कोभिड-१९ विरूद्धको खोपमा बौद्धिक सम्पत्तीको अवरोध हटाउन अमेरिका तयार

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : BBC
Photo : BBC

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको छ।

कोभिड–१९ को महामारीलाई नियन्त्रणमा ल्याउनका लागि पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको बताएको हो।

विश्व व्यापार संगठन (डब्लुटीओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पतीसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो। त्यसमा आफ्नो समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको र खास गरी यूरोपेली संघ अन्तर्गतका मुलुकहरूमध्ये औपचारिक रूपमा समर्थन गर्नेमा फ्रान्स पहिलो बनेको छ।

यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ। करिब एक महिना पहिले विश्व व्यापार संगठनको बैठकमा पनि उक्त कुरा उठाइएको तर त्यतिबेला यसलाई धनी राष्ट्रहरूले कम महत्व दिएको बताइएको छ।

बैठकमा स्वीट्जरल्याण्ड, नर्वेलगायतका नेताले अनौपचारिक रूपमा चलाएका छलफलमा खोपको व्यापक उत्पादन कोभिड–१९ नियन्त्रणको व्यवहारिक उपाय हुने र यसका लागि खोप उत्पादनलाई सहजिकरणमा बल गर्नुपर्ने बताएका थिए। औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शङ्का रहेको बताएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन्। तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न विश्व व्यापार सङ्गठन सदस्यहरूलाई समय लाग्नसक्ने उनले बिहीबार बताइन्।

भारत र दक्षिण अफ्रिकाले गएको छ महिनादेखि खोप उत्पादनको अधिकार ‘पेटेन्ट राइट’ लाई सहज पार्दै सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका छन्।

उनीहरूले विश्व व्यापार संगठनभित्र झण्डै ६० देशको नेतृत्व गरिरहेका छन्। डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो  बेलायत र युरोपेली संघ पनि विरोधमा थिए।

प्रकाशित मिति: : 2021-05-07 06:33:00

प्रतिकृया दिनुहोस्