्पाको डोल्पो, मुगुको मुगु, मुस्ताङको लोमान्थाङ, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङ्चुङ्गोला पर्छन्।
यी त भारत र चीनसँगका अन्तर्राष्ट्रिय सीमानाका भए। देशभित्रै पनि एक जिल्ला वा एक शहरलाई अर्को जिल्ला वा शहरसँग जोड्ने नाका महत्त्वपूर्ण हुन्छन्। अझ राजधानीलाई जोड्ने नाका त विशेष हुने नै भए। यही पृष्ठभूमिसहित काठमाडौं छिर्ने प्रमुख नाकाको चर्चा गरौं।