लेख्नेलाई हातमा धानका बालाको माला !
पढ्नेलाई घाँटीमा खोलाको माला !
यो कथा शिकारीको गोलीभन्दा पहिले ढुकुरहरूको कानमा जाला !
पढिसक्दा कथामा देखाइएको दुःख हराइजाला !
आफूलाई बुझिदिने मान्छेलाई दुःख सुनाएपछि दुःख नै हराइजान्छ नि ! त्यस्तै।
एकादेशको कुरा हो। हैन,यो एकादेशको कुरा हैन। त्यहाँ देशजस्तो केही थिएन। जो देशलाई बचाउन बाँचिरहेथे तिनीहरूलाई देशले नै मारिरहेथ्यो। त्यस्तोमा यो देशको भन्दै के को गर्व गर्नु ?
यो एकादेशको कुरा हैन। यो जम्माजम्मी कुरा हो। र, कुरा के हो भने त्यतिखेर त्यहाँ कमिलाको चुनाव आएको थियो। चलन के थियो भने चुनावको बेलाचाहिँ सबै कमिलाहरू खोलामा बग्नुपर्थ्यो। जो खोलाबाट बाहिर निक्लिन्थ्यो, त्यसले चुनाव जित्थ्यो। र, जो डुब्थ्यो, त्यो डुब्थ्यो।
तर, खोलाबाट कमिलाहरू आफैं पौडेर बाहिर निस्कन सक्दैनथे। कस्तो अचम्मको चलन थियो ! जसलाई पौडी नै आउँदैनथ्यो उनीहरूको परीक्षाचाहिँ डुबाउने पानीमा हुन्थ्यो।