सङ्कटपूर्ण अवस्थामा बढ्यो कालाबजारी, प्रहरी भन्छ– निगरानी बढाएका छौँ (भिडियो)

गतसात प्रहरीले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालका एक चिकित्सकले गैरकानूनी रुपमा आफ्नो कार्यकक्षमा लुकाएर राखेका ‘सर्जिक लपञ्जा’ ठूलो मात्रामा नियन्त्रण गर्यो।

चिकित्सकले ती पञ्जा अस्पतालको प्रयोजनको लागि नभएर बजारमा कृत्रिम अभाव सिर्जना गरी महङ्गोमा बेच्न राखेका थिए। 'काला बजारी' गरेको आरोपमा प्रहरीले सञ्चारकर्मीको सहयोगमा ती ‘सर्जिकल पञ्जा’ नियन्त्रम लिएको हो। प्रहरीले अनुसन्धान गर्दै जाँदा ती पञ्जा बजारमूल्यभन्दा बढीमा बेच्नेगरेको पाइयो। त्यसयता बजारमा स्वास्थ्य सामग्री तथा खाद्य सामग्रीमा कालाबजारी बढेको प्रहरीले जनाएको छ।

अहिलेजस्तो आपतकालीन समयमा केही ठाउँमा एम्बुलेन्सहरुले समेत महङ्गो भाडा उठाउने गरेको सूचना प्रहरीसमक्ष पुगेको छ। कान्तिपुर अस्पताल त एउटा प्रतिनिधि घटना मात्र हो, अरु निजी अस्पतालहरुको व्यवहार पनि उसको भन्दा खासै फरक छैन। केहीलाई कालोबजारीको अभियोगमा प्रहरीले कारवाही गर्दै आए पनि घटनामा कमी भने आएको पाइँदैन। सरकारले पनि कालोबजारी गर्नेलाई कारवाही गर्ने बताउँदै आएको छ।

प्रहरीले भक्तपुरमा अक्सिजन ग्याँस सिलिन्डर वितरण गर्दै।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले निषेधाज्ञापछि कालाबजारीका गुनासाहरु धेरै आउनेगरेका बताए। ‘निषेधाज्ञापछि काला बजारी बढेको छ। विशेष गरी सामग्रीको कृत्रिम अभाव खडा गरी काला बजारी गर्ने गरिएको पाइएको छ,’ एसएसपी सिंहले भने।

प्रहरीले यस्ता घटना नियन्त्रण गर्न शंकास्पद ठाउँमा छापा मार्ने पनि गरेको छ। एसएसपी सिंहले ठूलो मात्रामा सादा पोशाकमा प्रहरी खटाएर निगरानी बढाएको जानकारी दिए। उनले कालाबजारीको शिकार भए पनि नागरिक आफैँले जानकारी नगराउँदा कारवाहीमा समस्या भएको पनि दुखेसो पोखे।

एसएसपी सिंहले विपतको समय भएकाले मानवीय हिसाबले पनि कालाबजारी नगर्न सबैमा अनुरोध गरे। उनले अनुरोध गरे, 'कोही नागरिकले आफू ठगिएको शङ्का लागेमा खबर गर्नुस्, प्रहरी तपाईंको साथमा छ।'

प्रकाशित मिति: : 2021-05-09 19:04:00

प्रतिकृया दिनुहोस्